लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।
आगामी आवका लागि प्रदेश सभामा सरकारका तर्फबाट अर्थमन्त्री मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजारबराबरको बजेट प्रस्तुत गरेका थिए। । सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो । यही कारण चारपटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीबीच मंगलबार भएको वार्तापछि प्रदेश सभाको बुधबारको बैठक सञ्चालन भएको थियो ।
सरकारले यही असार १ गते ल्याएको बजेट चालूतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार रहेको छ । त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ५८ करोड ९७ लाख छ । चालूतर्फ ३३.६८ प्रतिशत, पुँजीगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत रहेको छ ।
आगामी आवमा आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व दुई अर्ब ५० करोड ३० लाख हुने अनुमान गरिएको छ ।
त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब १४ करोड ८३ लाख, ससर्त अनुदानबाट पाँच अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालू आवको नगद मौज्दातबाट तीन अर्ब र आन्तरिक ऋणबाट एक अर्ब २५ करोड रुपैयाँ परिचालन हुने अनुमान छ । चालू आव ०७९/८० मा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो ।