उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले नै योग अभ्यासलाई स्थापित गरेको र यसलाई जीवनको अभिन्न अंग तथा वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सके व्यक्तिको स्वच्छता एवं समाजको प्रगति हुने विश्वास व्यक्त गरेका छन्।
नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक दिवसीय योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
व्यक्ति र समाजले योग, अभ्यास र ध्यानको महत्वलाई आत्मसात् गर्दा शारीरिक एवं मानसिक स्वच्छता, जागरण, सन्तुलन र रूपान्तरण प्रक्रियामा समेत योगदान पुग्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए।
आफूले योग र ध्यानलाई सरकारको नीति तथा कार्यक्रममा नै समेटेर संस्थागत गर्न पहल गरेको चर्चा गर्दै गृह मन्त्रालयमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य प्रशासनिक क्षेत्र एवं कारागारमा समेत योग शिविरहरू सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले पतञ्जली योग समिति, नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सहकेन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसापत्र प्रदान गरे।
प्रभारी मिश्रले प्रमुख अतिथि श्रेष्ठसहित उपस्थित सबैलाई योगाभ्याससमेत गराएका थिए। कार्यक्रममा धन्यवाद मन्तव्य दिँदै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकै दिनमा योगसम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नभए पनि योगको महत्व र योगाभ्यासबारे शिविरले महत्वपूर्ण जानकारी दिएको बताए।
निश्चित अनुशासन र पद्धतिमा गरिने योगाभ्यासले शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोच निर्माण हुने उल्लेख गर्दै महानिरीक्षक कुँवरले योगले स्वस्थ व्यक्ति र सुखी समाज निर्माणमा सहयोग पुर्याउने बताए। उनले नेपाल प्रहरीमा नियमित योगाभ्यास गराउने लक्ष्यसहित नेपाल प्रहरी र पतञ्जली योग समितिबीच सम्झौता नै भइसकेको जानकारी दिए।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठ र महानिरीक्षक कुँवरलाई पतञ्जली योग समिति, नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले कृतज्ञताको चिनो प्रदान गरेका थिए। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाइन्छ।