दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको निधन

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

गाडी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले मन्त्री सिंहलाई मृत घोषणा गरेको छ।

गृहजिल्ला बझाङमा दुर्घटनामा परेका सिंहलाई हेलिकोप्टरबाट कोहलपुर पुर्‍याइएको थियो। कोहलपुर मेडिकल कलेजले बेलुकी ५ः३३ बजे सिंहलाई मृत घोषणा गरेको हो। कोहलपुर मेडिकल कलेजका सूचना अधिकारी सञ्जय पन्तका अनुसार अस्पताल पुर्‍याउँदा मन्त्री सिंहको मुटुको चाल थिएन।

उनको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चोट देखिएको पन्तले नयाँ पत्रिकालाई बताए। मन्त्री सिंहसहित तीनजनालाई हेलिकोप्टरबाट कोहलपुर लगिएको थियो। अन्य दुईजनाको अवस्था पनि गम्भीर रहेको सूचना अधिकारी पन्तले जानकारी दिए।

दुर्घटनामा मन्त्री सिंहकी पत्नी र भाउजूको बझाङमा मृत्यु भएको थियो। मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको मृत्यु भएको हो। मन्त्रीका सुरक्षागार्ड प्रहरी हवल्दार दीपक भण्डारी र गाडीचालक धर्मराज जोशीलाई हेलिकोप्टरबाट नेपालगन्ज पठाइएको थियो।

मन्त्री सिंह सवार आन्तरिक मामिला मन्त्रालयको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँमा दुर्घटना भएको हो। मन्त्री सिंह धनगढीबाट गृहजिल्ला बझाङ जान लागेका थिए।

सुझावित समाचार