२७५ सदस्यीय संसद्को पहिलो अधिवेशनमा १२ सांसद मात्रै सबै बैठकमा उपस्थित, २०५ सांसद जानकारी नै नदिई विभिन्न बैठकमा अनुपस्थित
आफैँले बनाएको नियमावलीको व्यवस्था उल्लंघन गर्दै प्रतिनिधिसभाका सदस्यहरू संसद्मा अनुपस्थित हुने गरेका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको पहिलो अधिवेशनमा दुई सय पाँच सांसद विभिन्न बैठकमा सूचना नै नदिई अनुपस्थित भएका छन् ।
एकराम गिरी प्रवक्ता, संसद् सचिवालय
नियमावलीको व्यवस्थाअनुसार पूर्वसूचना दिनुपर्छ
प्रतिनिधिसभा नियमावलीले एक दिन पनि अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । पूर्वसूचना दिन नसके उपस्थित भएको तीन दिनभित्र कारण खुलाएर सभामुखलाई जानकारी दिनुपर्छ । पूर्वसूचना त परको कुरा, तीन दिनभित्र जानकारी नदिने सांसदहरूको संख्या पनि ठूलो छ । यसपटक नयाँ दल र अनुहार चुनिएर आएकाले संसद्भित्र ऐन–नियम पालना हुने र सार्थक बहसको थलोमा जनप्रतिनिधि जवाफदेही बन्ने अपेक्षा थियो । तर, अनुपस्थितिका मामिलामा विगतकै प्रवृत्तिको दोहोरिएको छ ।
२५ पुसदेखि १५ वैशाखसम्म चलेको प्रतिनिधिसभाको पहिलो अधिवेशनमा हाजिर गरेर टाप कस्ने र कोरम नपुगेर बैठक स्थगित हुने समस्या पटक–पटक देखिएको थियो । धेरै सांसदले सूचना नदिई बैठकमा अनुपस्थित भएर नियमावली उल्लंघन गरेको हाजिरी विवरणले देखाउँछ । पुसमा दुई, माघमा आठ, फागुनमा चार, चैतमा नौ र वैशाखमा ६ गरी पहिलो अधिवेशनमा २९ बैठक चलेका थिए ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा १२ सांसद मात्रै सबै बैठकमा उपस्थित भए । सांसदको हाजिरी रेकर्डअनुसार दिलेन्द्र बडू, देवराज घिमिरे, नागिना यादव, रघुजी पन्त, रामहरि खतिवडा, रुक्मणि राना बराइली, विना लामा, विनिताकुमारी सिंह, शान्ति श्रेष्ठ, संगीता मण्डल धानुक, हितराज पाण्डे र ज्ञानु बस्नेत सुवेदी सबै बैठकमा उपस्थित छन् ।
११ सांसद सूचना दिएर अनुपस्थित भएका छन् । उपचारको क्रममा रहेकाले मनोरमा शेरचन २९ दिन, वर्षमान पुन र विनाकुमारी थनैत २६ दिन तथा चन्द्र भण्डारी १८ बैठकमा अनुपस्थित रहे । सिके राउत, एकनाथ ढकाल, गोमा लाभ, शहनाज रहमान (दिवंगत), हरि ढकाल र इन्दिरा राना (उपसभामुख) तथा पुष्पकमल दाहाल (प्रधानमन्त्री) सूचना दिएर केही दिन अनुपस्थित रहेको संसदको रेकर्ड छ ।
संसद् सचिवालयको रेकर्डअनुसार दुई सय पाँच सांसद सूचना नदिईकनै विभिन्न बैठकमा अनुपस्थित रहेका छन् । ४६ सांसदले धेरै दिन अनुपस्थित रहेर थोरै दिनको सूचना दिएका छन् । त्यसमध्ये एमालेका लक्ष्मी महतो कोइरी एउटा बैठकमा मात्रै उपस्थित भएर फरार छन् । हाल निलम्बनमा रहेको उनले २५ माघदेखि लागू हुने गरी २१ बैठकको इमेलमार्फत अनुपस्थितिको सूचना दिएका छन् । त्यसअघिका सातवटा बैठकको उनले सूचना नै दिएनन् । कांग्रेसका टेकबहादुर गुरुङ भने सुरुदेखि नै निलम्बनमा छन् ।
लगातार १० वटा बैठकमा सूचना नदिई अनुपस्थित भएमा स्वतः पद रिक्त हुने बाध्यात्मक व्यवस्था भएकाले त्यस्तो अवस्थामा सांसदहरूले ढिलो गरेर सूचना दिने गर्छन् । तर, त्यसभन्दा तलका बैठकमा सूचना नदिई मनपरी अनुपस्थित हुने प्रवृत्ति छ । लगातार १० वटा बैठकमा अनुपस्थित भए पनि सांसदहरूले त्यसको सूचना भने अधिवेशन अन्त्य हुने वेला मिलान गर्दै आएका छन् ।
प्रतिनिधिसभा नियमावली, २०७९ को अनुपस्थितिको सूचनासम्बन्धी नियम २१३ (१) मा कुनै सदस्य अस्वस्थ वा काबुबाहिरको परिस्थितिमा लगातार १० वटा बैठकमा अनुपस्थित रहनुपर्ने भएमा अग्रिम सूचना सभामुखमार्फत सदनलाई दिनुपर्ने व्यवस्था छ । संविधानको धारा ८९ (घ) को ‘सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा स्वतः स्थान रिक्त हुने’ भन्ने व्यवस्था छ ।
उपनियम (२) मा कुनै सदस्य सभाको १० वटाभन्दा कम बैठकमा उपस्थित हुन नसक्ने स्थिति भएमा सभामुखलाई अग्रिम सूचना दिनुपर्नेछ । अग्रिम सूचना दिन नसक्ने कुनै मनासिब कारण भए उपस्थित भएको तीन दिनभित्र सूचना दिनुपर्ने भनिएको छ । उपनियम (३) मा सूचनामा आफू अनुपस्थित हुने अवधि र कारण स्पष्ट उल्लेख गर्नुपर्ने र विद्युतीय माध्यमबाट समेत सूचना दिन सकिने सुविधा दिएको छ ।
एक दिन पनि बैठकमा अनुपस्थित हुनुपरे सांसदहरूले आफ्नो सचिवालयमार्फत विद्युतीय रूपमा अनुपस्थितिको सूचना दिन सक्ने सुविधा दिएको छ । तर, यति सहज सुविधालाई समेत सांसदले टेरपुच्छर लगाएका छैनन् ।
अग्रिम दिन नसक्ने प्रतिकूल अवस्थामा उपस्थित भएको तीन दिनभित्र सूचना दिनुपर्ने प्रावधानको पनि पालना भएको छैन । सूचना दिएर अनुपस्थित हुने, तर सेवा–सुविधा भने पूरै लिने गरेका छन् । अनुपस्थितिको सूचना नदिनेमा नियमावली बनाउने मस्यौदा समितिका सदस्यदेखि शीर्ष नेतासम्म छन् ।
सूचना दिनेहरू पनि नियमित छैनन् । एकपटक अनुपस्थित हुँदा सूचना दिए पनि अर्काेपटक भने बैठकमा उपस्थित नहुँदा नियमावलीअनुसार सूचना नदिने पनि छन् । कतिपयले लगातार १० दिन पुग्न नदिन अनुपस्थित भएका वेलाभन्दा बैठक नभएका वेलाको अवधिको समेत बिदा सूचना लेखेको पाइएको छ । केहीले बीच–बीचको मिलाएर अधुरो सूचना दिने गरेका छन् । विवरणमा संविधानसभा अध्यक्षदेखि दलका नेता र सचेतकहरूले समेत सूचना नदिइएको पाइएको छ ।
जो सूचना नै नदिई अनुपस्थित रहे

१४ दिन अनुपस्थित : गंगाप्रसाद यादव, गगन थापा, महिन्द्र राय यादव र सुदन किराँती
१३ दिन अनुपस्थित : कृष्णकुमार श्रेष्ठ, चन्द्रबहादुर विश्वकर्मा, अशोक राई, ढाकाकुमार श्रेष्ठ (हाल पदमुक्त), पशुपतिशमशेर जबरा, योगेन्द्र मण्डल, राजेन्द्र लिङ्देन, राजु थापा, रामशंकर यादव, लालप्रसाद साँवा लिम्बू र शेरबहादुर कुँवर
१२ दिन अनुपस्थित : गोकर्ण विष्ट, अमनलाल मोदी, दिनेशकुमार यादव, धवलशमशेर जबरा, मनबहादुर गुरुङ, भीम आचार्य, महन्थ ठाकुर, मंगलप्रसाद गुप्ता, विक्रम पाण्डे र विष्णु पौडेल
११ दिन अनुपस्थित : अम्मरबहादुर थापा, उदयशमशेर जबरा, चन्दा चौधरी, दामोदर भण्डारी, दुर्लभ थापा क्षेत्री, नवलकिशोर साह सुडी, विनिता कठायत, भगवती चौधरी, रमेश रिजाल, विमलेन्द्र निधि र सपना राजभण्डारी
१० दिन अनुपस्थित : ईश्वरबहादुर रिजाल, उर्मिला थेबे, जनार्दन शर्मा, दीपा शर्मा, दीपक कार्की, पदम गिरी, वसन्त नेम्वाङ, विना देवी, महेन्द्रबहादुर शाही, विष्णुकुमार कार्की, सुशीला सिर्पाली ठकुरी, सूर्यप्रसाद ढकाल र हरि उप्रेती
९ दिन अनुपस्थित : ऋषिकेश पोखरेल, गोकुल बाँस्कोटा, दामोदर पौडेल बैरागी, एनपी साउद, प्रकाशशरण महत, प्रभु हजरा दुसाध, प्रभु साह, योगेश भट्टराई, रघुवीर महासेठ, विश्वप्रकाश शर्मा, श्याम घिमिरे र सोविता गौतम
८ दिन अनुपस्थित : अब्दुल खान, अरुणकुमार चौधरी, कल्पना चौधरी, ईश्वरी घर्ती, गंगा कार्की, डिगबहादुर लिम्बू, निर्मला कोइराला, प्रकाश ज्वाला, मोहन आचार्य, मञ्जु शर्मा अन्सारी, राजककिशोर यादव, वीरेन्द्रप्रसाद महतो, शोभा ज्ञवाली, सुरेन्द्रराज आचार्य र सूर्यबहादुर थापा क्षेत्री
७ दिन अनुपस्थित : गंगाराम चौधरी, पूर्णबहादुर खड्का, वीरबहादुर बलायर, शरत्सिंह भण्डारी, शिशिर खनाल, शेखर कोइराला, सीता गुरुङ, सञ्जय गौतम र हृदयराम थानी
६ दिन अनुपस्थित : अर्जुननरसिंह केसी, आशा विक, उमरावती देवी, छिरिङ डम्डुल लामा (भोटे), जावेदा खातुन जागा, दिक्पालकुमार शाही, ध्रुवबहादुर प्रधान, प्रकाशमान सिंह, प्रदीप यादव, बुद्धिमान तामाङ, भानुभक्त जोशी, महेन्द्रकुमार राय, रञ्जिता श्रेष्ठ, रेखा शर्मा, लालवीर चौधरी, विना जैसवाल र सरस्वती सुब्बा
५ दिन अनुपस्थित : कुसुमदेवी थापा, ठाकुरप्रसाद गैरे, नारायण खड्का, देवेन्द्र पौडेल, प्रेमबहादुर महर्जन, विमला सुवेदी, मञ्जु खाण, मनीष झा, बिजुला रायमाझी, माधव नेपाल, माधव सापकोटा, रमेश लेखक, शशांक कोइराला, शान्ति विक, सम्झना थपलिया, सीताकुमारी राना, सीता मिजार, सुशीला थिङ र हितबहादुर तामाङ
४ दिन अनुपस्थित : अमरेश सिंह, ईश्वरीदेवी न्यौपाने, छिरिङ ल्हामु लामा (तामाङ), जीवन परियार, दीपकबहादुर सिंह, देवप्रसाद तिम्लसेना, धनराज गुरुङ, निशा डाँगी, बद्री पाण्डे, राजेन्द्र बजगाईं, रामकुमार राई, रामकृष्ण यादव, माया राई, मीना यादव, मेटमणि चौधरी, मोहन बस्नेत, रणेन्द्र बराली, रामनाथ अधिकारी, लीलादेवी बोखिम लिम्बू, शक्ति बस्नेत, सन्तोष चालिसे, सर्वेन्द्रनाथ शुक्ल, सुशीला श्रेष्ठ र हर्कमाया विश्वकर्मा
३ दिन अनुपस्थित : ऐनबहादुर शाही ठकुरी, अञ्जनी श्रेष्ठ, अनिता देवी, अनिशा नेपाली, अम्बिका बस्नेत, अस्माकुमारी चौधरी, किरणकुमार साह, गीता बस्नेत, तेजुलाल चौधरी, दयालबहादुर शाही, दीपक गिरी, देवीप्रकाश भट्टचन, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्ती, प्रदीप पौडेल, मुक्ता यादव, रमा कोइराला, राजेन्द्रकुमार केसी, रामसहायप्रसाद यादव (उपराष्ट्रपति), लेखनाथ दाहाल र सुमना श्रेष्ठ
२ दिन अनुपस्थित : अमृतादेवी अग्रहरी, उर्मिला माझी, कालुराम राई, कृष्णगोपाल श्रेष्ठ, चित्रबहादुर केसी, नैनकला थापा, मानवीर राई, मीना तामाङ, रामप्रकाश चौधरी, रञ्जुकुमारी झा, रेखा यादव, सरिता प्रसाईं, सूर्यमान तामाङ (दोङ), सोनु मुर्मू, हेमराज राई र ज्ञानेन्द्रबहादुर कार्की
१ दिन अनुपस्थित : असिम शाह, कल्पना मियाँ कुसारी, कान्तिका सेजुवाल, दुर्गा राई, नारायणी शर्मा, महेश बर्तौला, रणकुमारी बलम्पाकी मगर, रामचन्द्र पौडेल (हाल राष्ट्रपति), रूपा विक, रूपा सोसी (चौधरी), रोशन कार्की र सरस्वती बजिमय
अधुरो सूचना दिने सांसदहरू
पहिलो अधिवेशनमा १४ बैठकमा अनुपस्थित अच्युतप्रसाद मैनालीले ५, अम्मरबहादुर रायमाझी ११ बैठकमध्ये ६, अमृतलाल राजवंशी ११ मध्ये २, अशोककुमार चौधरी १० मध्ये ६, आरजु राणा १६ मध्ये १०, केपी ओली १५ मध्ये ६, खमबहादुर गर्बुजा १० मध्ये ५, गणेश पराजुली ६ मध्ये ३, चन्दा कार्की ७ मध्ये १, छविलाल विश्वकर्मा ९ मध्ये २, जुली महतो १० मध्ये ४, डोलप्रसाद अर्याल ४ मध्ये ३, तारा लामा तामाङ ६ मध्ये १, तोसिमा कार्की ७ मध्ये ३, दीपक खड्का २ मध्ये १, दीपक बोहरा १३ मध्ये ५, नारायण आचार्य १४ मध्ये २, पूर्णबहादुर तामाङ ८ मध्ये ५, प्रकाश अधिकारी ९ मध्ये ३, प्रतिमा गौतम ६ मध्ये २, प्रतीक्षा तिवारी ११ मध्ये ५, प्रेम सुवाल ३ मध्ये २, बलराम अधिकारी ९ मध्ये २, वासुदेव घिमिरे ७ मध्ये १, महेश बस्नेत २१ मध्ये २, मेनका पोखरेल ७ मध्ये २, मैना कार्की ५ मध्ये २, योगेश गौचन थकाली ६ मध्ये १, राजेन्द्र राई ९ मध्ये ३, राजेन्द्र पाण्डे ५ मध्ये ३, लक्ष्मी तिवारी ७ मध्ये ५, विद्या भट्टराई ६ मध्ये ३, विनोद चौधरी १४ मध्ये १३, विराजभक्त श्रेष्ठ ६ मध्ये ४, शिव नेपाली ७ मध्ये ४, सुनील शर्मा १० मध्ये ७, शंकर भण्डारी ९ मध्ये ६, सन्तोष परियार ५ मध्ये ३, सराज अहमद फारुकी ९ मध्ये २, सरिता भुसाल ६ मध्ये १, शान्ति चौधरी ९ मध्ये १, सुनिता बराल ११ मध्ये ४, सुवास नेम्वाङ ६ मध्ये २, सूर्यकुमारी श्रेष्ठ ८ मध्ये २ र ज्ञानबहादुर शाही ८ बैठकमा अनुपस्थित भएर ६ वटाको मात्रै सूचना दिएका छन् । एक बैठकमा उपस्थित भएका फरार लक्ष्मी महतो कोइरी (हाल निलम्बित)ले २५ माघदेखि लागू हुने गरी २१ बैठकको इमेलमार्फत अनुपस्थितिको सूचना दिए । त्यसअघिका सातवटा बैठकको उनले सूचना दिएनन् ।
नियमावलीको व्यवस्थाअनुसार पूर्वसूचना दिनुपर्छ