कर्पोरेट पेमार्फत एक महिनामै ५० अर्बको कारोबार

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

कर्पोरेट पे प्रणालीले एक महिनामै ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार फस्र्योट गरेको छ । चालू आर्थिक वर्षको जेठ महिनामा भएको यो कारोबार कर्पोरेट पे सञ्चालन भएको महिना माघ ०७७ देखियताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो ।

गत आर्थिक वर्ष कुल एक खर्ब नौ अर्ब ५० करोड रुपैयाँबराबरको भुक्तानी कारोबार फस्र्योट भएकोमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा चार खर्ब ४२१ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फस्र्योट भइसकेको सञ्चालक कम्पनी एनसिएचएलले जनाएको छ । बैंक–वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले सहज रूपमा कर्पोरेट पेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले वृद्धि भएको कम्पनीको भनाइ छ । 

हाल शैक्षिक संस्थाहरू, कन्स्ट्रक्सन कम्पनीहरू, ट्राभल व्यवसायीहरू, रिटेल व्यवसायीहरूलगायतका विभिन्न संस्थागत ग्राहकले कर्पोरेट पे प्रयोग गर्ने गरेको कम्पनीको दाबी छ । ४७ बैंक–वित्तीय संस्थाहरूमार्फत उक्त प्रणालीमा बैंक–वित्तीय संस्थाका सात हजार सात सयभन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भई कारोबार गर्दै आएको जनाइएको छ । 

एउटै प्लेटफर्ममा एकभन्दा बढी बैंक खाता लिंक गरी कारोबार गर्न सक्ने व्यवस्था रहेको यस प्रणालीमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी गर्न सकिने उल्लेख छ । त्यस्तै, नेपाल आयल निगम, भन्सार विभाग, बिमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानीहरू उपलब्ध रहेको जनाएको छ । 

सुझावित समाचार