पीडितले सिआइबीलाई पत्र लेखिदिन निवेदन दिए, नगरपालिकाले जिल्ला प्रशासनलाई पठायो

पर्वतको शिवालय बहुउद्देश्यीय सहकारीको रकम हिनामिना

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

पर्वतको कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको रकम हिनामिना प्रकरण अनुसन्धानका लागि पीडितले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्र लेखिदिन कुस्मा नगरपालिकालाई निवेदन दिएको थियो । तर, नगरपालिकाले त्यसविपरीत जिल्ला प्रशासनलाई पत्र पठाएको छ भने सिआइबीलाई बोधार्थ मात्र लेखेको छ । नगरपालिका दोषीलाई जोगाउने उद्देश्यसहित यस्तो कार्य गरेको भन्दै पीडित पक्षले आपत्ति जनाएको छ ।

सहकारीका अध्यक्ष विदुर पौडेल, कोषाध्यक्ष नरेन्द्रबहादुर खत्री, ऋण समिति संयोजक सागर जोशी, लेखा समिति संयोजक विनोद कर्माचार्य र व्यवस्थापक दिलकुमारी सुवेदी बोहराको मिलेमतोमा सहकारीको करिब दुई करोड गलत उद्देश्यसहित परिचालन गरेर हिनामिना गरिएको भन्दै कारबाहीका लागि सेयर होल्डरमध्येकी मीनाकुमारी शर्माले नगरपालिकामा निवेदन दिएकी थिइन् । घटनाको अनुसन्धान सिआइबीबाट हुनुपर्ने उनको माग छ । तर, नगरपालिकाले घटनाको अनुसन्धान सिआइबीलाई नदिई जिप्रका पर्वतलाई दिएको हो ।

अधिवक्ता रामचन्द्र शर्मा

सहकारीको करिब दुई करोड रुपैयाँ गलत ढंगले परिचालन भएको छ । यो ठगी हो । यसविरुद्ध हामीले जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दियौँ, तर दर्ता हुन सकेन । त्यसो हुँदा हामी नगरपालिकामा आयौँ । तर, त्यहाँबाट पनि सही काम हुन सकेन । सिआइबीलाई पत्र लेखिदिन निवेदन दिएका थियौँ, नगरपालिकाले जिल्ला प्रशासनलाई लेख्यो 

मिनाकुमारी सहकारीका तत्कालिन सचिव प्रेमप्रकाश शर्माकी पत्नी हुन् । आफुलाई थाहै नदिई अध्यक्ष, कोषाध्यक्ष, व्यवस्थापकलगायतले सहकारीको रकम हिनामिना गरिएको भन्दै प्रेमकुमारले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका गरेका थिए ।

नगरपालिकाले सिआइबीको साटो जिल्ला प्रशासनलाई पत्राचार गरेर गैरकानुनी काम गरेको भन्दै पीडिततर्फका अधिवक्ता रामचन्द्र शर्माले आपत्ति जनाएका छन् । ‘सहकारीको करिब दुई करोड रुपैयाँ गलत ढंगले परिचालन भएको छ । यो ठगी हो । यसविरुद्ध हामीले जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दियौँ । तर, दर्ता हुन सकेन । त्यसो हुँदा हामी नगरपालिकामा आयौँ । तर, त्यहाँबाट पनि सही काम हुन सकेन । सिआइबीलाई पत्र लेखिदिन निवेदन दिएका थियौँ, नगरपालिकाले जिल्ला प्रशासनलाई लेख्यो,’ उनले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले घटनाकोे अनुसन्धान जिल्ला प्रहरी कार्यालयले नै गर्न सक्ने हुँदा पत्र जिल्ला प्रशासन कार्यालय पठाएको दाबी गरे । ‘हामीकहाँ निवेदन परेको हो । निवेदन अध्ययन गर्‍यौँ । सिआइबीमा नै पठाउनुपर्नेजस्तो देखिएन । अनुसन्धान जिप्रकाले नै गर्ने हो । यसलाई जिल्ला प्रशासनले निर्देशन दिन सक्छ । त्यसो हुँदा हामीले प्रशासनमा पत्र पठाएका हौँ,’ उनले भने ।

सोही सहकारीमा सचिव रहेका मीनाकुमारीका पति प्रेमप्रसाद शर्माले सहकारीका अध्यक्ष विदुर पौडेल र कोषाध्यक्ष नरेन्द्रबहादुर खत्री मिलेर रकम हिनामिना र ठगी गरेको भन्दै आत्महत्या गरेका थिए । त्यसपछि न्याय खोज्दै मीनाकुमारी जिल्ला प्रहरी कार्यालय पर्वत पुगेकी थिइन् । तर, जिप्रकाले उजुरी दर्ता नगरेपछि उनी निवेदन बोकेर पर्वतका जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालत पुगेकी थिइन् । त्यहाँ पनि जाहेरी दर्ता हुन नसकेपछि उनी सर्वोच्च अदालत पुगिन् । सर्वोच्चले पनि रिट खारेज गरिदिएपछि थप भौँतारिएकी छिन् । 

See More On

सुझावित समाचार