भलिबल लिग २३ असारदेखि

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

नेपाल भलिबल संघ (एनभिए)ले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २३ देखि ३० असारसम्म आयोजना गर्ने भएको छ । संघले सोमबार सातौँ संस्करणको खेल मिति र सहभागी टोली घोषणा गरेको हो । भलिबल संघले आयोजना गर्ने यो ठूलो प्रतियोगिता हो । यसबाहेक केही क्लब र संस्थाले प्रतियोगिता आयोजना गर्दै आएका छन् । संघले लिगमा एक क्लबले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम राखेको छ । च्याम्पियन टोलीले आगामी डिसेम्बरमा नेपालमै आयोजना हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा सहभागी हुन पाउने एनभिएका अध्यक्ष जितेन्द्र चन्दले जानकारी दिएका छन् । 

१४ क्लब सहभागी 
गत ३ माघमा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनोट भएका १४ क्लबबीच लिग हुनेछ । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ १५ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । छनोट प्रक्रियाबाट लिगमा पुरुषतर्फ ८ र महिलामा ६ टोली छनोट भएको अध्यक्ष चन्दले बताए । पुरुषतर्फ साबिक विजेता हेल्प नेपाल स्पोर्टस् क्लब, उपविजेता त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस, दावाँली मिलन क्लब, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ स्पोर्टस् रामेछाप रहेका छन् ।

 राखेप कभर्डहलमा भएको अन्तिम खेलमा हेल्प नेपालले आर्मीलाई ३–० को सेटमा हराएको थियो । हेल्प नेपालले तीन पाकिस्तानी र तीन भारतीय सेनामा आबद्ध खेलाडी मैदान उतारेपछि राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मी निराश बनेको थियो । महिलातर्फको च्याम्पियन नेपाल पुलिस उपविजेता न्यु डायमन्ड युथ स्पोर्टस्, नेपाल एपिएफ, त्रिभुवन आर्मी, एभरेस्ट भलिबल र गण्डकी प्रदेश भलिबल संघले भाग लिनेछन् । महिला फाइनलमा न्यु डायमन्डलाई ३–२ को रोमाञ्चक सेटमा हराउँदै पुलिसले एक दशकपछि उपाधि जित्न सफल भएको हो । 

विजेतालाई ६ लाख
संघले प्रतियोगिता आयोजना गर्न अनुमानित ७५ लाख लाग्ने जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट लिग सञ्चालनका लागि ४० लाख सहयोग भएको छ । दुवै विधाका विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । चौथो स्थानले ७५ लाख पाउनेछ । सर्वाेत्कृष्ट खेलाडीले जनही ३५ हजार पाउनेछन् । विधागततर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार पाउने संघले जनाएको छ । 

सुझावित समाचार