काठमाडौं आसपासका राइडिङ गन्तव्य

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

अहिले अधिकांशको व्यस्त जीवनशैली छ । व्यस्तताबीच साताको एक दिन केही घन्टा समय छुट्याएर काठमाडौंनजिकको ठाउँ घुम्न जानेको संख्या पनि बढेको छ । विशेषगरी, गर्मी छल्नका लागि राइडरहरू यस समय शीतल ठाउँमा जाने गर्छन् । वर्षाको समय भएकाले पनि अहिले पक्की सडक भएका नजिकका गन्तव्यमा राइडिङका लागि जानु उपयुक्त हुन्छ । बिहान ब्रेकफास्ट गरेर १५–२० किलोमिटर मोटरसाइकल राइड गर्दा पनि काठमाडौंनजिकका मनमोहक स्थलहरूमा पुग्न सकिन्छ । त्यहाँ स्वच्छ हावासँगै मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ । मनोरम दृश्य, अग्ला पहाड, भञ्ज्याङ, संस्कृतिलाई नियाल्न पाइन्छ ।

गोदावरी :  सातदोबाटो हुँदै सीधै यात्रा सुरु हुन्छ । दायाँ–बायाँ नगरी गयो भने बोटानिकल गार्डेन हुँदै मास्तिरको भ्युटावर पनि घुम्न सकिन्छ । त्यहाँ कच्ची बाटो खासै छैन । ९५ प्रतिशत बाटो पिच भइसकेको छ । त्यस्तो ठाडो उकालो छैन, सजिलै डाँडा पुग्न सकिन्छ । जुनसुकै बाइक तथा स्कुटर लगेर जान सकिन्छ । गोदावरीस्थित बोटानिकल गार्डेनमा विभिन्न वनस्पतिको अवलोकन गर्न सकिन्छ । 

कालुपाण्डे डाँडा :  कलंकीबाट यात्रा सुरु गरेर कालुपाण्डे डाँडा पुगिन्छ । यसलाई स्विट्जरल्यान्ड पार्क पनि भनिन्छ । कलंकीबाट नैकाप हुँदै स्विट्जरल्यान्ड पार्क वा कालुपाण्डे डाँडा पुग्न सक्नुहुन्छ । जुन चन्द्रगिरि नगरपालिकामा पर्छ । ९० प्रतिशत बाटो पिच छ, १० प्रतिशत मात्रै कच्ची बाटो छ । तपाईंले जुनसुकै स्कुटर तथा बाइक लगेर जान सक्नुहुन्छ । यस डाँडाबाट काठमाडौं, भक्तपुर र ललितपुरका धेरै ठाउँ देखिन्छ । नुवाकोट, धादिङलगायत जिल्ला पनि देखिन्छ । मनास्लु हिमशृंखला पनि देख्न सकिन्छ । 

लाँकुरी भञ्ज्याङ 
लाँकुरी भञ्ज्याङ पनि बाइक राइड गरेर पुगिने छोटो गन्तव्य हो । त्यहाँको अधिकांश बाटो पिच छ । जंगल हुँदै राइड गर्न चाहनेहरूका लागि यो राम्रो गन्तव्य हो । यहाँ बिहानको समय निस्कँदा अझ राम्रो हुन्छ । ८५ प्रतिशत बाटो पिच छ भने केही भाग कच्ची रोड छ ।

नगरकोट :  भक्तपुरबाट देब्रे लाग्यो भने नगरकोटको यात्रा सुरु हुन्छ । यहाँ पनि बाटोमा प्रशस्तै जंगल क्षेत्र छ । जसले राइडरहरूलाई आनन्द दिलाउँछ । यहाँ रिसोर्ट प्रशस्तै छन् । चाँगुनारायण, खरीपाटीलगायत दुई–तीनतिरबाट पनि जान सकिन्छ । सूर्योदय हेर्नका लागि यो क्षेत्र निकै प्रख्यात छ । नगरकोटको भ्युटावरबाट विभिन्न हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । 

साँखु :  साँखुमा हरिया फाँटहरू हेरेर आनन्द लिन सकिन्छ । सांस्कृतिक रूपमा पनि यो क्षेत्र सम्पन्न छ । यहाँ साली नदी, बज्रयोगिनी मन्दिर पनि देख्न सकिन्छ । 

सुझावित समाचार