पहिराेले उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

संखुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथांका सडक ठप्प भएको हो । 

गएराति वर्षासँगै आएको  पहिराले उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोसी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए । उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ ।

मकालु गाउँपालिका– ५ को मुढे र मकालु– ३ मा पहिरो खसेको छ । मकालु गाउँपालिका– ५ मा मुढेकाे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख  कोइरालाले बताए । अहिले पनि त्यस क्षेत्रमा निरन्तर पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताए । पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुन सकेको छैन । सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराेका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बीचबाटैमा अपलत्र परेका छन् ।

सत्र घरपरिवार विस्थापित 

संखुवासभामा बाढीपहिराेका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन् । गत शनिबार राति अविरल वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन् । पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र सभापोखरी र मकालु गाउँपालिकामा १७ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । 

बाढी–पहिराेका कारण ११ घरमा पूर्ण क्षति भएको छ भने ६ घरमा आंशिक क्षति भएको प्रनाउ गोदारले बताए । बाढी–पहिराेबाट विस्थापित छरछिमेकी र आफन्तको शरणमा बसेका छन् । बाढी–पहिराेका कारण चैनपुर नगरपालिकामा आठ, पाँचखपन नगरपालिकामा चार, सभापोखरी गाउँपालिकामा चार र मकालु गाउँपालिकामा एक घरपरिवार विस्थापित भएको प्रनाउ गोदारले बताए ।

गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन् । बाढी–पहिराेबाट बेपत्ता भएकाको खोजीकार्यमा वर्षाका कारण समस्या भएको छ । अहिले पनि त्यस क्षेत्रमा वर्षा भइरहेको छ । बाढी–पहिराेबाट २० जनामध्ये १६ जना सुपर हेवाखोला हाइड्रोपावरका, अपर हेवाखोला जलविद्युत् आयोजनाका एकजना, अमर कन्स्ट्रक्सनका एकजना र सभाखोपरी गाउँपालिकामा दुईजना बेपत्ता भएका छन् । 

बाढी–पहिराेका कारण जिल्लाका आठवटा हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले दुईवटा पक्की पुल बगाएको छ भने एउटा पक्की पुलमा आंशिक क्षति पुगेको छ । चैनपुर नगरपालिका– ४ र पाँचखपन नगरपालिका– ९ मा गएको पहिराेले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढी भौतिक संरचना बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको छ । 

सुझावित समाचार