सन् २०२३ को पहिलो पाँच महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर ३४ लाख ७४ हजार यात्रुले हवाई यात्रा गरेका छन् । यी यात्रुहरूमध्ये १६ लाख ३१ हजार आन्तरिक र १८ लाख ४३ हजार अन्तर्राष्ट्रिय यात्रा (आवत–जावत) गरेका हुन् । जनवरीदेखि मेसम्मको आँकडाले आन्तरिकभन्दा अन्तर्राष्ट्रिय यात्रुहरू धेरै देखाएको छ ।
पाँच महिनाको अवधिमा नौ लाख ९७ हजार यात्रु त्रिभुवन विमानस्थल भएर विभिन्न देशतर्फ लागेका छन् भने आठ लाख ४६ हजार नेपाल भित्रिएका छन् । नेपाल आउनेभन्दा नेपालबाट बाहिरिने यात्रुको संख्या डेढ लाखभन्दा धेरै छ । सोही अवधिमा आठ लाख ११ हजार यात्रु त्रिभुवन विमानस्थलबाट देशका विभिन्न गन्तव्यतर्फ गएका छन् भने आठ लाख १९ हजार यात्रु विभिन्न ठाउँबाट काठमाडौं आएका छन् ।
आन्तरिक यात्रु कुन महिना कति ?
पाँच महिनामा आन्तरिकतर्फका १६ लाख ३० हजार हवाई यात्रु बोक्न त्रिभुवन विमानस्थलमा ४० हजार तीन सय ३६ उडान–अवतरण भएका छन् । जसमध्ये २० हजार एक सय ७५ उडान र २० हजार एक सय ६१ अवतरण भएका छन् । जनवरीमा त्रिभुवन विमानस्थल भएर एक लाख ३१ हजार यात्रु आवत–जावत गरेका छन् । यस्तै, फेब्रुअरीमा एक लाख ३८ हजार, मार्चमा एक लाख ७५ हजार, अप्रिलमा एक लाख ८१ हजार र मेमा एक लाख ९७ हजार हवाई यात्रुले यात्रा गरेका छन् । मे महिनामा काठमाडौं आउने र काठमाडौंबाट देशका विभिन्न गन्तव्यतर्फ लाग्ने हवाई यात्रु सबैभन्दा धेरै रहेको देखिन्छ । पाँच महिनामा एक हजार तीन सय सात टन आन्तरिक कार्गो ढुवानी भएको छ ।
अन्तर्राष्ट्रिय यात्रु कुन महिना कति ?
पाँच महिनाको अवधिमा अन्तर्राष्ट्रिय यात्रा गरेका साढे १८ लाख यात्रुलाई बोक्न त्रिभुवन विमानस्थलमा १२ हजार सात सय ६६ उडान–अवतरण भएका छन् । अन्तर्राष्ट्रिय वायुसेवाले ६ हजार तीन सय ८२ उडान र ६ हजार तीन सय ८४ पटक अवतरण गरेको विमानस्थल कार्यालयको तथ्यांक छ ।
जनवरीमा तीन लाख ४६ हजार यात्रुले अन्तर्राष्ट्रिय यात्रा (आवत–जावत) गरे भने फेब्रुअरीमा तीन लाख ३४ हजार, मार्चमा तीन लाख ९८ हजार, अप्रिलमा तीन लाख ८९ हजार र मेमा तीन लाख ७७ हजार यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । पर्यटकीय सिजन मार्च, अप्रिल र मेमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु आवत–जावत गरेको देखिन्छ । मार्चमा एकै महिना आउने–जाने गरी करिब चार लाख यात्रुले त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गरेका छन् ।
पाँच महिनाको अवधिमा सात हजार तीन सय २५ यात्रुले त्रिभुवन विमानस्थलमा ट्रान्जिट सुविधा लिएका छन् । जनवरीमा दुई हजार एक सय ३६, फेब्रुअरीमा एक हजार तीन सय ४५, मार्चमा तीन हजार दुई सय ६३, अप्रिलमा चार सय ४७ र मेमा एक सय ३४ यात्रुले ट्रान्जिट सुविधा लिएको विमानस्थल कार्यालयको तथ्यांक छ ।
पाँच महिनामा विभिन्न देशबाट चार हजार पाँच सय २० टन कार्गो विभिन्न मुलुकतर्फ ढुवानी भएको छ भने चार हजार सात सय १२ टन कार्गो नेपाल भित्रिएको छ । यो अवधिमा कुल नौ हजार दुई सय ३३ टन कार्गो ढुवानी भएको देखिन्छ । नेपालका विभिन्न भन्सार नाकाहरूमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पनि प्रमुुखमध्येमा पर्छ । जहाँबाट सुनचाँदी, मोबाइल, ल्यापटपजस्ता इलेक्ट्रोनिक सामग्रीलगायत बहुमूल्य वस्तु आयात हुने गर्छ ।