काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन्। मेयर साहले क्षेत्राधिकारबाहिर गएर गरेको काम र नगर प्रहरीको उदण्ड व्यवहारका कारण आफूले पदबाट राजीनामा दिएको उनको भनाइ छ।
मेयर साहले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र नगर प्रहरीले पनि उद्दण्ड व्यवहार देखाएकोले आफूलाई त्यहाँ बस्न मन नलागेको उनले नयाँ पत्रिकासँग बताइन्।
अर्यालले आज राजीनामापत्र बुझाएकी हुन्। महानगरको नगर प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको अमानवीय व्यवहार, सिनेमा हलमा भारतीय फिल्म बन्द, शैक्षिक कार्यक्रममा हस्तक्षेप र सामाजिक सञ्जालको लहडमा लागेर मेयर साहले काम गरेको उनको आरोप छ।
‘कतिपय राम्रा कुराहरू मेयरसापले सुनुवाइ गर्नुभयो, तर पछिल्लो समय उहाँले आफ्नो क्षेत्राधिकारबाहिर गएर काम गरेको मलाई चित्त बुझेन,’ अर्यालले नयाँ पत्रिकासँग भनिन्, ‘मेरा केही माग पनि थिए, जुन पूरा भएनन्। त्यसैले पनि राजीनामा दिएँ।’
उनले महानगरभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तर सुधारको सन्दर्भमा मेयर साहसँग कुरा मिले पनि कानुनी र नीतिगत केही विषयमा विवादसमेत भएको बताइन्।
मेयर साहले सामाजिक सञ्जाललाई आधार मानेर काम गरेको देख्दा आफूलाई चित्त नबुझेको उनको भनाइ छ। पछिल्लो समय मेयर साहले भारतीय चलचित्र ‘आदिपुरुष’ र त्यससँगै समग्र हिन्दी चलचित्र चल्न नदिने भन्दै उठाएको कदम आफूलाई चित्त नबुझेको अर्यालले बताइन्।
अर्यालको पृष्ठभूमि सिनेमा क्षेत्रमा पनि जोडिएको छ। उनको तथा परिवारको क्युएफएक्समा लगानी पनि छ। मेयर साहले हावाको भरमा सिनेमा क्षेत्रमा लिएको कदम चित्त नबुझेपछि अर्याल राजीनामा दिने निर्णयमा पुगेकी हुन्।
‘शिक्षासँग सम्बन्धित विषयमा मेयरसापको शैली ठीक थियो, तर नगर प्रहरीले फुटपाथ व्यापारीमाथि बुट प्रहार गरेको व्यवहार मलाई चित्त बुझेन,’ उनले भनिन्, ‘मेयरसापसँग सार्वजनिक शिक्षाको सुधारमा केही कुरा मिल्यो, स्कुलभन्दा बाहिर गरिने काममा मेयरसाप र नगर प्रहरी हाबी भए, कतिपय विषयमा कागजी प्रक्रियाबिनै नगर प्रहरी र मेयरसापले कदम चाल्ने व्यवहार मन परेन,’ उनले भनिन्, ‘यस्ता कुरामा मैले विमति जनाउँदै आएकी थिएँ। तर सुनुवाइ नै भएन।’
अर्याल शिक्षाविद् हुन्। उनले सार्वजनिक शिक्षा तथा टिच फर नेपालमा बसेर लामो समय काम गरेकी छिन्। महानगरले गत भदौमा अर्याललाई मेयर साहको शिक्षा सल्लाहकारका रूपमा नियुक्त गरेको थियो।