तीव्र रूपमा बढ्न थाल्यो भोकमरी

सन् २०२१ मा विश्वका करिब दुई अर्ब ३० करोडभन्दा बढी मानिसले वर्षभर खाद्यान्न पाउन सकेनन्, जुन सन् २०१४ को भन्दा झन्डै दोब्बर बढी हो

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

सन् २०२१ मा विश्वको करिब ३० प्रतिशत जनसंख्या अर्थात् दुई अर्ब ३० करोडभन्दा बढीले वर्षभर पर्याप्त खाद्यान्न पाउन सकेनन् भने १२ प्रतिशतले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्यो । यसको अर्थ उनीहरूले कैयाैँ दिन भोकै गुजार्नुपर्यो । सन् २०१४ यता यो श्रेणीमा पर्ने मानिसको संख्या झन्डै दोब्बर भएको छ, र यसमा सबैभन्दा बढी वृद्धि सन् २०१९ यता भएको छ ।

सन् २०२१ मा करिब चार करोड ५० लाख मानिस अनिकालको जोखिममा परेका थिए । र, निःसन्देह यी तथ्यांकमा भौगोलिक असमानता छन्, जस्तो कि उत्तर अमेरिका र युरोपको साढे दुई प्रतिशतको तुलनामा अफ्रिकाका २० प्रतिशतभन्दा बढी जनसंख्याले मध्यम एवं गम्भीर खाद्य असुरक्षाको सामना गर्छन् ।

भोकमरीमा पुनरुत्थानको एउटा प्रमुख कारक विगत केही वर्षयता हिंसात्मक द्वन्द्वमा भइरहेको डरलाग्दो वृद्धि हो । युक्रेनमाथिको रुसी आक्रमणले युद्धक्षेत्रभन्दा हजाराैँ माइल परसम्म पनि कसरी युद्धले खाद्य प्रणालीलाई असर गर्न सक्छ भन्ने कुरा उजागर गरेको छ । गत वर्ष आक्रमणको तीन महिनाभित्रै युक्रेनको कृषि क्षेत्र (उसको अर्थतन्त्रको मुख्य आधार) ले २.२ अर्ब डलरदेखि ६.४ अर्ब डलरको क्षति व्यहोरेको थियो । अहिले उसका खेतबारी बारुदी सुरुङ र विस्फोट नभएका बमले भरिएका छन् । किसानहरू या त युद्धको अभियानमा सामेल भए, या विस्थापित । आधारभूत सुरक्षाको अभावले उत्पादनलाई अझ कठिन बनायो । फलस्वरूप सन् २०२२ मा युक्रेनको खाद्यान्न उत्पादन ४० प्रतिशतले घट्यो ।

अझ नराम्रो त के भने युक्रेन विश्व बजारमा खाद्यान्नको सबैभन्दा ठूलो आपूर्तिकर्तामध्ये एक भएकाले यो युद्धले विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढाएको छ । यो समस्याको एउटा पक्ष के छ भने खाद्य प्रणाली बढ्दो रूपमा होमोनाइज्ड हुँदै गएका छन् । गहुँ, मकै र चामलजस्ता तीनवटा मुख्य बालीले विश्वव्यापी रूपमा व्यापार हुने सबै खाद्यान्नको लगभग आधा हिस्सा ओगट्छन् । तिनको उत्पादन मुठीभर तथाकथित ब्रेडबास्केटमा केन्द्रित भएको छ, जसमध्ये एउटा क्षेत्र युक्रेन–रुस हो । सन् २०२१ मा यी दुई देशले अन्तर्राष्ट्रिय खाद्य बजारको लगभग १२ प्रतिशत हिस्सा ओगटेका थिए भने गहुँ र मकैको शीर्ष तीन निर्यातकर्तामा यिनको स्थान थियो ।

भोकमरी र हिंसात्मक द्वन्द्व दुवै डरलाग्दो दरमा बढिरहनु संयोग होइन । खाद्य प्रणालीको बढ्दो अन्तर–आबद्धता एवं एकसूत्रीकरण र युद्ध, जलवायु परिवर्तन तथा अन्य मानव निर्मित समस्याका अवरोधकारी दुष्प्रभावले एक–अर्कालाई खतरनाक र दीर्घकालीन रूपमा नै मलजल गरिरहेका छन् ।

सन् २०२२ भन्दा पहिले रुस कृषि मलको प्रमुख निर्यातकर्ता पनि थियो ।युद्धयता यी दुई देशबाट खाद्यान्न, पशु आहार र मलखादको निर्यातमा भारी गिरावट आएको छ, जसले गर्दा विश्व बजारमा मूल्यवृद्धि भएको छ । सन् २०२१ सम्ममा करिब ३३ मुलुक आफ्नो गहुँ आयातको कम्तीमा ३० प्रतिशत हिस्साका लागि रुस र युक्रेनमा निर्भर थिए । यसबाहेक, तीमध्ये २४ मुलुक जारी द्वन्द्व, जलवायु परिवर्तन र अन्य कारणले गर्दा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमबाट प्राप्त हुने मानवीय खाद्य सहायतामा पनि निर्भर थिए । तर, डब्लुएफपी आफैँ गहुँ आपूर्तिको आधा हिस्साका लागि युक्रेनमा निर्भर थियो । युद्धका कारण डब्लुएफपी आफ्नो मानवीय सहायतका गतिविधिमा उल्लेख्य कटौती गर्न बाध्य भएको छ ।

हामीले यी प्रभावको पूर्ण सामाजिक एवं राजनीतिक प्रभाव साक्षात्कार गर्न बाँकी नै छ । तर, केही मामलामा ती गहिरो हुने अनुमान गर्न सकिन्छ । कमजोर एवं विपन्न मुलुकमा खाद्यान्न अभाव हतियारीकरण भएको लामो इतिहास छ । खाद्य पदार्थको उच्च मूल्यले राजनीतिक उथलपुथल वा क्रान्तिलाई पनि प्रेरित गरेको छ (एक दशकअघिको अरब क्षेत्रको वसन्त क्रान्तिलाई नै लिऔँ) । खाद्य प्रणाली, खाद्य असुरक्षा र द्वन्द्वको गतिशीलता सबै असंख्य बाह्य कारकप्रति संवेदनशील छन् । उदाहरणका लागि, कोभिड–१९ महामारीले १० करोडभन्दा बढी मानिसलाई चरम गरिबीमा धकेलेको देखिन्छ, जसले उनीहरूको सुरक्षित, पर्याप्त र पोषिलो खानाको सुनिश्चियको क्षमतामा असर पार्नेछ ।

यसबाहेक, जलवायु परिवर्तन र अन्य वातावरणीय संकटले खाद्य सुरक्षा र शान्ति दुवैलाई कमजोर बनाएर आगोमा घ्यू थपिरहेका छन् । रुसी आक्रमणले युक्रेनी कृषिलाई धराशयी बनाइरहेको सन् २०२२ मा बाढी, खडेरी र अन्य चरम मौसमी घटनाले विश्वका अन्य धेरै भागमा उत्पादन घटाइरहेको थियो भने विश्व खाद्य बजारमा आघात बढाइरहेको थियो ।जसकारण, सन् २०२२ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले विश्वव्यापी खाद्यान्न उत्पादन, मौज्दात र व्यापार तीन वर्षयताकै न्यून स्तरमा झर्ने प्रक्षेपण गर्यो ।

चरम मौसमी घटनाको आवृत्ति र तीव्रतामा वृद्धिका साथै, जलवायु परिवर्तनले गर्दा विशेष बाली उब्जने क्षेत्रमा पनि परिवर्तन ल्याइरहेको छ । बढ्दो तापक्रम र अन्य वातावरणीय परिवर्तनका कारण किरा एवं बालीसम्बन्धी रोग अझ सजिलै र व्यापक रूपमा फैलिन थालेको देखिन्छ । मरुभूमीकरण, माटोको क्षयीकरण र एन्टिमाइक्रोबियल प्रतिरोधले खाद्य उत्पादनमा खतरा उत्पन्न गरेका छन् । वातावरणीय संकट र द्वन्द्वबीचको सम्बन्ध बढ्दो रूपमा देखिएको छ, जसमध्ये प्रत्येकले अर्काेलाई बलियो बनाउन र सरकार र अर्थव्यवस्थाका भावी आघात सहने वा रोक्ने क्षमतालाई नष्ट गर्न सक्छ ।

यी अन्तरसम्बन्धित संकटका कारण विश्वको एक प्रतिशतभन्दा बढी जनसंख्या अहिले जबर्जस्ती विस्थापित भएको छ । उनीहरूमध्ये अधिकांश या त अस्थायी शिविरमा पुगेका छन् वा निम्न एवं मध्यम आय भएका देशका नयाँ समुदायमा छरिन पुगेका छन् । सन् २०२१ मा आन्तरिक रूपमा विस्थापित भएका करिब ८२ प्रतिशत र शरणार्थीमध्ये ६७ प्रतिशत खाद्य संकटको चपेटामा परेका देशबाट थिए । यसैगरी त्यस वर्ष ४० प्रतिशत शरणार्थी खाद्य संकटमा रहेका देशमा नै शरण लिन पुगेका थिए । 

बढ्दो खाद्य असुरक्षा, द्वन्द्व र जलवायु परिवर्तनले यी आँकडालाई अझ बढाउनेछन् । सन् २०२२ मा विश्वव्यापी रूपमा विरोध र आन्दोलनको अभूतपूर्व लहर आएकोमा कुनै आश्चर्य छैन । इजिप्ट, लेबनान र ट्युनिसियालगायत रुस र युक्रेनबाट खाद्यान्न आयातमा अत्यधिक निर्भर मुलुक यो युद्धपछि नागरिक अशान्तिको उच्च जोखिममा रहेको आकलन गरिन्छ । थुप्रै देशमा, खाद्य ( र ऊर्जा) को मूल्य र अभावका विरोधमा भएका प्रदर्शन ठूलो राष्ट्रिय राजनीतिक संकटमा परिणत भएका छन् । अतिवादी राजनीतिक आन्दोलनले मानिसलाई आकर्षित गर्न यो असन्तुष्टिको फाइदा उठाइरहेको र राजनीतिक स्थिरतालाई थप खतरामा पारिरहेको संकेत मिल्छ ।

सौभाग्यवश, यी सबै विनाशकारी प्रवृत्ति उल्ट्याउन सकिने खालका छन् । हिंसात्मक द्वन्द्व अनिवार्य होइन, यो त छनोट हो । यो हामी सबैलाई सुरक्षित राख्ने मूल्यको सम्मान, कूटनीति र सम्झौताको असफलता हो । यसैगरी, प्राकृतिक विश्वमाथिको दबाबलाई कम गर्ने कुरा पनि हाम्रै वशमा छ । कमजोर समाजलाई वातावरणीय क्षतिका दुष्प्रभावको सामना गर्न मद्दत गर्ने कुरा पनि हाम्रै वशमा छ । 

विश्वव्यापी जनसंख्या बढ्दै जाँदा भोकमरीविरुद्धको लडाइँ जित्न लचिलोपन निर्माण गर्नु आवश्यक हुनेछ । तर, बढ्दो रूपले अन्तरसम्बन्धित र अशान्त हुँदै गएको विश्वमा अर्काे संकटको भविष्यवाणी गर्न अझ गाह्रो काम हुँदै छ । आजको द्वन्द्वको अन्त्य गर्न र भविष्यमा त्यस्तो हुन नदिन हामीले जति धेरै काम गर्न सक्छौँ, त्यति नै खाद्य असुरक्षालाई पनि सम्बोधन गर्न सक्नेछौँ ।

See More On

सुझावित समाचार