उत्तर कोरियामा नयाँ भोकमरीको सम्भावना

मुलुक दोस्रो ‘कठिन यात्रा’मा जान सक्ने किम जोङ उनको चेतावनीले उत्तर कोरिया नयाँ भोकमरीको सँघारमा पुगेको संकेत गरेको थियो

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

कोभिड–१९ महामारीको तीन वर्षपछि विश्वका मानिस एक मुलुकबाट अर्को मुलुक जान स्वतन्त्र भए । तर, उत्तर कोरियाली जनता भने अपवाद हुन् । जनवरी २०२० मा किम जोङ उनले कोभिडको प्रतिक्रियामा मुलुकलाई विश्वबाट अलग राख्ने निर्णय गरेका थिए । चीनसँगको व्यापारबाहेक जुन २०२३ मा पनि उत्तर कोरिया विश्वबाट अलग नै छ ।

सीमा बन्द गरेको केही समयमै किम जोङ उनले मुलुक दोस्रो ‘कठिन यात्रा’मा जान सक्ने चेतावनी दिएका थिए (उत्तर कोरियामा सन् १९९० को दशकमा कम्तीमा १० लाख मानिसको ज्यान लिएको भोकमरीलाई कठिन यात्राको नाम दिइन्छ) । जुन २०२१ मा कोरियालाई नजिकबाट नियाल्नेहरूले खाद्य अभावको आकलन गरिसकेका थिए । तर, सीमा खुलाउनुको सट्टा किमले कोभिडले निम्त्याएको ‘अथाह चुनौती’को सामना गर्न जनतालाई बलियो हुन आग्रह गरे ।

सीमा बन्द गर्नुअघि पनि उत्तरको विश्वासयोग्य व्यापारिक साझेदार चीन मात्रै थियो किनभने प्योङयोङले आणविक हतियार बनाउने महत्वाकांक्षाका कारण अन्तर्राष्ट्रिय नाकाबन्दी व्यहोरिरहेको छ । सार्वजनिक वितरण प्रणाली तहसनहस हुँदा ‘कठिन यात्रा’का समयमा मुलुकको उत्तरी सीमा, मूलतः चीनबाट खाद्य पदार्थ, औषधि एवं दैनिक सामग्रीको तस्करी हुने गथ्र्यो । यस्ता सामग्री जाङमदाङबाट (अनौपचारिक बजार) प्रवाह हुने गथ्र्यो र यो बजार मुलुकको दुरुह आर्थिक अवस्थामा महत्वपूर्ण अस्तित्वकै संयन्त्र बनेको थियो । तर, लकडाउनले दुवै औपचारिक एवं अनौपचारिक व्यापारलाई बन्द गरिदियो । राज्य तहमा दुई मुलुकबीचको व्यापार बिस्तारै पुनः सञ्चालन भइरहेको छ, तर व्यापार महामारीपूर्वको अवस्थामा पुगेको छैन । 

मुलुक दोस्रो ‘कठिन यात्रा’मा जान सक्ने किम जोङ उनको चेतावनीले उत्तर कोरिया नयाँ भोकमरीको सँघारमा पुगेको संकेत गरेको थियो 
 

३१ मार्च २०२३ मा राष्ट्र संघले उत्तर कोरियाले लागू गरिरहेको ‘अद्वितीय अलगाव’ अन्त्य गर्न आग्रह गरेको छ । राष्ट्रसंघकी विशेष दूत एलिजाबेथ साल्मोनले ‘तीन वर्षसम्मको सीमाबन्दले उत्तर कोरियाका जनता विशेषतः अनौपचारिक बजारमा काम गर्ने महिला, गरिबीमा बाँचिरहेका, वृद्धवृद्धा, घरबारविहीन र कोकोटजेबी (घरबारविहीन बालबालिका) मा परेको असरबारे’ गम्भीर रूपमा चिन्तित रहेको बताएकी छिन् । 

उत्तर कोरियाबाट सूचना प्राप्त गर्न कठिन भएकाले स्थिति कत्तिको खराब भएको छ भनेर अनुमान गर्न गाह्रो छ । महामारीअघि पनि उत्तर कोरियालाई बाहिरबाट नियाल्ने हामीसँग सूचनामा सीमित पहुँच हुन्थ्यो, महामारीपछि त झनै दुर्लभ भयो । कूटनीतिज्ञ र सहायता कार्यकर्ताजस्ता सूचनाका स्रोत पनि बन्द भएका छन् । 

सीमा बन्द भएपछि मुलुकबाट पलायन हुने घटना नाटकीय रूपमा घटेका छन्, तसर्थ हामीले पलायन हुनेबाट पनि सूचना पाएका छैनौँ । सीमित नै भए पनि सूचना हासिल गर्ने अनौपचारिक उपाय भनेको पलायन हुनेको परिवारसँगको सम्बन्ध हो, तर यो उपाय पनि सीमित हुँदै गएको छ । सूचना हासिल गर्ने उपायमा अवरोध आउँदै गर्दा हामीले आंशिक सूचना मात्रै पाइरहेका छौँ । मे २०२३ मा दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) बाट १० जना समुद्री मार्ग हुँदै पलायन भएको र यिनबाट सत्ताले थप कडाइसाथ निगरानी गरिरहेको जानकारी आएको छ । बिबिसीले हालै मुलुकभित्र चरम खाद्य अभाव भएको रिपोर्टिङ गरेको छ ।     

यसले उत्तर कोरियामा किम जोङ उनका दुई परस्परविरोधी छविलाई बाहिर ल्याइदिएको छ । आममानिसले भोकमरी झेलिरहेका वेला किमको परिवार र सत्तानिकट मानिसलाई सबै पर्याप्त पुगिरहेको छ । किमकी १० वर्षीया छोरी किम जु ए प्रायः महँगो विलासी पोसाकमा आममिडियामा देखा पर्छिन्, जब कि अधिकांश सामान्य नागरिकलाई आधारभूत आपूर्तिमा समेत पहुँच पाउन धौधौ भइरहेको हुन्छ । र, उत्तर कोरियाली सरकारले चरम आर्थिक संकटका बाबजुद क्षेप्यास्त्र प्रक्षेपण परीक्षणलाई जारी राखेको छ । आमजनता क्रुद्ध भएका रिपोर्ट आइरहेका छन्, विशेषतः किम जु एलाई टिभीको पर्दामा देख्दा जनता आक्रोशित भएका छन् । एक व्यक्ति नाम नखुलाउने सर्तमा ‘मलाई किम जोङ एले एक वयस्कभन्दा बढी परिधान लगाएको र किम जोङ उनसँग प्रशंसा गरिरहेको भीडबीच रातो कार्पेटमा हिँड्दा मिल्ने विशेष सत्कार देख्दा’ निकै असहज महसुस हुन्छ ।’

हालै प्रसारण गरिएको बिबिसीको वृत्तचित्रले खाद्यान्न र औषधि तस्करी गर्न कडा पहरा दिइएको सीमापार गर्न खोज्ने मानिसलाई देख्नेबित्तिकै गोली हानेर मार्ने नीति लागू भएकोबारे तीनजना अन्तर्वार्ता दिने मानिसले जानकारी दिएका छन् । यी सूचना दिनेले सत्ताप्रतिको बढ्दो असन्तुष्टिबारे जानकारी दिएका थिए र कसैले विरोध वा सुधारका लागि निवेदन गर्नु त परको कुरो बोल्नसमेत आँट नगरेको पनि बताएका थिए । उत्तर कोरियामा भयको राजनीतिमा आधारित सत्ता, निगरानी प्रणाली, हिँड्डुलमा नियन्त्रण र सङबन (वर्ग प्रणाली) ले आममानिसको जीवन स्थिति एवं सम्भावनालाई कडाइसाथ नियन्त्रण गर्छ । माथिल्लो तहमा रहेका मानिसले जे चलिआएको छ ,त्यसैलाई जोगाइरहेका छन् । 

शासक जातिपछि वास्तविक नागरिक नेतृत्व छैन । र, सत्ताको प्रोपगन्डा र वास्तविकताबीचको अन्तर जान्दाजान्दै चरम भयका कारण जनता दमन र कठिनाइविरुद्ध संगठित हुन सकिरहेका छैनन् । उत्तर कोरियाले सन् २०२३ मा आफ्नो सीमा पुनः खोल्ने सम्भावना छ किनभने उत्तर कोरियालाई व्यापार र विदेशी मुद्राको आवश्यकता छ । यदि यसो हुन्छ भने विश्वले उत्तर कोरियाली सत्ताको नकारात्मक पक्षमा केन्द्रित मात्रै नभई नागरिक समाजको सकारात्मक विकासको पहल गर्नुपर्छ । 

(लिम सेन्ट्रल लेंकसायर विश्वविद्यालयको उत्तर कोरियाली स्नातकोत्तर अध्ययन विषयकी अगुवा एवं एसिया प्यासिफिक स्टडिजकी रिडर हुन्)  द कन्भर्सेसनबाट

सुझावित समाचार