अर्जुनसँग ५० रनको साझेदारीलगत्तै रोहित आउट

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप ग्लोबल छनोटअन्तर्गत सातौँ स्थानका लागि आयरल्यान्डविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । जिम्बावेको हरारेमा जारी म्याचमा नेपालले २२औँ ओभरको पाँचौँ ओभरमा ९४ रनको अवस्थामा कप्तान रोहित पौडेललाई गुमायो । 

३५ बल खेलेका रोहितले २९ रन बनाए । उनले एक छक्का र दुई चौका प्रहार गरे । ओपनर अर्जुन साउदसँग ५० रनको साझेदारी गरेलगत्तै रोहित विकेट गुमाउन पुगे । कर्टिश क्याम्फरले रोहितको विकेट लिए । 

यसअघि नेपालले १२.३ ओभरमा ४४ रनको अवस्थामा ज्ञानेन्द्रलाई गुमाएको थियो । क्रेग योङको उत्कृट आउट स्विङ बलमा एज लगाउन पुगेका ज्ञानेन्द्रलाई विकेट किपरले उस्तै उत्कृष्ट ड्राइभ क्याच लिँदै आउट गरे । 

टेस्ट मान्यताप्राप्त राष्ट्र आयरल्यान्डविरुद्ध ज्ञानेन्द्रले आफ्नो अनुभव सदुपयोग गर्न सकेनन् । जारी प्रतियोगितामा उनले दोस्रोपटक मौका पाएका थिए । १३ बल खेलेका उनले एक चौकाको सहायतामा सात रन बनाए ।

नेपालले आठौँ ओभरमा २७ रनको स्थितिमा कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको थियो । क्रेग योङको पहिलो ओभरको पहिलो बलमै संयम गुमाउँदा कुशल भुर्तेल आउट हुन पुगेका थिए । क्रेगले फालेको सर्ट बलमा अगाडि बढेर प्रहार गर्दा कुशल विकेट किपरको हातबाट समाएका थिए ।

सुझावित समाचार