नेपालका छिमेकीसँग व्यस्त अमेरिकी कूटनीति

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

चार वर्षपछि चीन–अमेरिका संवाद, राजकीय भ्रमणमा अमेरिका जाँदै मोदी

आपसी रणनीतिक प्रतिस्पर्धाका बीच विश्वका शक्ति मुलुक अमेरिका र चीनबीच चार वर्षपछि औपचारिक संवाद सुरु भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले नेपालको छिमेक बेइजिङमा शीर्ष नेताहरूसँग छलफल गरेर फर्केलगत्तै अर्को छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राजकीय भ्रमणका लागि बुधबार अमेरिका आइपुग्दै छन् । 

अमेरिकासँग उत्तरी छिमेकीको सञ्चारलाइन (लाइन अफ कम्युनिकेसन)सुरु भएको छ भने यही वेला दक्षिणी छिमेकी मुलुकका प्रधानमन्त्री मोदीलाई यसपटक वासिङटनले भव्य स्वागत गर्दैछ । मोदीलाई २१ तोपको सलामीसहित अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइटहाउसमा बिहीबार स्वागत गर्दै छन् ।

मोदीले अमेरिकी कंग्रेस (संसद्)को दुवै सदनलाई दोस्रोपटक (सन् २०१६ पछि) सम्बोधन गर्दै छन् । महत्वपूर्ण रक्षा सामग्री खरिद सम्झौता तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशबारे हुन लागेको दुई बलशाली मुलुकका कार्यकारी प्रमुखको संवादलाई दक्षिण एसिया मामिला हेर्दै आएका विज्ञले चासोपूर्वक नियालेका छन् । नेपालजस्तो मुलुकले वैश्विक प्रतिस्पर्धाको वातावरणमा असंलग्नता कायम रहेर छिमेकी र अमेरिकासँग सन्तुलित सम्बन्ध सञ्चालन गर्नुपर्ने विज्ञको सुझाव छ ।

अमेरिकाको वासिङटनस्थित प्रसिद्ध चिन्तन संस्था विल्सन सेन्टरका दक्षिण एसिया इन्स्टिच्युट निर्देशक माइकल कुगेलम्यानले दक्षिण एसियालाई वासिङटनले अमेरिका–चीन प्रतिस्पर्धाको लेन्सबाट हेरिरहेको र नेपालजस्ता मुलुकसँग संलग्नता बढाउने उद्देश्य रहेको बताए । ‘यो क्षेत्रको मुख्य नीतिगत उद्देश्यमध्ये नेपाललगायत अधिकांश दक्षिण एसियाली राज्यहरूसँगको संलग्नतालाई सुदृढ पार्नु हो ताकि उनीहरूले चिनियाँ व्यावसायिक सहयोगमा पूर्ण रूपमा निर्भर हुन नपरोस्,’ उनले नयाँ पत्रिकासँग भने, ‘नेपाललगायत दक्षिण एसियाली मुलुकहरूले बेइजिङमाथिको निर्भरता घटाउन र नयाँदिल्लीसँगको सम्बन्ध थप सुदृढ बनाउन् भन्ने पनि अमेरिकाको अपेक्षा छ ।’

उनका अनुसार मोदीको भ्रमणले दक्षिण एसियालगायत चीनको सामना गर्ने  एजेन्डामा अमेरिका–भारतको साझा हितलाई जोड दिनेछ । ‘तर, मोदीको अमेरिका भ्रमण आपसी प्रतिस्पर्धा गरिरहेका विभिन्न शक्तिहरूसँगको सम्बन्ध व्यवस्थापन गर्ने सन्दर्भमा नेपालजस्ता असंलग्न मुलुकहरूका लागि एउटा चुनौती पनि हुनेछ,’ उनले भने । 

अमेरिकाको न्युमेक्सिको विश्वविद्यालयका प्राध्यापक डा. आलोककुमार बोहोराले मोदीको अमेरिका भ्रमण आर्थिक र राजनीतिक दुवै दृष्टिकोणबाट महत्वपूर्ण रहेको टिप्पणी गरे । उनका अनुसार मोदीलाई संसद्मा दोस्रोपटक सम्बोधन गर्ने दुर्लभ अवसर प्रदान गरेर अमेरिकाले भारतको आर्थिक र रणनीतिक महत्वलाई आत्मसात् गरेको छ । यसले प्रमुख विश्वव्यापी खेलाडीका रूपमा भारतको क्षमता प्रतिबिम्बित भएको उनको भनाइ छ ।

‘मोदीको भ्रमणको प्रभाव नेपालसहित दक्षिण एसियाका देशहरूमा पर्छ । नेपालले आफ्नो राष्ट्रिय हितसँग मिल्ने अनुकूल परिणाम प्राप्त गर्न भारतसँगको सम्बन्धलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्छ,’ बोहोराले नयाँ पत्रिकासँग भने, ‘अनि, नेपालले चीनलाई टाढा पार्न सक्ने कुनै पनि कार्यबाट पनि बच्नुपर्छ । भारत र अमेरिकाबीचको कुनै पनि मौन सैन्य गठबन्धनमा नेपाल प्रवेश गर्नुहुँदैन ।’ 

मोदीको अमेरिका भ्रमणलाई एउटा विकसित अवस्थाका रूपमा व्याख्या गरेका बोहोराले नेपालले राजनीतिक वा आर्थिक मामिलामा छिमेकी राष्ट्रहरूलाई बेवास्ता गर्न नसक्ने बताए । ‘भारत र अमेरिकाबीचकोे गठबन्धन र चीनको सतर्कताले नेपालको भूराजनीतिक जटिलता थपिनेछ,’ उनले भने । 

नेपालले शान्ति क्षेत्र प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बोहोराको सुझाव छ । ‘यसले भारतको छिमेक पहिलो नीतिप्रतिको प्रतिबद्धताको परीक्षण गर्ने र नेपालको असंलग्न भू–राजनीतिक भविष्यलाई सक्रिय रूपमा आकार दिने उद्देश्य परिपूर्ति गर्नेछ,’ बोहोराले भने, ‘यो रणनीतिक दृष्टिकोण अपनाएर मात्रै नेपालले भारत, चीन र अमेरिकाको बढ्दो प्रतिस्पर्धात्मक अवस्थालाई सम्बोधन गर्न सक्छ ।’

बोहोराले राष्ट्रसंघीय स्थायी सुरक्षा परिषद्मा स्थान खोज्ने उदीयमान विश्व शक्तिका रूपमा भारतले बुद्धको जन्मस्थल नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न आपत्ति नजनाउने आफ्नो विश्वास रहेको बताए । 

हाल अमेरिका रहेका चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यले बदलिएको भारतको क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभावका सन्दर्भमा मोदीको भ्रमणलाई हेर्नुपर्ने बताए । उनले मोदीको भ्रमणको नेपाललाई सन्देश रहने बताए । ‘हाम्रा लागि आकाशको सुपरपावर अमेरिका छ, जमिन जोडिएका सुपरपावर भारत र चीन दुवै हुन्,’ आचार्यले भने, ‘भारतको पश्चिमा मुलुकहरूमा बढ्दो महत्वको कारण मोदी हुन् । यो भ्रमण दुवैलाई एकअर्काको महत्वको पृष्ठभूमिमा भएको छ । अमेरिका र भारत दुवै अर्को वर्ष निर्वाचनमा जाँदै छन् । अन्य मुद्दा त छँदै छन्, अमेरिकामा भारतीय मुलुकमा मानिसको भोट प्रभावित पार्ने, भारतलाई साथ लिएर चीनलाई प्रतिसन्तुलन र घेराबन्दी गर्ने अमेरिकाको नीतिको सन्दर्भमा मोदीको भ्रमणलाई हेर्नुपर्छ ।’

भारतले रुस, चीन र अमेरिकासँगको सम्बन्धलाई स्वायत्त रूपमा सञ्चालन गरिरहेको सन्दर्भमा युक्रेन युद्धलाई शान्तिपूर्ण रूपमा अवतरण गर्न अमेरिकाले मोदीको भूमिका खोज्न सक्ने आचार्यको विश्लेषण छ । ‘अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनमा शान्ति प्रक्रियाका लागि बेइजिङलाई होइन, दिल्लीलाई जस दिन चाहन्छन्,’ आचार्यको विश्लेषण छ, ‘मोदीको अमेरिका भ्रमणका धेरै आयामलाई हामीले सूक्ष्म रूपमा हेर्नुपर्छ । नेपालले अमेरिका, चीन र भारत मात्र होइन, रुससँगको सन्तुलन गर्ने र हाम्रा हित सुरक्षित गर्ने गरी अघि बढ्नुपर्ने दायित्व छ ।’ उनले परिवर्तित माहोलमा हाम्रो भारत, अमेरिका, चीन, रुस नीति पुनः परिभाषित हुनुपर्ने बताए । 

चिन्तन संस्था नेपाल म्याटर्स फर अमेरिकाका संस्थापक एवं अमेरिकामा रहेका अन्तर्राष्ट्रिय मामिलाविज्ञ अनिल सिग्देलले मोदीको भ्रमणले अमेरिकाको बृहत् एसिया नीतिमा भारतको रणनीतिक महत्वलाई पुनः पुष्टि गरेको, तर नेपाललाई तत्कालै प्रभाव नपर्ने टिप्पणी गरे । ‘यो भ्रमणले नेपालको हितमा कुनै प्रत्यक्ष प्रभाव पर्ने सम्भावना छैन । र, नेपालको भूराजनीतिक स्थितिमा पनि यसले खासै प्रभाव पार्छजस्तो लाग्दैन,’ सिग्देलले नयाँ पत्रिकासँग भने, ‘सामान्यतया वासिङटनमा भारतीय भ्रमणले दक्षिण एसियामा भारतको अग्रतालाई जोड दिँदै आएको छ । तर, अमेरिकाले नेपालसँगको आफ्नो संलग्नतालाई आफ्नै प्रकारले निरन्तरता दिएको छ ।’

हाल बैंककमा शोधरत रहेका सेनाका पूर्वउपरथी एवं भूराजनीतिक मामिलाविज्ञ बिनोज बस्न्यातले चार वर्षपछि अमेरिका र चीनबीच संवाद सुचारु तथा चीन र भारतबीच सीमाक्षेत्रमा भएको टकरावको पृष्ठभूमिमा मोदीको अमेरिका भ्रमण रणनीतिकरूपमा महत्वपूर्ण हरेको बताए । ‘नेपालले घटनाक्रमलाई सतर्कतापूर्वक हेर्नु र विश्लेषण गर्नु आवश्यक छ,’ उनले भने । 

वित्तीय, भूराजनीतिक एवं सुरक्षा विश्लेषक नविता श्रीकान्तको विश्लेषणमा विश्वका दुई शक्तिशाली र सफल लोकतन्त्रका रूपमा भारत र अमेरिका यतिवेला द्विपक्षीय सम्बन्ध विस्तारमा छन्, यसले छिमेकी क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने बताउँछन् । ‘प्रधानमन्त्री मोदीको अमेरिकी यात्रा र त्यसक्रममा उहाँको दृष्टिकोणले भारतका लागि मात्र नभएर भारतका छिमेकीलाई पनि थप फाइदा हुनेछ,’ श्रीकान्तले भनिन्, ‘साइबर सुरक्षा, स्वास्थ्य र खाद्य सुरक्षा प्रणाली, जैविक विविधता संरक्षण, प्रकोप प्रतिक्रियासहित जलवायु चुनौतीको प्रतिक्रिया, ऊर्जा र सडकजस्ता मुख्य पूर्वाधार विकास, गरिबी निवारण, मानवीय सहायता र विपद् राहत, प्रतिआतंकवाद केही क्षेत्रमा अमेरिका र भारत सहकार्यले नेपालजस्ता मुलुकलाई पनि फाइदा हुनेछ ।’ 

विज्ञ भन्छन्– बदलिँदो परिवेशमा असंलग्नताबाट नेपालले फाइदा लिनुपर्छ

माइकल कुगेलम्यान, वासिङटनस्थित प्रसिद्ध चिन्तन संस्था विल्सन सेन्टरका दक्षिण एसिया इन्स्टिच्युटका निर्देशक
वासिङटनको मुख्य नीतिगत उद्देश्यमध्ये एक नेपाललगायत अधिकांश दक्षिण एसियाली राष्ट्रहरूसँगको संलग्नतालाई सुदृढ पार्नु हो ता कि उनीहरूले चिनियाँ व्यावसायिक सहयोगमा पूर्ण रूपमा निर्भर हुन नपरोस् । ती राष्ट्रहरूले बेइजिङमाथिको निर्भरता घटाऊन् र नयाँदिल्लीसँगको सम्बन्ध थप सुदृढ बनाऊन् भन्ने पनि अमेरिकाको अपेक्षा छ । तर, मोदीको भ्रमण आपसी प्रतिस्पर्धा गरिरहेका विभिन्न शक्तिहरूसँगको सम्बन्ध व्यवस्थापन गर्ने सन्दर्भमा नेपालजस्ता असंलग्न मुलुकहरूका लागि एउटा चुनौती पनि हुनेछ ।

प्रा.डा. आलोककुमार बोहोरा, अमेरिकाको न्युमेक्सिको विश्वविद्यालय
मोदीको भ्रमणको प्रभाव नेपालसहित दक्षिण एसियाका देशहरूमा पर्छ । नेपालले आफ्नो राष्ट्रिय हितअनुकूल परिणाम प्राप्त गर्न भारतसँगको सम्बन्धलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्छ । अनि, चीनलाई टाढा पार्न सक्ने कुनै पनि कार्यबाट पनि बच्नुपर्छ । भारत र अमेरिकाबीचको कुनै पनि मौन सैन्य गठबन्धनमा प्रवेश गर्नुहुँदैन ।

राजेश्वर आचार्य, हाल अमेरिकामा रहेका चीनका लागि पूर्वराजदूत
हाम्रा लागि आकाशको सुपरपावर अमेरिका छ, जमिन जोडिएका सुपरपावर भारत र चीन दुवै हुन् । भारतको पश्चिमा मुलुकहरूमा बढ्दो महत्वको कारण मोदी हुन् । यो भ्रमण दुवैलाई एक–अर्काको महत्वको पृष्ठभूमिमा भएको छ । अमेरिका र भारत दुवै अर्को वर्ष निर्वाचनमा जाँदै छन् । अन्य मुद्दा त छँदै छन्, अमेरिकामा भारतीय मुलुकमा मानिसको भोट प्रभावित पार्ने, भारतलाई साथ लिएर चीनलाई प्रतिसन्तुलन र घेराबन्दी गर्ने अमेरिकाको नीतिको सन्दर्भमा मोदीको भ्रमणलाई हेर्नुपर्छ ।

सुझावित समाचार