कृषिसम्बन्धी बिमालेख जारी गर्न पुनः सुरु

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

सरकारले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिबद्घता गरेपछि मंगलबारदेखि कृषिसम्बन्धी बिमालेख जारी भएको छ । अनुदान बक्यौता बुझाउन असार मसान्तसम्मको समयसीमा दिएर बिमालेख जारी गर्न सुरु गर्ने निर्णय गरेको नेपाल बिमक संघले जनाएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको नेतृत्वमा मन्त्रालयका सचिवद्वयसहितको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै बिमालेख जारी गर्न संघलाई आग्रह गरेको थियो । ०६९ देखि सरकारले कृषक र कृषिलाई प्राथमिकता दिँदै कृषि बिमा शुल्कमा अनुदान दिँदै आइरहेको थियो । तर, ०७७ देखि कृषि बिमाको अनुदान रकम नदिँदा करिब तीन अर्ब बक्यौता बाँकी रहेको संघको भनाइ छ ।

बिमकहरूले अनुदान रकम पाउन बारम्बार पहल गर्दासमेत विभिन्न बहानामा अनुदान रोकेपछि बिमक संघको निर्णयमा ७ जेठ ०८० देखि कृषिसम्बन्धी बिमालेख जारी गर्न बन्द गरिएको थियो । पछिल्लो समय मन्त्रालयले बिमकहरूलाई बक्यौताको केही रकमसमेत उपलब्ध गराएको बताइएको छ । 

समयभित्र अनुदान रकम प्राप्त नभएमा पुनः बिमालेख बन्द गर्ने संघले बताएको छ । ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालय एवं मातहतका विभाग र नेपाल बिमा प्राधिकरणलाई कृषि बिमाबापतको अनुदान तत्काल उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध गर्छौँ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

See More On

सुझावित समाचार