एनएमबि बैंकले बिहीबारदेखि नेपालमा पहिलोपटक डिजिटल प्लेटफर्म ‘वी च्याट पे’ सेवा सुरु गरेको छ । चिनियाँपर्यटकलाई लक्षित गर्दै चीनको डिजिटल वालेट वी च्याट पे सेवा एनएमबिले टेन्सेन्ट होल्डिङ्सको सहकार्यमा आधिकारिक रूपमा पहिलोपटक नेपाली बजारमा भित्र्याएको हो । चिनियाँ पर्यटकले यो सेवामार्फत नेपालमा सजिलै भुक्तानी गर्न सक्नेछन् । पोखरामा आयोजित एक कार्यक्रमबीच नेपालका लागि चिनिया राजदूत छेन सोङले क्युआर कोड स्क्यान गरी ‘वी च्याट पे’ सेवा सुरु गरेका हुन् ।
नेपाल घुम्न आएका चिनियाँ पर्यटकलाई क्यासलेस कारोबारका लागि सहजता प्रदान गर्ने उद्देश्यसहित सेवा सुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले जानकारी दिए । नेपाल घुम्न आएका चिनियाँ पर्यटकको साथमा भएको नगद सकिए पनि थप पैसा खर्च गर्नका लागि डिजिटल माध्यम ‘वी च्याट पे’मार्फत आवश्यक रकम भुक्तानी गर्न सक्ने उनले बताए । चिनियाँ पर्यटकले खानादेखि ट्याक्सीलगायत अन्यको बिल स्मार्ट फोनबाट सीधै भुक्तानी गर्न सक्ने उनको भनाइ थियो । ‘वी च्याट पे’मा चिनियाँ बैंकदेखि नेपालको एनएमबि बैंकसँग सीधै आर्थिक कारोबार हुने यो सेवा सुरक्षित रहेको भन्दै केसीले भुक्तानी गर्दा आधिकारिक रूपमा बैंकिङ प्रणालीमार्फत सम्बन्धित सेवाप्रदायक अर्थात् विक्रेताले प्राप्त गर्न सक्ने बताए ।
कार्यक्रममा राजदूत सोङले ‘वी च्याट पे’ नेपालमा सुरु भएसँगै नेपालका व्यवसायीलाई कारोबारका लागि सहज हुने बताए । नेपाल घुम्न आएका चिनियाँ पर्यटकले ‘क्युआर कोड’ स्क्यान गरी ‘वी च्याट वालेट’बाट भुक्तानी गर्न सक्ने भएकाले यसले व्यवसायलाई अवसरको बाटोसमेत खोलेको सोङको भनाइ थियो । चीनका एक अर्ब १० करोडभन्दा बढीले यो सेवा प्रयोग गर्ने जानकारी दिँदै सुरु भएको सेवाका कारण चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकका लागि नयाँ अवसर सिर्जना गरेको उनले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो सेवाले पर्यटकको पकेटको पैसा सकिए पनि थप पैसा खर्च गर्न बाटो खोलेको बताए । नेपालमा आउने चिनियाँ पर्यटकको संख्या बढाउनका लागि समेत यसले केही सहयोग गर्ने भनाइ उनको थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले यो सेवाले नेपाली व्यवसायीसँगै चिनियाँ पर्यटकलाई सहज हुने बताए । अब चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले चिनियाँ पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई यो सेवामार्फत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त एनएमबिले नेपालमा सीधै आधिकारिक रूपमा कारोबार गर्न सक्ने जानकारी दिए । यो सेवा डिजिटल बैंकिङमा एक फड्को भएको तथा यसले नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने उनले विश्वास व्यक्त गरे ।