नातावाद, भ्रष्टाचार र गलत माध्यमबाट चन्दा–संकलनजस्ता आरोपबाट आफूलाई टाढा राख्न चाहने राष्ट्रपति बाइडेनका लागि उनकै छोरा हन्टर बाइडेन समस्या बन्ने गरेका छन् । जो बाइडेनका ५३ वर्षीय माइला छोरा हन्टरको नाम बारम्बार विवादमा जोडिँदै आएको छ । अहिले फेरि उनी पिताको नाम र पदलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको विषयमा अनुसन्धानमा तानिएका छन् ।
हन्टर बाइडेन जोडिएको पछिल्लो प्रकरण राष्ट्रपतिको परिवारमाथि अनुसन्धान गरिरहेको एक संसदीय समितिले २२ जुनमा ह्वाट्सएप सन्देश सार्वजनिक गरेसँगै सतहमा आएको हो । हन्टर बाइडेनले एक चिनियाँ व्यापारीलाई पठाएको उक्त सन्देश जुलाई २०१७ को भएको समितिले बताएको छ । त्यस वेला जो बाइडेन पूर्वउपराष्ट्रपतिका रूपमा सामान्य नागरिकको जीवन बिताइरहेका थिए । तर, पनि म्यासेजमा हन्टरले उनका पिताको माथिसम्मको सम्पर्कलाई जोड दिँदै चिनियाँ व्यापारीलाई धम्की दिइरहेको देखिन्छ ।
‘म यहाँ मेरो बुबासँग बसिरहेको छु र हामी यो जान्न चाहन्छौँ कि पहिले गरिएका प्रतिबद्धता किन पूरा भएनन्,’ म्यासेजमा उल्लेख छ । म्यासेज यतिमै रोकिँदैन, अगाडि पनि उनले चिनियाँ व्यापारीलाई धम्की दिइरहेका छन् । यदि सम्बद्ध चिनियाँ व्यापारीले सम्झौताअनुरूप काम गरेनन् भने हन्टरले सन्देशमा लेखेका छन्, ‘म यो कुरा मेरो छेउमा बसिरहेको मानिस (पिता जो) र उनले चिनेको हरेक व्यक्तिमाझ जानकारी गराउनेछु र साथमा मैले कहिल्यै माफी नदिने भएकाले मेरो निर्देशन पालना नगरेकोमा तपाईंले पछुताउनुपर्नेछ ।’
सार्वजनिक भएको म्यासेजमा उल्लेख विषयवस्तुका आधारमा ह्वाइट हाउसका अधिकारी र राष्ट्रपति बाइडेनले पहिले भनेजस्तो उनी छोरा हन्टरको व्यापारिक गतिविधिमा संलग्नता नहुने गरेको दाबीलाई काटेजस्तो देखिन्छ । पत्रकारहरूले यही कुरालाई संकेत गर्दै गत बुधबार हन्टरले सन्देश पठाउँदा राष्ट्रपति जो उनीसँगै बसिरहेका थिए कि भनेर सोधेका थिए । जवाफमा राष्ट्रपति बाइडेनले आफू हन्टरको व्यापारिक काममा उनको साथमा नरहेको बताए । ह्वाइट हाउस अधिकारी इयान स्याम्सले पनि बाइडेनको कुनै पनि संलग्नता नरहेको बताउँदै भने, ‘राष्ट्रपति उनको छोराको व्यापारमा सरिक थिएनन् ।’
पटक–पटक खण्डनका बाबजुद ह्वाइट हाउसलाई हन्टर बाइडेनको व्यापारिक कारोबारबाट जो बाइडेनलाई अलग देखाउन गाह्रो भइरहेको छ । यो कुरा ह्वाट्सएप सन्देश जारी भएको भोलिपल्ट २३ जुनमा भएको एक प्रेस ब्रिफिङमा स्पष्ट देखिएको थियो । त्यस दिनको ब्रिफिङमा ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जँ–पियरे र राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले हन्टर बाइडेन प्रकरणबारे थप जान्न उत्सुक प्रेसको सामना गर्नुपरेको थियो । ब्रिफिङमा न्युज–म्याक्सका रिपोर्टर जेम्स रोजेनले ठूलो स्वरमा हन्टरको सन्देश पढ्दै तिनमा समावेश विषयवस्तुले ‘राष्ट्रपतिले उनको छोराको विदेशी व्यापारिक कारोबारबारे कहिल्यै छलफल नगरेको’ भन्ने दाबीलाई खण्डन गरेन र, भन्ने प्रश्न गरेका थिए । किर्बीले त्यसपछि यो विषयमाथिको छलफल नै टुंग्याउने प्रयास गरे । ‘म यस पोडियममा उभिएर यस विषयमा थप केही बोल्नेछैन,’ किर्बीले भने । त्यसपछि लगत्तै किर्बी समाचार ब्रिफिङबाट बाहिरिएका थिए ।
छोरा हन्टर बाइडेनका विवादहरूले पिता बाइडेनलाई राजनीतिक रुपमा अप्ठ्यारो पार्ने गरेको छ
‘जिओपी सिभिल वार’ पुस्तकका सहलेखक तथा राजनीतिक विश्लेषक एरिक ह्यामले हन्टर बाइडेन धेरै लामो समयदेखि उनका पिताको राजनीतिक करिअरका लागि समस्या बन्दै आइरहेको बताउँछन् । ‘राष्ट्रपति बाइडेन उनको छोराको आलोचनाप्रति धेरै संवेदनशील हुने गर्छन् । त्यही भएर जो बाइडेन वरपरका मानिस यसबारे केही भन्न हिचकिचाउँछन्,’ ह्यामले भने ।
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा चलिरहेको हन्टर बाइडेनको व्यापारिक कारोबारसम्बन्धी अनुसन्धानबाट ह्वाइट हाउसले दबाब महसुस गरेको स्पष्ट छ । सन् २०२२ को मध्यावधि चुनावमा तल्लो सदनको नियन्त्रण हात पारेपछि रिपब्लिकन पार्टीले सदनको ‘ओभरसाइट एन्ड अकाउन्टिबिलिटी कमिटी’मार्फत बाइडेन परिवार र उनको परिवार जोडिएका व्यापारिक कारोबारको छानबिन सुरु गरेको छ । छानबिन मुख्यतः हन्टर र राष्ट्रपतिका ७४ वर्षीय भाइ जेम्स र तिनको युक्रेन तथा चीनजस्ता देशसँगको कारोबारमा केन्द्रित छ ।
सन् २००९ मा जो बाइडेनले तत्कालीन राष्ट्रपति बराक ओबामाको नेतृत्वमा उपराष्ट्रपतिको कार्यभार सम्हाल्नै लाग्दा हन्टर बाइडेनले वासिंटन डिसीमा मुख्यालय रहेको ‘रोसमेन्ट सेनेका पार्टनर्स’ लगानी कोष स्थापना गरेका थिए । यस संस्थाको कार्यस्थल भने चीन थियो । अनुसन्धानरत संसदीय समितिले सन् २०१४ को फेब्रुअरी र सन् २०१९ को अगस्ट बीचमा बाइडेन परिवारसँग जोडिएका व्यवसाय र मानिसहरू ‘बैंक अफ चाइना’को नियन्त्रणमा रहेको एक चिनियाँ लगानी कोषबीचको भएको ९३ सञ्चार–सम्पर्क भेट्टाएको छ, जसमा २४ लाख ६१ हजार नौ सय ६२ दशमलव ६० अेमेरिकी डलरको लेनदेन उल्लेख छ । ह्विसलब्लोअर र पूर्वसरकारी अधिकारीले बाहिर ल्याएको तथ्यलाई प्रमाणका रूपमा पेस गर्दै रिपब्लिकन सांसदले बाइडेन प्रशासनले परिवारसँग जोडिएका थप तथ्य लुकाउने प्रयास गरेको आरोप लगाएका छन् । उनीहरूले हन्टरको चीनसँगको व्यापारिक कारोबारले चीनप्रति बाइडेनको नीतिमा प्रत्यक्ष प्रभाव पर्ने तर्क गरिरहेका छन्, जसलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ ।
‘राष्ट्रपति बाइडेन कुनै लेनदेनका कारण विदेशी शक्तिसँग वचनबद्ध भएका भए उनी ती देश जोडिएका निर्णयमा प्रभावित हुन्छन् । यो राष्ट्रिय सुरक्षामा खतरा ल्याउने कुरा हो,’ तल्लो सदनको ‘ओभरसाइट एन्ड अकाउन्टाबिलिटी कमिटी’का अध्यक्ष रिपब्लिकन सांसद जेम्स कमरले भने । हन्टर बाइडेनमाथि युक्रेनसँग जोडिएको एक भ्रष्टाचारको आरोप पनि छ । हन्टरले सन् २०१४ देखि पाँच वर्षसम्म युक्रेनको विशाल प्राकृतिक ग्यास कम्पनी ‘बुरिस्मा होल्डिङ्स लिमिटेड’को बोर्डमा रहेर काम गरेका थिए ।
आलोचकहरूले ऊर्जा क्षेत्रको शून्य अनुभव भएका हन्टर कसरी त्यही कम्पनीको बोर्डमा छानिए भन्ने प्रश्न उठाएका छन् । र, बुरिस्मा होल्डिङ्समा हन्टरको कार्यकालको धेरै समय उनका पिता अमेरिकाको उपराष्ट्रपति थिए । हन्टरले सन् २०१९ मा एबिसी न्युजलाई दिएको अन्तर्वार्तामा उनको पिताले उनलाई युक्रेनमा काम दिलाउन भूमिका खेलेको भन्ने आरोपको खण्डन गरे । ‘यस्तो अभ्यासले हामीहरू कसैको पनि हित गर्दैन,’ हन्टरले अन्तर्वार्तामा भनेका थिए । सन् २०२० मा हन्टरको बुरिस्मा होल्डिङ्ससँगको सम्बन्धबारे अनुसन्धान गरेका दुई रिपब्लिकन नेतृत्वको समितिले यस विषयमा थप विश्लेषण आवश्यक रहेको निष्कर्ष सुनाएको थियो । तथापि ती समितिले यस प्रकरणमा कुनै प्रकारको दण्डनीय गल्ती भएको वा जो बाइडेनको प्रत्यक्ष संलग्नता भएको प्रमाण फेला पार्न भने सकेनन् ।
‘हन्टर बाइडेनले विगतमा केही सन्देहपूर्ण काम गरेका छन् । तर, उनी पिता जो बाइडेनको प्रशासन वा अभियानका हिस्सा होइनन् । त्यसैले यी मुद्दा राष्ट्रपति बाइडेनको मूल्यांकनका आधार बनाइनुहुँदैनथ्यो,’ जर्ज वासिंगटन विश्वविद्यालयमा अमेरिकी अध्ययन तथा राजनीति शास्त्रकी सह–प्राध्यापक एलिजाबेथ एन्करले भनिन् । बाइडेन परिवारप्रति लक्षित अधिकांश आलोचना ‘विशुद्ध राजनीतिक’ हुने गरेको प्राध्यापक एन्करको ठम्याइ छ । जो बाइडेनका छोराका विभिन्न व्यक्तिगत समस्या विगतमा राष्ट्रिय पत्रिकाका पहिलो पृष्ठका समाचार बनिसकेका छन् ।
सन् २०२१ मा सार्वजनिक आत्मसंस्मरणमा हन्टरले कुनै वेला आफू कोकिन र रस्कीको लती रहेको स्विकारेका छन् । तर, यी समस्याको आफूले उपचार गरेको र हाल कुनै लतमा नरहेको पनि उनले पुस्तकमा बताएका छन् । यही महिना उनले आफ्नी एक छोरीलाई जन्म दिने अर्कान्सासकी एक महिलासँग लामो समयदेखि चलिरहेको ‘बच्चा हुर्काउने खर्च’सम्बन्धी मुद्दा सल्टाए । र, सन् २०२० मा डेलावेयरको एक कम्प्युटर मर्मत पसलमा भेटिएको एक ल्यापटपमा हन्टर बाइडेनका आपत्तिजनक तस्बिरका साथै कैयौँ व्यक्तिगत जानकारी पाइएको थियो । यी घटनामध्ये केही हाल एफबिआईको अनुसन्धानको दायरामा छन् । साथै यी विषय विपक्षीहरू उनको बेइज्जती गर्न अनलाइनमा उठाइरहन्छन् ।
पहिलेदेखि विभिन्न व्यक्तिगत विवादमा रुमल्लिरहेका हन्टर जोडिएको अर्को एक घटना २० जुनमा सार्वजनिक भयो । त्यस दिन हन्टरले संघीय अभियोजकहरूसँग कर र बन्दुकसम्बन्धी विवादलाई मिलापत्रमार्फत टुंग्याएको समाचार बाहिरियो । डेलावेयर जिल्लाको न्यायाधिवक्ता कार्यालयले हन्टरमाथि सन् २०१७ र सन् २०१८ को कर दाखिला गर्न असफल भएको आरोप लगाएको थियो ।
‘हन्टरले बर्सेनि एक लाख डलरभन्दा बढीको आयकर तिर्नुपर्ने भए पनि ती दुई वर्ष उनले तिर्नुपर्ने कर तिरेनन्,’ अभियोजकहरूले आरोपमा भनेका छन् । सोही कार्यालयको आरोपमा अर्को विषयमा भनिएको छ, ‘उनले सन् २०१८ मा ‘लागुपदार्थको लत’ भएको समयमा एउटा बन्दुक किनेका थिए ।’ यी दुई आरोपमा २० जुनमा भएको सहमतिअनुरूप हन्टर बाइडेनले कर आरोपका लागि दोष स्वीकार गरेका छन् भने बन्दुक राखेको अभियोगमा उन्मुक्ति पाएका छन् । एक संघीय न्यायाधीशले हस्ताक्षर गर्न बाँकी उक्त सहमतिपत्रअनुरूप हन्टरले कुनै जेल समय सामना गर्ने हुन् वा होइनन्, हालसम्म खुलेको छैन । तर, सभामुख केभिन म्याक्यार्थीलगायत रिपब्लिकन नेता भने सहमतिले हन्टरलाई अनुचित फाइदा पुर्याएको आरोप लगाउन थालेका छन् ।
यी प्रकरणले राजनीतिक विश्लेषकसामु एक प्रश्न तेस्र्याइदिएको छ– के यी घटनाले आगामी चुनावमा मतदाताको निर्णयमा असर गर्ला ? राष्ट्रपति बाइडेनले आगामी राष्ट्रपति निर्वाचनमा उठ्ने इच्छा व्यक्त गरिसकेका छन् । त्यसमा उनको कडा प्रतिस्पर्धा आफैँ कानुनी र व्यक्तिगत समस्यासँग जुधिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने सम्भावना बढी छ । ट्रम्पले अहिले अति संवेदनशील सरकारी कागजात घर लगेको र त्यहाँ पनि लापरबाहीपूर्ण रूपमा ती कागजात राखेको आरोपमा संघीय मुद्दा खेपिरहेका छन् । त्यसबाहेक ट्रम्पमाथि अलग रूपमा न्युयोर्कमा राज्यस्तरीय मुद्दा पनि छ । रिपब्लिकन पार्टीका उन्मेदवारमध्ये अग्रपंक्तिमा रहेका ट्रम्पमाथि समेत नातावादको आरोप छ । आलोचकहरू ट्रम्पले उनका कार्यकालमा ज्वाइँ जेर्ड कुज्नरलाई राष्ट्रपति कार्यालयको सल्लाहकार नियुक्त गरेको र कुज्नरको प्रशासनको हिस्सा भएर पनि विदेशी सरकारसँग व्यक्तिगत व्यापारिक सम्झौता गरेको कुरा उठाउने गर्छन् ।
ट्रम्पको विदेशी व्यापार लेनदेनको विषय पनि विवादित छ । सन् २०२१ मा एक संसदीय समितिले ती वित्तीय कागजात सार्वजनिक गरेको थियो, जसमा ह्वाइट हाउसबाट केही पर रहेको ट्रम्पको एउटा होटेलले उनको कार्यकालमा विदेशी सरकारबाट ३७ लाख डलरभन्दा बढी कमाएको खुलासा गरेको थियो । यसका बाबजुद ट्रम्पले हन्टर बाइडेन जोडिएका प्रकरणलाई जो बाइडेनविरुद्ध राजनीतिक हतियार बनाउने प्रयास गर्दै आएका छन् । राजनीतिशास्त्रकी प्राध्यापक एलिजावेथ एन्कर हन्टर बाइडेनको घटनालाई तानेर ट्रम्पले धेरै मतदाता प्रभावित पार्न नसक्ने मान्छिन् । राजनीतिक विश्लेषक ह्यामले पनि यसमा सहमति जनाउँदै भने, ‘यदि हामी अहिलेकोजस्तो ध्रुवीकृत वातावरणमा नभएको भए यो विषय अहिलेभन्दा निकै महत्वपूर्ण हुने थियो ।’
अलजजिराका लागि क्रिस सेरिडेनको आलेख