मिडियालाई प्रश्न–सयौँ शरणार्थीको भन्दा पाँच धनाढ्यको जीवन महत्वपूर्ण हो ?

हामी यस्तो संसारमा बसिरहेका छौँ, जहाँ गरिब, कमजोर र युद्धपीडितको मृत्युलाई शोकयोग्य मानिँदैन

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

गत हप्ताका दुई समुद्री दुर्घटनाप्रति विश्वव्यापी मिडिया कभरेज र चासोमा स्पष्ट असमानता देखियो । दुईमध्ये एउटा दुर्घटनामा ग्रिसको तटबाट करिब ९२.६ किमि टाढा भएको एक माछा मार्ने जहाजको हो । जहाजमा ७५० भन्दा बढी व्यक्ति सवार थिए, जसमध्ये अधिकांश अझै बेपत्ता छन् र धेरैको बाँच्ने सम्भावना अब असम्भव बन्दै गएको छ । अर्को दुर्घटना पाँचजना मानिस बोकेको टाइटन नामको एउटा सानो पनडुब्बीसँग सम्बन्धित छ ।

क्यानडाको तटबाट करिब ६८५ किमि पर आन्द्र सागरमा हराएको यो पनडुब्बी यो आलेख लेख्दासम्म फेला परेको छैन । हराइरहेको टाइटनको खोजीमा अमेरिका र क्यानडाका तटरक्षक, फ्रेन्च उद्धार टोली, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसमेत सम्मिलित ठूलो सर्च–अभियान चलिरहेको छ । र, विश्वभरका मिडिया, त्यसमा पनि विशेष पश्चिमी मिडियामा यस पनडुब्बीप्रति ठूलो रुचि देखिएको छ । कत्तिले त पनडुब्बीको स्थितिबारे चौबिस घन्टा अपडेट गराइरहेका छन् । 

आप्रवासी बोकेको डुंगा दुर्घटनाबारे समाचार नआएको होइन, तर त्यसले आवश्यक महत्व पाएन । आखिरमा त्यो ‘बारम्बार नआउन चेतावनी दिँदादिँदै पनि युरोप नामको किल्ला प्रवेश गर्न जोखिमपूर्ण यात्रा गरिरहेका ‘अवैध’ खैरा मानिसहरू सवार अर्को एक डुंगा’ न थियो । ग्रिक तटरक्षक अहिले जहाज खतरा रहेको स्पष्ट सूचना पाएको घन्टाैँपछि मात्र प्रतिक्रिया दिएको विषयमा विवादमा फसेको छ ।

टाइटन पनडुब्बीको उद्धार प्रयासमा लागिरहेको बहुराष्ट्रिय प्रयासविपरीत शरणार्थी सवार जहाजलाई थोरै मात्र मद्दत प्राप्त भएको थियो । ह्युमन राइट्स वाचले यस्ता घटनाबारे टिप्पणी गर्दै भनेको छ– ‘डुंगाले खतराको सूचना दिँदा पनि युरोपेली सीमा तथा तटीय गार्डका जहाजहरू ती नजिक गस्ती गर्दैनन् । खासमा युरोपेली तटीय गार्ड शरणार्थी सवार जहाजलाई अवरोध गर्न र फिर्ता गर्न हवाई निगरानी सञ्चालन गर्दछ, उद्धार गर्न होइन ।’

निजी स्वामित्वको साहसिक पनडुब्बीमा सवार पाँचजनामध्ये हरेकले त्यसको सवारीका लागि करिब अढाई लाख डलर तिरेका हुन सक्छन् । पनडुब्बीमा सवार पाँचजनामा एकजना बेलायती अर्बपति हमिस हार्डिङ पनि छन् । समाचारमा आएअनुसार हार्डिङबाहेक वाहनमा पाकिस्तानी मूलका ब्रिटिस व्यापारी सहजादा दाउद, दाउदका छोरा सुलेमान, फ्रान्सेली अन्वेषक पल–हेनरी नार्गोलेट । र, ओसनगेट नामक फर्मका प्रमुख कार्यकारी स्टकटन रस थिए । यता लिबियाबाट शरणार्थी बोकेर इटली जाँदै गरेको माछा मार्ने जहाजमा सवार साढे सात सयमध्ये आधाभन्दा बढी पाकिस्तानी थिए । अरू यात्रु सिरिया, लिबिया र अन्य उत्तर अफ्रिकी मुलुकका हुन सक्छन् । 

अनुहारविहीन र पहिचानविहीन हजारौँ विपन्न मानिस हरेक वर्ष जोखिम मोलेर युरोप प्रवेश गर्न खोज्छन् । सन् २०१४ यता यसमध्ये २५ हजारको भूमध्यसागरमा डुबेर ज्यान गइसकेको छ, सन् २०२२ मा मात्र १२ सयको ज्यान गएको थियो । पश्चिममा यति विशाल मानवीय क्षति मात्र खैरो अनुहार भएको मानिसको मृत्युको तथ्यांकमा बदलिएको छ ।

ती पनि हरेक हिसाबमा उच्च प्राविधिक उद्धार प्रयासका लागि योग्य छन् । तर, यथार्थमा भने उनीहरू ‘अवैध’का रूपमा अपराधीकरण भोगिरहेका छन् भने तिनका उद्धारकर्ताले अवैध शरण खोज्नेलाई सघाउने ‘मतियार’को आरोप पाउँछन् । यो असमानता किन ? यसको सीधा तर निराशाजनक जवाफ यही हुन्छ कि हामी यस्तो संसारमा बसिरहेका छौँ, जहाँ धेरैको जीवनभन्दा केही थोरैको जीवन महत्वपूर्ण हुन्छ, जुन असमानता भूराजनीतिक, वर्ग, जाति र जातीय रेखाबाट थप तीव्र हुने गर्छ । गरिब, कमजोर र युद्धपीडितको मृत्यु त्यति शोकयोग्य छैन, जति ‘अन्वेषक’ वा ‘साहसी’ भनेर चिनिने र महँगा निजी समुद्र यात्रा गर्ने धनाढ्य गोरा मानिसका लागि शोक गरिन्छ । 

हामी यस्तो संसारमा बसिरहेका छौँ, जहाँ गरिब, कमजोर र युद्धपीडितको मृत्युलाई शोकयोग्य मानिँदैन

यो असमानता हामी र मिडियाले आफैँलाई बताउने गरेका कथामार्फत बनाइएको छ । साथमा यसलाई कुन समूहका मानिस नायकका रूपमा चित्रित गरिन्छ भन्ने कुराले निर्धारण गर्छ । युरोपेली सञ्चार माध्यममा शरणार्थीको चर्चा गर्दा तिनले प्रस्थान बिन्दु(आफ्नो देश–ठाउँ)मा सामना गर्ने खतराबारे प्रायः उल्लेख गरिँदैन । उनीहरूलाई सामूहिक रूपमा ‘आर्थिक आप्रवासी’ (भन्न खोजेको ‘लोभी’) भनेर चित्रण गरिन्छ वा युरोपको लोककल्याणकारी समाजमा प्रवेश गर्नका लागि झुटो दाबी पेस गर्ने समूहका रूपमा चित्रित गरिन्छ । उनीहरू युरोप प्रवेश गर्नका लागि अपराधीहरूलाई नचिन्ने र त्यही कारणले पैसा दिने मूर्ख पनि मानिन्छन् । यी चित्रणले शरणार्थीहरू युरोप यात्राको क्रममा सामना गर्ने दुःखका लागि आफैँ जिम्मेवार छन् भन्ने संकेत गर्छ । 

उता टाइटनमा सवार पाँच मानिसमाथि भने सुरुदेखि नै वीरता र बहादुरीजन्य संज्ञा दिइएको छ । ती पुरुषलाई ‘अन्वेषक’ र ‘साहसिक’ भनेर चिनाइएको छ, जुन औपनिवेशिक कथामा परिचित ती समूहको झझल्को दिलाउँछ, जहाँ हेल्मेट लगाएका साहसी पुरुषहरू पहिले कसैले जाने आँट नगरेको स्थानमा जान खोज्छन् (भलै तिनले ‘खोज गरेको’ स्थानमा पहिले नै बसोवास हुन्थ्यो) । यस्तो महँगो र सामान्यतया अनावश्यक अभियानबाट आजको सन्दर्भमा नयाँ क्षितिज उजागर हुने आशा धेरै छैन । किनकि यी अभियान व्यक्तिगत सन्तुष्टिका लागि गरिन्छन् । रिचर्ड ब्रान्सन र एलोन मस्कजस्ता अर्बपतिले रमाइलोका लागि गरेको अन्तरिक्षयात्रा यसैको अर्को उदाहरण हो । 

धेरै शरणार्थीले युरोप यात्राका क्रममा हुन सक्ने मृत्युलाई स्विकारेका हुन्छन् । यद्यपि उनीहरूका लागि यो साहसिक कृत्य गरेर हुने मृत्यु होइन । ‘यदि म अहिले मरेँ भने म विनाकुनै पछुतो मर्नेछु, मैले छाडेर आएको ठाउँ नरक थियो, नरकभन्दा कम थिएन,’ सन् २०२० मा भूमध्य सागरमा भिडभाडयुक्त रबरको डुंगाबाट उद्धार गरिएपछि लिबिया छाडेका एक शरणार्थीले भनेका उक्ति हुन् यी ।

शरणार्थीले नरकजन्य परिस्थिति छाडेर नयाँ देश दुनियाँमा नयाँ जीवन खोज्ने साहसको बिरलै प्रशंसा हुने गर्छ । कवि वारसान सायरले भनेका छन्, ‘घरलाई कसैले पनि तबसम्म छाड्दैन, जब घर नै एक क्रन्दनपूर्ण आवाज बनेर हाम्रो कानमा भन्छ– यहाँबाट हिँड्, संसारको जुन भाग पनि योभन्दा सुरक्षित हुन्छ ।’ समुद्र वा अन्यत्रका कुनै पनि दुःखद घटनाप्रति हामीलाई शोकविहीन हुनु आवश्यक छैन । तथापि, हामी आफैँलाई सोध्न बाध्य छौँ, आखिर हामी किन केहीको जीवनलाई शोक मनाउन योग्य र केही जीवनलाई सामूहिक विस्मृतिमा धकेल्न योग्य ठान्छौँ ?
अल जजिरामा छापिएको प्रियंवदा गोपालको आलेख । गोपाल क्याम्ब्रिज विश्वविद्यालयकी अंग्रेजी संकायकी अध्यापक हुन् । 

सुझावित समाचार