खेलकुदले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउँछ । तर, उनीहरूलाई सुरक्षित वातावरणमा खेलाउन जरुरी हुन्छ । त्यसैले बच्चा खेल्न निस्कँदा केही कुरा ध्यानमा राख्न जरुरी हुन्छ ।
- बच्चालाई अभिभावक वा सम्बन्धित प्रशिक्षकको निगरानीमा मात्रै खेलाउनुपर्छ ।
- के तपाईंको बच्चा खेल्ने ठाउँ सुरक्षित छ ? सवारीसाधनको आवतजावत नहुने, खुला पार्कमा बच्चालाई खेलाउनुपर्छ । उनीहरूको शारीरिक सुरक्षाका लागि हेल्मेट, प्याडलगायत उपकरण प्रयोग गर्नु राम्रो हुन्छ ।
- बच्चालाई खेल्न पठाउँदा छालामा सनस्क्रिन लगाइदिनुपर्छ । उनीहरू स्वस्थ भएका वेला मात्रै खेल्न पठाउनुपर्छ । बिरामी अवस्थामा खेल्न जाँदा उनीहरूलाई समस्या हुन्छ । उनीहरूमार्फत अन्य बालबालिकालाई संक्रमण सर्ने जोखिम पनि रहन्छ ।
- खेलका दौरान बच्चालाई चोट लागेमा तत्कालै कसरी उपचार गर्ने ? यस विषयमा पनि सजग हुुनुपर्छ । प्राथमिक उपचारको बाकस खेलस्थलमा उपलब्ध हुनुपर्छ ।
- बच्चाले खेल्न निस्कनुअघि र खेलपछिको ब्रेकमा पनि पर्याप्त मात्रामा पानी खाए/नखाएको जानकारी राख्नुपर्छ । जंकफुड र फास्टफुडबाट टाढै राख्नु राम्रो हुन्छ । घरमा पकाएका खानेकुरा खुवाउनुपर्छ ।
- उत्प्रेरणा कसरी दिने ?
- खेल्ने क्रममा सोचेजस्तो नतिजा आउँदैन । साथीभाइ र आफूबीचको खेल कौशल तुलना गरेर कहिलेकाहीँ बच्चाहरू दुःखी हुन्छन् । चाहेजस्तो सुधार गर्न नसक्दा पनि उनीहरूलाई दुःख लाग्न सक्छ । बच्चालाई राम्रो खेल्न नसक्दा गिज्याउने होइन, कन्भिन्स र उत्प्रेरित गर्ने प्रयास गर्नुपर्छ । सानोमा विभिन्न खेल खेलाउने र त्यसमध्ये उनीहरूले रुचाएको वा राम्रो गरेको खेलमा बिस्तारै फोकस गराउनु राम्रो हुन्छ ।
- उनीहरूको आत्मसम्मान र व्यक्तित्व निर्माणमा हारको नकारात्मक प्रभाव नपरोस् भन्नेतर्फ अभिभावक सजग हुुनुपर्छ । हार–जितभन्दा पनि निरन्तरता र प्रयास महत्वपूर्ण हो भनेर बुझाउनुपर्छ । सबै उमेरका बालबालिकाले खेलकुदको मज्जा लिन सक्छन् । यसले बालबालिकालाई टिमवर्कमा विश्वास गर्न र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले उनीहरूलाई रुचिअनुसारको खेलमा लाग्न उत्प्रेरित गर्नुपर्छ । यसले विन–विनको अवस्था सिर्जना गर्छ ।