जिम्बावेसँग ओमान १४ रनले पराजित

ग्लोबल एकदिवसीय विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा जिम्बावेले प्रस्तुत गरेको तीन सय ३३ रन पछ्याएको ओमानले नौ विकेट गुमाएर तीन सय १८ रन मात्र बनायो

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत बिहीबार सुपर सिक्समा जिम्बावेले ओमानलाई १४ रनले हराएको छ । सुपर सिक्सको पहिलो खेलमा जिम्बावेले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३२ रन जोडेको थियो । एसोसिएट राष्ट्र ओमानले ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय १८ रन जोड्यो । जितसँगै जिम्बावेले दुई अंक जोडेको छ । जिम्बावे बोनस चार अंकका साथ सुपर सिक्समा प्रवेश गरेको हो । ओमान समूह ‘बी’मा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा छनोट भएको हो । सुपर सिक्समा छनोट हुँदा ओमानले अंक बटुलेन । 

अन्तिम ६ बलमा २९ रन आवश्यक
ओमानले जिम्बावेलाई इनिङ्सको अन्तिम ओभरसम्मै चुनौती दिएको थियो । अन्तिम ओभरमा ओमानलाई २९ रन आवश्यक थियो । ओमानका जिसन मक्सुदले छक्का प्रहार गर्दै जिम्बावेमाथि दबाब राख्यो । तर, टेन्र्ड चतराको कसिलो बलिङमा ओमानका ब्याट्सम्यानले थप बाउन्ड्री लगाउन सकेनन् । 

४९.६ ओभरमा मुक्सुद स्लिपमा क्याचआउट भए । उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरी ३७ रनको योगदान दिए । मोहमद नदिमले १८ बलमा चार चौका र एक छक्का प्रहार गरी ओमानलाई जितको आशा दिलाएका थिए । चतराले ८ ओभरमा ७३ रन खर्चंदै तीन विकेट लिए । रिचार्ड गराभाले ६० रन दिँदै दुई विकेट हात पारे । ओमानले अन्तिम ओभरमा १४ रन बटुलेको थियो । 

ग्लोबल छनोटमा सिनको तेस्रो शतक
एकदिवसीय ग्लोबल छनोटमा जिम्बावेका ब्याट्सम्यान सिन विलियम्स उत्कृष्ट फर्ममा छन् । उनले छनोट खेलमा तीनपटक शतकीय इनिङ्स खेलेका छन् । ओमानसँगको सुपर सिक्समा उनले एक सय ४२ रनको शतकीय इनिङ्स खेले । यसक्रममा उनले एक सय तीन बलमा १४ चौका र तीन छक्का प्रहार गरे । छनोटअन्तर्गत सिनले नेपालसँगको प्रतिस्पर्धामा एक सय २ रन बनाए । यसैगरी, अमेरिकाविरुद्ध उनले एक सय ७४ रनको योगदान दिए ।

नेदरल्यान्ड्ससँगको भिडन्तमा सिनले ९१ रनको महत्वपूर्ण इनिङ्स खेले । ओमानसँगको खेलमा सिनले सिकन्दर राजासँग चौथो विकेटका लागि एक सय दुई रनको साझेदारी गर्दै जिम्बावेलाई ११२–३ बाट २१४–४ को बलियो अवस्थामा पुर्याए । सिकन्दरले ४९ बलमा ४२ रन जोड्दा ६ चौका प्रहार गरे । इनिङ्सको ४४.५ ओभरमा सिन आउट हुँदा जिम्बावे २७६/६ को अवस्थामा थियो । उनी बटको ओभरमा आउट भए । 

जिम्बावेको बलियो ब्याटिङ
प्रतियोगितामा जिम्बावे अपराजित रहेको छ । जिम्बावेले आफ्ना प्रत्येक विपक्षीविरुद्ध दरिलो ब्याटिङ प्रदर्शन गरेको छ । यसैक्रममा जिम्बावेले ओमानविरुद्ध पनि यस्तै प्रदर्शन गर्यो । ओपनरद्वय जोयलोर्डले ३४ बलमा २१ रन बनाए । क्रेज इर्भिनले ४० बलमा २५ रन बनाए । त्यसपछि वेस्लीले २६ बलमा २३ रन जोडे । जुक जोन्गवे नटआउट रहँदै २८ बलमा ४३ रनको योगदान दिए । उनले चार चौका प्रहार गरेका थिए । ११औँ क्रमका ब्याट्सम्यान रिचार्ड गाराभाले ११ रन जोडे । बलिङका क्रममा फायाज बटले ७० रन खर्चंदै चार विकेट लिए । 

कश्यपको शतक ओझेलमा
विशाल लक्ष्य पछ्याएको ओमानका लागि ओपनर कश्यप प्रजापतिले शतकीय इनिङ्स खेलेका थिए । यद्यपि, उनको शतकीय इनिङ्सका बाबजुद ओमानले जिम्बावेमाथि अप्रत्याशित नतिजा निकाल्न सकेन । कश्यपले ९७ बलमा एक सय तीन रन बनाए । उनले आफ्नो इनिङ्समा १२ चौका र एक छक्का प्रहार गरेका थिए ।

ओमानका लागि अकिब इलियासले ६१ बलमा ४५ रन बनाएका थिए । कश्यप र इलियासबीच दोस्रो विकेटका लागि ८३ रनको साझेदारी भएको थियो । कश्यप आउट हुँदा ओमान ३४.५ ओभरमा १९०÷३ को अवस्थामा थियो । मध्यक्रमका आर्यन खानले ४३ बलमा पाँच चौकाको सहयोगमा ४७ रन बनाए । 

सुझावित समाचार