सपना पूरा गर्न सन्न्यास फिर्ता लिइन् कारोलिनले

पूर्व एक नम्बर महिला खेलाडी कारोलिनले ग्रान्डस्लाम उपाधि जित्न तीन वर्षपछि सन्न्यास फिर्ता लिएकी छिन्

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

तीन वर्षअघि एटिपी महिला वरीयताकी पूर्व एक नम्बर खेलाडी कारोलिन वाज्नियाकीले सन्न्यास लिएकी थिइन् । उत्कृष्ट फर्ममा रहँदा कारोलिनको सन्न्यास अप्रत्याशित थियो । त्यसवेला धेरैले उनलाई सन्न्यास लिन नहुने सुझाव दिएका थिए । तर, उनले तत्काल व्यक्तिगत सपना पूरा गर्न सन्न्यास लिएको प्रतिक्रिया दिएकी थिइन् । तीन वर्षपछि कारोलिनले आफ्नो पूर्ववत् निर्णय परिवर्तन गर्दैै सन्न्यास फिर्ता लिएकी छिन् । 

कारोलिनले अहिले सक्रिय टेनिसमा फर्कने घोषणा गरिरहँदा सबैले अप्रत्याशित नै मानेका छन् । ३२ वर्षीया कारोलिनले टेनिसमा बाँकी रहेको अधुरो सपना पूरा गर्न नै सन्न्यास फिर्ता लिएको जनाएकी छिन् । यही अगस्टमा क्यानेडियन ओपन टेनिसमा उनले सहभागिता जनाउने बताएकी छिन् । मान्टेरियलमा हुने क्यानेडियन ओपनलाई उनले युएस ओपनको तयारीका रूपमा लिएकी छिन् । गत अक्टोबरमा दोस्रो सन्तानकी आमा बनेपछि कारोलिनले टेनिसमा फर्कने इच्छा देखाएकी थिइन् । 

अघिल्लोपटक सन्न्यास लिँदा उनले परिवार समय र सन्तानलाई समय दिने बताएकी थिइन् । उनको ती सपना पूरा भइसकेको छ । यसै कारण कारोलिनले अब टेनिसमा बाँकी रहेका सपना पूरा गर्न सन्न्यास फिर्ता लिएको बताइन् । ‘यो तीन वर्षको अवधिभित्र मैले परिवारलाई पूरै समय दिएँ, ती समय म निकै खुसी भएकी थिएँ, तर सँगसँगै आफ्नो टेनिस करिअर गुमाएँ,’ कारोलिनले भनिन्, ‘अहिले ती गुमाएका क्षण पुनः प्राप्ति र जित्न नसकेको उपाधि हात पार्ने योजना छ ।’ 

खेलबाट सन्तानलाई प्रेरणा दिने 
कारोलिनको अर्को चाहना भनेको आफ्ना दुई सन्तानलाई पनि टेनिस वा अन्य कुनै खेलमा सक्रिय बनाउनु नै हो । उनले 
आफ्नो खेलबाट दुई सन्तानलाई खेलप्रति आकर्षित गराउने जनाइन् । ‘म दुई सन्तानकी आमा हुँ, घरपरिवारसँगै एक आमा कसरी खेलकुद खेल्छिन् भन्ने देखाउने उद्देश्य हो,’ उनले भनिन्, ‘उनीहरू (सन्तान)ले पनि यो बुझनुपर्छ कि सपना कहिल्यै पनि अधुरो हुँदैन, सानै वेलादेखि हेर्नुपर्छ, त्यसको प्राप्तिका लागि हिँड्नुपर्छ ।’ 

कुनै पनि सपना वा चाहना प्राप्तिका लागि उमेर छेकबार नहुने उनको भनाइ छ । ‘तपाईं एउटा सपना देख्दै हुनुहुन्छ भने त्यसमा उमेरको प्रश्न आउँदैन, कुनै पनि उमेरमा त्यो चाहना पूरा गर्न सक्नुहुन्छ,’ तर्क प्रस्तुत गर्दै उनले भनिन्, ‘परिवारकै लागि मैले एक समय एउटा निर्णय लिएँ, अब करिअर अगाडि बढाउन अर्को निर्णय लिएकी हुँ, समयले कसैलाई प्रतीक्षा गर्दैन ।’  सन् २०१८ मा कारोलिनले एक मात्र ग्रान्डस्लाम उपाधिका रूपमा अस्ट्रेलियन ओपन जितेकी थिइन् । 

See More On

सुझावित समाचार