असार लागेपछि अत्यधिक बढ्यो खर्च

दैनिक करिब एक अर्ब पुँजीगत खर्च, १७ दिनमा ७५ अर्ब ८० करोड भुक्तानी

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

चालू आर्थिक वर्षको ११ महिना सुस्ताएको सरकारी खर्च असार लागेपछि रफ्तार लिन थालेको छ । आवको अन्तिम महिना असारको १७ दिनमा ७५ अर्ब ८० करोड सरकारी खर्च भुक्तानी भएको छ । महालेखा नियन्त्रकको कार्यालयअनुसार आइतबारसम्म कुल सरकारी खर्च विनियोजित बजेटको ६९.९१ प्रतिशत पुगेको छ । अर्थात् हालसम्ममा १२ खर्ब ५४ अर्ब रुपैयाँबराबर सरकारी खर्च भएको छ । 

असार लागेयता कुल खर्च ४.३५ प्रतिशत विन्दुले अर्थात् ७८ अर्बले बढेको छ । जेठ मसान्तसम्म सरकारले ६५.५६ प्रतिशत अर्थात् ११ खर्ब ७६ अर्ब खर्च गरेको थियो । उक्त अवधिसम्म पुँजीगततर्फ भने ४०.२४ प्रतिशत अर्थात् एक खर्ब ५३ अर्ब खर्च भएको थियो ।

कुल खर्चमध्ये विकास निर्माणमा बढी खर्च हुने पुँजीगततर्फ एक खर्ब ६८ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । यो कुल पुँजीगत बजेटको ४४.३४ प्रतिशत हो । असार सुरु भएयता हालसम्म १४ अर्ब ९० करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । यसरी हेर्दा औसतमा दैनिक एक अर्बका दरले पुँजीगत खर्च हुन थालेको छ । 

वर्षभरि हात बाँधेर बस्ने र असार लागेपछि बजेटको ओइरो लाग्ने पुरानो प्रवृत्ति यो वर्ष पनि पुनरावृत्ति भएको अर्थशास्त्री डिल्लीराज खनालले बताए । खर्चमा सुधार गर्नुपर्ने भन्दा पनि असारमा पुगेर खर्च ओइ¥याउने प्रवृत्तिले बजेट कार्यान्वयनमा सधैँ प्रभावित हुँदै आएको उनको भनाइ छ । उनले भने, ‘सरकारले खर्चलाई परिणाममुखी बनाउनुपर्ने त कता हो कता, असार लागेपछि खर्च ह्वात्तै बढाउने प्रवृत्ति हाबी भएको छ ।’ 

खर्चको लेखाजोखा गर्ने निकाय महालेखा नियन्त्रकको बागडोर सम्हालिसकेका पूर्वसचिव सुरेश प्रधानले नेपालको बजेट प्रणालीमै त्रुटि रहेको औँल्याएका छन् । उनले वर्षैपिच्छे आकार बढ्दै जाने बजेट प्रणाली त्रुटिपूर्ण भएको बताए ।  

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमै बजेट कार्यान्वयनका लागि आवश्यक योजनादेखि कार्यान्वयनसम्मका सबै प्रक्रिया उल्लेख गरिए पनि पालना नभएको उनको भनाइ छ । उनले भने, ‘बजेट कार्यान्वयन गर्न अरू नयाँ केही गर्नुपर्दैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन पालना गरे मात्रै पुग्छ । तर, त्यसको पालना नहुँदा वर्षैपिच्छे समस्या दोहोरिँदै आइरहेको छ ।’

साथै ऐनमा खर्च नगर्नेलाई कारबाही गर्नेसमेत व्यवस्था भए पनि यसको पालना नहुँदा दण्डहीनताले प्रश्रय पाइरहेको उनको भनाइ छ । उनले भने, ‘ऐनमा खर्च नगर्ने पदाधिकारी वा जिम्मेवारी व्यक्तिलाई कारबाहीको समेत व्यवस्था छ । तर, अहिलेसम्म कसैले दण्ड नव्यहोर्नुपरेकाले सरकारी निकायहरू गैरजिम्मेवारी हुँदै गइरहेका छन् । दण्ड दिने प्रचलन सुरु हुने हो भने यो समस्या धेरै कम हुने थियो ।’ राजस्वमा आधारित खर्च प्रणाली नहुँदा पनि खर्च व्यवस्थापन नभएको उनको भनाइ छ ।  

असारमा जसरी पनि खर्च गर्न खोज्नु गलत अभ्यास
डिल्लीराज खनाल, अर्थशास्त्री

बजेट कार्यान्वयनमा पुरानै प्रवृत्तिको पुनरावृत्ति भएको छ । असार मसान्तमा पुगेर जसरी पनि खर्च गर्ने प्रवृत्ति यसपालि पनि कायम छ । खर्चमा सुधार र यसलाई परिणाममुखी बनाउनुपर्नेमा कसैले ध्यान दिएनन् । तर, अहिले त कानुनभन्दा बाहिर गएर खर्च गर्नेसमेत प्रवृत्ति बढेको छ । स्रोत सुनिश्चितता नगरी कार्यक्रम राख्ने क्रमलाई खारेज नै गर्नुपर्छ । साथै, अबन्डामा बजेट राखी गैरबजेटरी खर्च गर्ने प्रवृत्तिले यसपालि पनि निरन्तरता पाएको छ । 

आकार बढाउँदै जाने बजेट प्रणाली नै त्रुटिपूर्ण छ
सुरेश प्रधान, पूर्वसचिव, नेपाल सरकार 

हाम्रो बजेट प्रणालीमै त्रुटि छ । प्रत्येक वर्ष बजेटको आकार बढाउँदै जाने र यथार्थमा खर्च निकै कम हुने प्रवृत्ति छ । हुनुपर्ने के हो भने कार्यसम्पादनमा आधारित बजेट प्रणाली हुनुपथ्र्याे । त्यसो त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमै बजेट कार्यान्वयनका लागि आवश्यक योजनादेखि कार्यान्वयनसम्मका सबै प्रक्रिया उल्लेख गरिएको थियो । ऐनमा प्रतिबद्धताप्राप्त आयोजनालाई पहिलो प्राथमिकतामा राख्नेसमेत उल्लेख छ । तर, सरकारले कानुनको पालना नगरी अघि बढ्दा समस्या आएको हो । खर्च नगर्नेलाई कारबाही गर्नेसमेत ऐनमा व्यवस्था छ । साथै, मासिक अनुगमनको व्यवस्था पनि छ । अहिलेको समस्या दण्डहीनता नै हो ।

असारे भुक्तानीले थुप्रियो निक्षेप
बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत शनिबारसम्ममा निक्षेप संकलन ५६ खर्ब आठ अर्ब पुगेको हो । गत चैतसम्ममा कुल निक्षेप संकलन ५४ खर्ब ८५ अर्ब थियो । वाणिज्य बैंकहरूले मात्रै ४९ खर्ब ५१ अर्बको निक्षेप संकलन गरेका छन् भने अन्य वित्तीय संस्थाहरूमा ६ खर्ब ५७ अर्बको निक्षेप संकलन पुगेको छ ।  

असार लागेपछि सरकारी खर्चमा समेत वृद्धि हुँदै गइरहेकाले बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । उनले भने, ‘तरलताको प्रमुख स्रोत सरकारी खर्च हुने भएकाले यो बढ्नेबित्तिकै निक्षेपमा समेत सुधार देखिन थाल्छ । असारमा बढी सरकारी भुक्तानी हुने भएकाले यस समयमा निक्षेप बढ्नु स्वाभाविक नै हो ।’

महालेखा नियन्त्रकको कार्यालयअनुसार असार लागेयता सरकारले ७५ अर्ब ८० करोड खर्च गरेको छ । आइतबार एकै दिनमा मात्रै १८ अर्ब १६ करोड रुपैयाँ भुक्तानी भएको छ । अन्य महिनाको तुलनामा असारमा बढी भुक्तानी हुने भएकाले निक्षेपमा समेत वृद्धि भएको हो । असार सुरु भएयता १४ अर्ब ९० करोडको मात्रै पुँजीगत खर्च भएको छ । 

नेपाल बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरूमा मात्रै ३७ अर्ब निक्षेप थपिएको छ । यो गत असार १० गतेदेखि १६ गतेसम्मको आँकडा हो । यो अवधिमा ३० अर्ब ९१ करोडको सरकारी खर्च भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन बढ्दै गइरहे पनि कर्जा विस्तार भने सुस्त देखिएको छ । यो एक सातामा वाणिज्य बैंकहरूले तीन अर्ब मात्रै कर्जा प्रवाह विस्तार गरेको एसोसिएसनले जनाएको छ । 

पछिल्लो बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको अनुपात बढ्दै गएकाले तरलता सहजताका बाबजुद पनि थप कर्जा विस्तारमा आकर्षित नभएको खालिङको भनाइ छ । उनले भने, ‘अहिले हामी सकेसम्म एनपिएल (निष्क्रिय) कर्जाको व्यवस्थापनमै केन्द्रित छौँ । त्यसमाथि यो महिनामा थप कर्जा विस्तार खासै हुने गरेको पनि छैन ।’खराब कर्जाको जोखिम कम गर्न र ब्यालेन्स सिट बिग्रन नदिन बैंकहरू असारसम्ममा कर्जा असुलीमै केन्द्रित छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न उपायहरू अवलम्बनसमेत गरिरहेका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार गत शनिबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४८ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । जसमा वाणिज्य बैंकहरूको मात्रै ४३ खर्ब चार अर्ब रुपैयाँ छ । बाँकी वित्तीय संस्थाहरूले पाँच खर्ब ५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कर्जा विस्तार ठप्पप्रायः बनिरहेको र निक्षेपमा समेत वृद्धि हुँदै गइरहेको समयमा कर्जा निक्षेपको अनुपातसमेत घट्दो क्रममा छ । हाल बैंक तथा वित्तीय संस्थाहरूको यस्तो अनुपात ८३.५५ प्रतिशत कायम भएको छ । 

सुझावित समाचार