आवश्यक तालिम नलिई स्विमिङ सुरु गर्नुहुँदैन । नत्र, पानीमा डुबेर ज्यानै जान सक्छ । यदि तपाईं सिकारु हुनुहुन्छ वा स्विमिङको थोरै मात्र अनुभव छ भने धेरै गहिराइमा पौडनु हुँदैन । आफूलाई सहज हुने र आपत् पर्दा खुट्टा टेकेर बाँच्न सकिने ठाउँमा पौडनुस् ।
- पानीको सतह थोरै भएका स्विमिङ पुलमा डाइभ हान्न हुँदैन । खासगरी, कम पानी भएका ताल, पोखरी, नदी वा पुलमा डाइभ हान्दा गर्दन जमिनमा ठोक्किने जोखिम हुन्छ । भुइँमा गर्दन ठोक्किँदा मेरुदण्ड मोडिन्छ । जसले गर्दा स्पाइनल कर्डमा चोट लाग्ने गर्दछ । यस्तो चोटले कर्डमा गम्भीर समस्या आउने हुँदा कतिपयमा प्यारालाइसिसको समस्या पनि हुने जोखिम हुन्छ । तसर्थ, डाइभ हान्दा पानीको गहिराइ हेरेर मात्रै गर्नुपर्छ । पानीको गहिराइ अनुमान गरेर गर्यो भने राम्रो हुन्छ ।
- पानीभित्र हिंस्रक जनावारहरू हुन सक्छन् । नदी वा पोखरीमा गोही, सर्पजस्ता विषालु जीव हुन सक्छन् । यस विषय पनि ख्याल राख्नुपर्छ ।
- पानी दूषित पनि हुन सक्छ । जुका वा कुनै सरुवा रोग फैलिएको हुन सक्छ । जसले गर्दा अर्काे रोगको संक्रमण हुन सक्छ । त्यसैले दूषित पानीमा स्विमिङ गर्नुहुँदैन । छालामा एलर्जी पनि हुन सक्छ ।
- मदिरा सेवन गरेर कहिल्यै स्विमिङ गर्नुहुँदैन । मदिराले आपत्कालीन अवस्थामा प्रतिक्रिया गर्ने तपाईंको क्षमतालाई बिगार्न सक्छ । त्यसैले दुर्घटनाको जोखिम रहन्छ ।
- पौडन सक्ने आफ्नो क्षमता र पौडने स्थानलाई ख्याल गरेर आवश्यक सुरक्षा उपकरण लाइफ ज्याकेट, स्विम गगल्स, स्विम क्यापलगायत लगाउनुपर्छ । यसले तपाईंलाई सुरक्षा दिन्छ र स्विमिङ गर्दा सहज पनि बनाउँछ ।
- बिरामी भएका वेला कहिल्यै स्विमिङ जानुहुँदैन । दीर्घरोगी वा औषधि सेवन गरिरहेकाहरूले चिकित्सकसँग सल्लाह लिएर मात्रै स्विमिङ जानुपर्छ । स्विमिङ गर्नुअघि, गर्दा र गरिसकेपछि पर्याप्त पानी पिउनुपर्छ । यसले डिहाइड्रेसन हुनबाट जोगाउँछ । सूर्यको विकिरणबाट आफ्नो छालालाई जोगाउन उच्च एसपिएफयुक्त वाटरप्रुफ सनस्क्रिन लगाउनुपर्छ ।