लम्पी स्किन रोगले हालसम्म २१ हजार पशु मरे, नियन्त्रणमा छैन ठोस पहल

कर्णाली प्रदेशमा भयावह बन्दै लम्पी स्किन, सुदूरपश्चिममा सबैभन्दा धेरै पशु मरे

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

पछिल्लो समय पशु देखिएको लम्पी स्किन संक्रमणका कारण किसानहरू त्रसित भएका छन् । हालसम्म यस संक्रमणका कारण २१ हजार चार सय ३१ वटा पशु मरिसकेका छन् । पशु विभागका अनुसार हालसम्म ६ लाख आठ हजार दुई सय २५ पशु संक्रमित भएका छन् । जसमध्ये एक लाख ३६ हजार पशुमा खोप लगाइएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै पशु संक्रमित भएको विभागले जनाएको छ । उक्त प्रदेशमा हालसम्म एक लाख ८७ हजार आठ सय ३९ पशु संक्रमित छन् । संक्रमणका कारण सुदूरपश्चिममा नौ हजार एक सय ९१ पशुको मृत्यु भएको छ । कोसी प्रदेशमा भने हालसम्म सबैभन्दा धेरै संक्रमित पशुलाई खोप लगाइएको पशु विभागले जनाएको छ । विभागका अनुसार हालसम्म कोसी प्रदेशमा ७२ हजार ४९ खोप लगाइएको छ ।

 नियन्त्रण गर्न छैन सरकारको ठोस तयारी 
लम्पी स्किनको बढ्दो संक्रमण ग्राफसँगै पशु मर्नेको संख्या बढिरहँदा सरकार नियन्त्रणका लागि गम्भीर भएको देखिँदैन । समयमै किसानलाई खोपको बारेमा जानकार नहुँदा धेरै पशु मरेको किसान महासंघ समूहका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए । उनले भने, ‘संक्रमण गाउँ–गाउँमा तीव्र गतिमा फैलिएको छ, कतिपय किसानलाई रोगको बारेमा थाहा नहुँदा र खोप समयमै उपलब्ध नहुँदा धेरै क्षति हुन पुगेको हो ।’ रोगको बारेमा थाहा नहुने धेरै पशुहरू एकैगोठमा बाँधिने हुँदा संक्रमण दर अझ बढेको उनको भनाइ छ । 

विशेष गरी यस रोगको संक्रमण गाई, भैँसी, राँगा, बाछाबाछी, पाडापाडीमा सर्ने विभागले जनाएको छ । लामखुट्टे, किर्ना भुसुना, रगत चुस्ने झिँगालगायत संक्रमणबाट एकबाट अर्को पशुमा सर्ने हुँदा छिटो संक्रमणको दर बढेको विभागको  भनाइ छ । नेपाल पशु विभागका डा. चन्द्रप्रसाद ढकालले खोप लगाउने र प्रचारप्रसारको कामलाई निरन्तरता दिएको जिकिर गरे ।

गर्मी महिनामा निकै फैलिने यो रोग लामखुट्टे, रगत चुस्ने झिँगालगायतबाट बचाउनुपर्ने र खोपको आपूर्ति व्यवस्था बढाउने प्रयास भइरहेको उनको भनाइ छ । डा. ढकालले भने, ‘हामीले सातवटै प्रदेशमा टोली खटाएर स्थानीयस्तरबाट खोपलाई प्राथमिकता दिएका छौँ, एकैपटक नियन्त्रण आउन त सक्दैन, तर अहिलेको विकल्प, किसानलाई रोगको बारेमा जानकारी र रोगको प्राथमिक उपचार र खोप नै अन्तिम हो ।’

ठ्याक्कै उपचार हालसम्म छैन
डा. चन्द्र ढकाल, प्रवक्ता, पशु विभाग

यो एक प्रकारको भाइरस हो । यसको ठ्याक्कै उपचार हालसम्म छैन । त्यसैले खोपसँगै किसान आफैँले यसलाई हेरचाह गरी संक्रमणबाट बचाउनुपर्छ । यो अहिले नै तत्काल घटिहाल्छ भन्ने होइन ।हामीले अहिले स्थानीय तहबाटै टोली खटाएर, किसानलाई परामर्श र रोग नियन्त्रणका उपाय र यसको प्राथमिक उपचारबारे जानकारी दिने र खोपको आपूर्तिलाई सहज बनाउने प्रयास गर्दै छौँ ।

सुझावित समाचार