नारामै सीमित धान दिवस

विगतलाई फर्केर हेर्ने हो भने नारा एकातिर र धान तथा कृषि उत्पादनको अवस्था अर्कैतिर देखिन्छ

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

नेपाल सरकारको ०६१ मंसिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेपछि १५ असारलाई धान दिवसका रूपमा चिनाउने काम भएको पनि करिब दुई दशक भएको छ । यस दिनलाई मानो रोपेर मुरी फलाउने पनि भनिन्छ । सरकारले यस वर्ष पनि ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औँ धान दिवस मनाउँदै छ । तर, पछिल्लो समय असार १५ भनेपछि किसानमा एउटा नयाँ ऊर्जा प्राप्त हुन्थ्यो । विशेषगरी, असार लागेपछि एक महिनासम्म हिलोमाटोमा उत्सव मनाउने गरिन्थ्यो । खेतका आलीआलीमा असारे गीतको लयमा माहोल अर्कैै हुन्थ्यो । तर, सरकारले हरेक वर्ष मनाउने यस्ता नाराले पछिल्लो समय भने किसानलाई आशा होइन, निराशा मात्र थपेको छ । 

सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेटमा कृषिसम्बन्धी विषय बुलन्द सुनिए पनि कार्यान्वयन भने प्रभावकारी कहिल्यै हुन सकेन । हरेक वर्ष धान रोप्ने समयमा किसानले रासायनिक मलका लागि घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन ।

देशको ७७ वटा जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ७५ वटा जिल्लामा धानखेती गरिन्छ । धान समुद्री सतहभन्दा ६० मिटर झापा जिल्लाको केचना कवलदेखि माथि तीन हजार ५० मिटर जुम्ला जिल्लाको हुमचौरसम्म खेती गर्ने गरेको पाइन्छ । नेपालमा कुल खेतीयोग्य जमिनमध्ये (४७ प्रतिशत) १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । जसमध्ये तराईमा ७० प्रतिशत, पहाडमा २५ प्रतिशत र उच्च पहाडमा ५ प्रतिशत क्षेत्रमा धानखेती गरिन्छ । ०४५ सालमा नेपालको ३५ लाख हेक्टरमा धानखेती हुने गरेको थियो । झन्डै ५ दशकअगाडि प्रतिहेक्टर १.३ मेट्रिक टन धान उत्पादन हुने गरेकोमा उत्पादकत्व बढेर गत वर्ष प्रतिहेक्टर ३.७९ मेट्रिक टन पुगेको छ । 

धानको महत्व ः सन् १९६६ मा विश्वभर नै भोकमरी फैलियो । उक्त भोकमरीबाट बच्नका लागि संयुक्त राष्ट्रसंघले धानलाई वर्षबाली मानेको थियो । भोकमरीबाट मुक्तिको नारासहित उक्त वर्ष मुख्य बालीको रूपमा धानलाई जोड दिइएको थियो । धानलाई भोकमरीबाट बच्नका लागि सबैभन्दा उपयुक्त खाद्यान्नको रूपमा संयुक्त राष्ट्रसंघले देख्यो । विश्वमा शान्ति र सुरक्षा कायम गर्न स्थापना भएको संयुक्त राष्ट्रसंघले धानमा जोड दिनुको प्रमुख उद्देश्य खाद्यान्नविना मानव जीवनको सम्भावना नहुनु हो । यससँगै धान संसारका लागि मुख्य खानाको रूपमा स्थापित भयो । जसका कारण एसियामा ९० प्रतिशत धान उत्पादन र खपत हुँदै आएको छ । 

‘जलवायुअनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित २०औँ धान दिवस मनाइँदै छ । सरकारका यस्ता नाराले किसानलाई भने आशाभन्दा बढी निराशा थपेको छ ।
 

धान निर्यातक देश नेपाल :  जुन समयमा प्रविधि, प्राविधिक, कृषिको बलिया संरचना, बजेट, ऐन कानुनलगायत थिएन, त्यस्तो अवस्थामा पुर्खाहरूले आफ्नै ज्ञान, सीप र क्षमताबाट सिँचाइको व्यवस्थासमेत मिलाई स्थानीय स्रोत साधनमा आधारित रही गरेको खेतिपातीको पद्धति जीवित रहँदा ०३१ (सन् १९७१) सालमा धान, चामल निर्यात गर्न आठवटा धान–चामल निर्यात कम्पनी स्थापना गरी धान–चामल निर्यात गर्ने गरिएको थियो । उक्त समयमा ५५ हजार मेट्रिक टन चामल नेपालबाट भारत, बंगलादेशलगायतका ठाउँमा निर्यात हुने गर्दथ्यो । उक्त क्रम सात वर्षसम्म निरन्तर रूपमा चली नै रह्यो ।

आठौँ वर्षमा पुग्दा नाटकीय रूपमा नेपालमा नै चामल आयात हुन थाल्यो र दशौँ वर्षसम्म पुग्दा ती आठवटै कम्पनी बन्द हुने स्थितिमा पुगे । यस्तो अवस्था किन आयो ? हालसम्म पनि अध्ययन भएको छैन । सतही रूपमा लाज ढाक्नका लागि जनसंख्या वृद्धि भयो र देशमा नै उपभोग बढ्यो, जमिन बढेन र परम्परागत कृषि प्रणालीमा खेतिपाती भएका कारण उत्पादन घट्यो र निर्यात गर्न सकिएन भन्ने बहानाले प्राथमिकता पाइरहेको छ । राज्यले किसानको पीडा र वर्तमान अवस्थाबारे सही विश्लेषण हुन नसक्नुका साथै नीति नियम किसानमैत्री बनाउन र कार्यान्वयन गर्न आज पनि सकेको छैन ।

हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेटमा कृषिसम्बन्धी विषय बुलन्द सुनिन्छन्, तर प्रभावकारी हुँदैनन् । वर्षैपिच्छे धान रोप्ने वेला किसान रासायनिक मलका लागि घन्टाैँ लाइनमा बस्नुपर्छ ।
 

धान दिवस र कृषिको अवस्था :  सरकारले दुई दशकअगाडि (२०६१)देखि सरकारी निर्णयपश्चात् नियमित रूपमा हरेक वर्ष नारा परिवर्तन गर्दै असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सवको रूपमा मनाउँदै आएको छ । धान दिवस मनाउन थालेसँगै धान र यसको मुख्य परिकार भातका बारेमा ह्वात्तै चासो बढेको छ, जसका कारण धान–चामलको आयात पनि बढेर गएको छ । हाल नेपालमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मातहतका निकाय, राजनीतिक पार्टीका किसान भातृ संगठन र अन्य स्वतन्त्र तथा खेतिपातीमा संलग्न संघसंस्था र संगठन एवं स्थानीय सरकारसमेत होडबाजीका साथ धान दिवस मनाउन तल्लीन छन् । 

कुनै पनि दिवस तथा महोत्सव मनाउने भनेको रमाइलोका लागि मात्र होइन । त्यसले समाजमा सकारात्मक सन्देश दिनुपर्छ । यो दिवस हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने मात्र होइन, धान रोपेदेखि भिœयाउने दिनसम्मको कर्मको रूपमा लिनुपर्छ । यस कर्मको सुरुवाती दिन असार १५ गते हो । हामी विगतदेखि हालसम्म १९ वर्षको धान दिवस मनाइसकेर आज २०औँ दिवस मनाउने क्रममा छौँ । 

समयसान्दर्भिक नारा घन्काउँदै दिवस मनाइरहँदा हामीले लिएको नारा सार्थक भयो त, हामीले सोच्यौँ कि सोचेनाैँ ? विगतका नारालाई फर्केर हेर्ने हो भने नारा एकातिर, धान तथा कृषि उत्पादनको अवस्था अर्कोतिर मौलाएको पाइन्छ । हामीले कृषिभूमिको संरक्षणको नाराका साथ धान दिवस मनायौँ, हाल धान फल्ने खेत खण्डीकरण भई कंक्रिट संरचना तथा घर फलेका छन् । हामीले धान उत्पादनमा वृद्घि गर्ने नारा लियौँ, धान–चामल निर्यात गर्ने देशको रूपमा चिनिएको कृषिप्रधान देशका जनता हामी अर्बौंको चामल किनेर खान बाध्य छौँ । यसले कृषि नाराले चल्दैन भन्ने शिक्षा दिएको छ । 

धान दिवस मनाइरहँदा छैन गोदाममा खाद्य :  हामीसँग सार्क फुड बैंक र राष्ट्रिय खाद्य सुरक्षा भण्डारणको जिम्मेवारी पाएको खाद्य सुरक्षा तथा व्यापार कम्पनीअन्तर्गत देशका दुर्गम २४ वटा जिल्लामा खाद्यान्न व्यवस्थित तथा सञ्चित गर्न करिब सयवटा खाद्य बिक्री केन्द्र (गोदाम) छन् । चामल, गहुँ र मकै सञ्चित गर्न फुड बैंकका लागि अनुदानसमेत प्राप्त गरे तापनि हाल ६३ वटा गोदाम खाली भएका, ३३ हजार मेट्रिक टन मौज्दात हुनुपर्नेमा हाल सदरमुकाममा १० टन मात्र मौज्दात भएको समाचार बाहिरिएका छन् ।वर्षायाममा हुने बाढी, पहिरो, डुबान तथा भूकम्पजस्ता प्रकोपमा खाद्यसंकटमा सहयोग पुर्याउन र खाद्यसंकटबाट बचाउन जसले जिम्मेवारी वहन गर्नुपर्ने हो, जिम्मेवारी वहन नगर्दा देश खाद्यसंकटको संघारमा पुगेको छ । 
(बस्नेत नेपाल कृषक समूह महासंघका अध्यक्ष हुन्)

सुझावित समाचार