नरैनापुर गाउँपालिकाका ७७ भूमिहीन परिवारले जग्गाधनी पुर्जा पाएका छन्। पहिलो चरणमा नरैनापुर गाउँपालिका– ४ स्थित गाउँब्लकमा रहेका ७७ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिइन्।
नरैनापुरका गाउँब्लकमा रहेका थप चार सय भूमिहीन परिवारलाई जगाधनी पुर्जा वितरण गर्ने योजना रहेको पालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। उनले पालिकाभित्र रहेका सबै भूमिहीनलाई जग्गा वितरण गर्ने कार्यक्रम रहेको बताए।
भूमिसुधार रन्जिता श्रेष्ठ चौधरीलले भूमि भएर भूमिविहीन बनिरहेका सबैलाई जग्गा प्रदान गर्ने सरकारको नीति रहेको बताइन्। उनले नापी हुन बाँकी गाउँब्लकको जग्गा नाप गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको जानकारी दिइन्।
उनले नरैनापुरमा नापी र मालपोत कार्यालय राख्ने निर्णय भइसकेको बताउँदै साउन महिनाभित्रै कार्यालय सञ्चालनमा आउने जिकिर गरिन्। मन्त्री रन्जिताले नरैनापुरमा इलाका प्रशासन कार्यालय अविलम्ब सञ्चालनका लागि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने प्रतिबद्धता जनाइन्।
गाउँपालिका अध्यक्ष शाहले नरैनापुरमा इलाका प्रशासन, नापी, मालपोत र भन्सार कार्यालय सञ्चालनका लागि पहल गरिदिन आग्रह गरे।
जग्गाधनी पुर्जा वितरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, प्रदेश सभा सदस्य कृष्ण केसी, नरैनापुर– १ का अध्यक्ष इसाक जोहाल, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, जिन्सी शाखा प्रमुख भरत महतोलगायतको सहभागिता रहेको थियो।