दुई महिनामा पनि सकिएन तार व्यवस्थापन
काठमाडौं महानगरपालिकाले तार व्यवस्थापनसम्बन्धी काम १० दिनका लागि स्थगित गरेको छ । निरन्तरको वर्षाले तार काट्न समस्या भएपछि केही दिनलाई स्थगित गरिएको हो । महानगरले करिब दुई महिनाअघि तार व्यवस्थापनलाई अभियानकै रूपमा सुरु गरेको थियो ।
महानगर प्रहरीबलका नगर प्रहरी नायब उपरीक्षक तथा तार व्यवस्थापन संयोजक केदारबहादुर कार्कीका अनुसार पानी पर्ने समयमा तार काटेर व्यवस्थापन गर्न समस्या भएकाले काम रोकिएको हो । ‘मंगलबार बैठक बसेर बुधबारदेखि तार काट्ने काम रोकेका हौँ,’ उनले भने, ‘पानी पर्ने समय भएकाले करेन्ट लाग्ने सम्भावना धेरै हुन्छ । १० दिनपछि फेरि काम सुरु हुन्छ ।’ महानगरले माइतीघरबाट तार काट्न सुरु गरेको थियो । महानगरले माइतीघर–थापाथली, थापाथली–टेकु, त्रिपुरेश्वर–लैनचौर, न्युरोड गेट–वसन्तपुर गरी चार क्षेत्र बनाएर तार काट्न थालेको थियो ।
महानगरका मेयर बालेन्द्र साहले २२ वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अव्यवस्थित तारका कारण आगलागीको जोखिम बढ्नुको साथै सहर पनि कुरूप बनेको भन्दै तार व्यवस्थापन गर्ने घोषणा गरेका थिए । यसलगत्तै महानगरले २४ वैशाखमा छलफल गरी २५ वैशाखदेखि काम सुरु गरेको थियो । तार व्यवस्थापन गर्न इन्टरनेट सेवा प्रदायक कम्पनी, नेपाल टेलिकम, विद्युत् प्राधिकरण लगायतसँग महानगरले सहकार्य गर्दै आएको छ । तार व्यवस्थापनको काम सम्पदा क्षेत्र र हाइवे क्षेत्रलाई प्राथमिकतामा राखेर सुरु गरेको थियो ।
ललितपुरमा सात दिनमै तार व्यवस्थापन
उपत्यकामै रहेको ललितपुर महानगरपालिकामा भने यसअघि नै अव्यवस्थित तार व्यवस्थापन भइसकेको छ । महानगरपालिकाले सरोकारवाला निकायलाई १० दिनको समय दिएको थियो, तर सात दिनमै तार व्यवस्थापन भएको थियो ।
ललितपुरलेझैँ काठमाडौं महानगरले पनि १५ दिनको समय दिएर सरोकारवाला निकायलाई तार व्यवस्थानपन गर्न निर्देशन दिएकोमा दुई महिना पुग्न लाग्दा पनि व्यवस्थापन हुन सकेको छैन । समितिका संयोजक कार्की भन्छन्, ‘तार व्यवस्थापन कार्य कठिन भएकाले एक–दुई वर्ष पनि लाग्न सक्छ । साना गल्ली सबैतिरको तार व्यवस्थापन गर्न कम्तीमा दुई वर्ष त लाग्छ । गिजोलिएका तारहरू धेरै छन् । पुराना तार यत्तिकै छोडिएका छन् । नयाँलाई पनि ध्यानमा राखेर काट्नुपर्ने हुन्छ ।’
सफा देखिन थाल्यो सडक
तार काटेका सडक सफा देखिन थालेको छ । अव्यवस्थित तारका कारण सहर नै कुरूप देखिएको, दुर्घटना हुन थालेको भन्दै महानगरपालिकाले यो अभियान सुरु गरेको थियो ।
८० ट्रक तार काटिए, काट्नभन्दा व्यवस्थापन गर्न कठिन
काठमाडौं महानगरका अनुसार हालसम्म ८० ट्रक तार काटिसकिएको छ । ती तार टेकुस्थित ट्रान्सफर स्टेसनमा थुपारिएको छ । टेकुमा तार राखिए पनि पुनः प्रयोग गर्न नमिल्ने भएकाले व्यवस्थापनमा कठिन भइरहेको छ । ‘तार काट्न त काट्यौँ, तर व्यवस्थापन गर्न गाह्रो भइरहेको छ,’ कार्कीले भने, ‘दैनिक चार पाँच ट्रक तार जम्मा भइरहेको छ । त्यो पुनः प्रयोग पनि नहुने र अन्य काममा प्रयोग पनि नहुने रहेछ ।’ महानगरले एक ट्रक तार भने तरकारी खेती गर्ने सर्वसाधारणलाई पठाएको छ । जसकारण अरू कतैबाट तारको माग भए निःशुल्क उपलब्ध गराउने भएको छ । सम्बन्धित क्षेत्रमा महानगरले नै पुर्याइदिने महानगरले जनाएको छ ।