उच्च अदालत पाटनले भारतीय चलचित्र रोक नलगाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को नाममा जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
मंगलबार दुवै पक्षको बहस सुनेपछि न्यायाधीशहरू हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलको इजलासले अन्तरिम आदेश जारी गरेको हो। यसअघि धीरबहादुर चन्दको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
मंगलबारको आदेशमा अदालतले महानगरपालिकाका मेयरलाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने अधिकार नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
भारतीय चलचित्र आदिपुरुषमा समावेश आपत्तिजनक शब्द हटाउनुपर्ने भन्दै मेयर साहले फिल्म सञ्चालनमा प्रतिबन्ध लगाएका थिए।
उच्च अदालतले आदिपुरुषमा समावेश भएको आपत्तिजनक शब्दको विषयलाई लिएर उक्त फिल्मका निर्माताबाहेकका अन्य फिल्म निर्माताहरूबाट निर्मित अनुमतिप्राप्त भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने अधिकार मेयरलाई नभएको बताएको छ।
‘स्थानीय सरकार सञ्चालन ऐन ०७४ लगायत प्रचलित कानुनले अधिकार प्रदान गरेको नदेखिँदा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म अनुमति प्राप्त भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने कार्य नगर्नु नगराउनू’ आदेशमा भनिएको छ।