बजेटमा सरकारसँग सम्झौता गरिएकाे छैन : एमाले बागमती

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश सरकारसँग बजेटमा कुनै सम्झौता नगरेको बताएको छ। 

प्रदेश सरकारको बजेट सार्वजनिक गर्न केही समय मात्रै बाँकी रहेको वेला पत्रकार सम्मेलन गर्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले यस्तो बताएका हुन्।

एमालेले २५–३० करोड रुपैयाँमा बजेट पास गर्न दिने सहमति गरेको भन्ने कुरामा कुनै आधार नभएको नेता थपलियाले बताए।

‘एमालेका सांसदहरूले माग गरेका योजनामा २५–३० करोड रुपैयाँ दिएपछि सजिलै बजेट पास गर्न दिन्छ भन्ने बजारमा हल्ला चलाइएको रहेछ। यसमा कुनै सत्यता छैन,’ उनले भने, ‘बजेट राम्रो बनेको भए समर्थन र नराम्रो भए खारेजको माग गर्छौँ।’

नेता थपलियाले सरकारले ल्याउने बजेट राम्रो नभएको छनक आफूहरूले पाएको दाबी गर्दै सरकारले अनावश्यक हल्ला फिँजाएर विषयान्तर गर्न खोजेको दाबी गरे। 

‘प्रदेश सरकारले बजेटमा विपक्षी दलहरूलाई समेट्न सकेको छैन। सत्तापक्ष र विपक्षबीच विभेद गरेर बजेट ल्याउने तयारी भएको छ। सरकारले नागरिकलक्षित कार्यक्रमहरू बजेटमा समावेश गर्न नसक्दा भ्रम फैलाउन खोजिरहेको छ,’  नेता थपलियाले आरोप लगाए।

यस्तै, नेता थपलियाले निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम ब्युँताउन एमालेले मात्रै प्रस्ताव गरेको भनेर पनि सत्ता पक्षकाले आरोप लगाएको दाबी गरे। उनले निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रमका विषयमा सबै दलका सांसदहरूको चासो रहेको बताए। 

‘एमालेको मागअनुसार मात्रै बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रम समावेश हुने होइन। यसमा सबै दलका सांसदहरूको चासो छ। सत्तापक्षका सांसदले नै प्रि–बजेट छलफलमा यस विषयमा बोलेका थिए,’ उलने भने।

पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश संरचनाको स्थायित्व, विकास निर्माणका कामको प्रभावकारितालगायतका विषयमा सरकारले गम्भीर ढंगबाट अघि बढ्नुपर्ने भए पनि सरकार यी विषयहरूमा उदासीन भएको दाबी गरे।

सरकारले प्रस्तुत गर्ने बजेटको अवस्था हेरेर समर्थन वा विरोध गर्ने बताउँदै विरोधका लागि विरोध र आँखा चिम्लेर समर्थन पनि नगर्ने स्पष्ट पारे।

सुझावित समाचार