पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचैजनाको पहिचान खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका– ७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका– ११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम– ५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरूलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।
यस्तै, फिदिम– ४ र हिलिहाङ– ७ को सिमाना माझीटार तमोर दोभानबाट दुईजना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम– ४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।
बाढीले याङवरक गाउँपालिका– २ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम– ४ र हिलिहाङ– ७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलिब्रिज) बाढीले बगाएको छ । यस्तै, फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं. ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘एक्स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।
बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका– ३ पाङ्ग्रेभिरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम– ३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।
वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका– ४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै, फाल्गुनन्द– ७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक– २ मा दुईवटा र फालेलुङ– ३ र ५ को सीमाको एक झोलुंगे पुलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सडक सम्पर्कविच्छेद
भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । गएराति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम– ४ र हिलिहाङ– ७ जोड्ने हंवाखोला पुल बगाएको छ ।
बाढीले ५४.५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । ०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर, गएरातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो ।
यस्तै, तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलिब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम– ४ र हिलिहाङ– ७ लाई जोड्ने बेलिब्रिजका सबै संरचना बाढीमा बगेका छन् ।
दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ । यस्तै, यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ ।