काभ्रे जिल्लामा करिब २५ हजार पशुहरूमा ‘लम्पी स्किन’ रोगको संक्रमण देखिएको छ। जिल्लाका १३ वटै स्थानीय तहमा उक्त संक्रमण फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ।
जिल्लामा पहिलोपटक धुलिखेल २ रविगाउँमा देखिएको ‘लम्पी स्किन रोग अहिले जिल्लाका १३ वटै स्थानीय तहमा देखिएको केन्द्रका निमित्त प्रमुख डा.नितेश कार्कीले बताए।
कार्कीका अनुसार पक्स समूहको काप्रिपक्स भाइरसबाट गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग करिब दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहको गाउँ तहमा पुग्दा करिब २५ हजार पशुमा संक्रमण देखिएको तथ्यांक प्राप्त भएको छ।
करिब १५/१६ हजार गाईमा र करिब ७/८ हजार भैँसीमा उक्त संक्रमण देखिएको कार्कीको भनाइ छ। रोगको संक्रणले स्थानीय पशुपालक कृषक निकै चिन्तित बनेका छन्। उक्त रोगका कारण जिल्लामा हालसम्म कम्तीमा २५ हजार संक्रमित पशुमध्ये करिब ६० वटा गाई र एक भैँसी मरेको डा. कार्कीले जानकारी दिए।
पछिल्ला केही दिनदेखि महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश पशुमा संक्रमण देखिएको थियो भने हाल बनेपा नगरका पशुमा उक्त रोग देखिन थालेको छ।
संक्रमणले ७० प्रतिशत उत्पादनमा कमी
उक्त लम्पी स्किन संक्रमणका कारण पशुको दूध उत्पादनमा ७० प्रतिशत घट्ने कार्कीको भनाइ छ। रोगका कारण पशुले दिने दूधमा कमी हुँदा ६ करोडको दूध उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ। उत्पादनमा कमी आएपछि कृषकहरू मारमा परेको छ।
जिल्लामा लम्पी स्किन रोग फैलिएपछि जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउदै आएको बताएका छन्। प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई तीन सय डोजका दरले खोप पठाइएको जनाएको केन्द्रका निमित्त प्रमुख डा. कार्कीले जानकारी दिए।
रोग लागेमा के हुन्छ?
उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिँगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना ठूला गिर्खा तथा फोका देखिन्छ। रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन्।
यो रोगको हालसम्म कुनै ठोस उपचार छैन। लक्षणको आधारमा उपचार गर्नेबाहेक अन्य उपचार नहुने कार्कीले जानकारी बिए। अन्य संक्रमणको अनुपातमा पशु मर्ने संख्या चाहिँ कम रहेको उनको भनाइ छ।
लम्पी स्किन संक्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो। सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बंगलादेश हुँदै २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो।