बढ्दो ध्वनि प्रदूषणले हाइपरटेन्सन, स्ट्रोक, हृदयाघातलगायत जटिल स्वास्थ्य समस्याको जोखिम बढाएर मानिसको आयु कम गर्ने पछिल्लो अध्ययनले देखाएको छ । न्युयोर्क टाइम्सले यस अध्ययनका दौरान मिस्सिसिपी राज्यका ग्रामीण क्षेत्र, न्युयोर्क सहर, क्यालिफोर्निया तथा न्यु जर्सी राज्यका आवासीय क्षेत्रका मानिसहरूसँग ध्वनि प्रदूषणले पारेको असरबारे अन्तर्वार्ता गरेको थियो ।
त्यस्तै, प्रोफेसनल साउन्ड मिटरमार्फत शान्त कोठा, व्यस्त सडक, यातायातका विभिन्न साधन र घरमा प्रयोग हुने विभिन्न उपकरणको ध्वनि मापन गरिएको थियो । विभिन्न विश्लेषणात्मक सामग्रीहरूको अध्ययन र वैज्ञानिक तथा स्वास्थ्यविज्ञहरूसँग छलफल गरिएको थियो ।
यातायतको चाप तथा कोलाहलका कारण सहरी इलाकामा बस्नेहरू ध्वनि प्रदूषणको उच्च मारमा रहेकोे अध्ययनले जनाएको छ । तर, तुलनात्मक रूपमा शान्त मानिने ग्रामीण वा आवासीय क्षेत्रमा बस्ने समुदाय पनि जोखिममुक्त नरहेको अध्ययनको ठहर छ ।
दीर्घकालीन विकासका लागि बढ्दो वातावरणीय जोखिमविरुद्ध कार्यरत संस्था अर्थ फाइभ आरले गत जनवरीमा भारतका १५ सहरमा गरेको अध्ययनले पनि बढ्दो ध्वनि प्रदूषणलाई ‘साइलेन्ट किलर’का रूपमा चित्रण गरेको थियो । ध्वनि प्रदूषणले निम्त्याउन सक्ने चुनौतीहरूबारे पछिल्ला वर्षहरूमा विभिन्न देशमा अध्ययन भएका छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टले ध्वनि प्रदूषणले टिनाइटस अर्थात् कानमा कुनै आवाज आइरहने अवस्था, निद्रामा गडबडी, इस्केमिक मुटुरोग, मोटोपना, मधुमेह, समयअगाडि बच्चा जन्मिने अवस्था, बच्चामा संज्ञानात्मक कमजोरीलगायत समस्या बढाइरहेको उल्लेख छ । सवारीको चर्को आवाजका कारण पश्चिमी युरोपमा बर्सेनि झन्डै १० लाखभन्दा बढी व्यक्तिमा विभिन्न रोगको जोखिम बढिरहेको पनि उक्त अध्ययनमा उल्लेख थियो ।
ध्वनि प्रदूषणको असरबारे लन्डनस्थित क्विन मेरी युनिभर्सिटीले पनि लामो समयदेखि अध्ययन गरिरहेको छ । युनिभर्सिटीकी प्रोफेसर मनोचिकित्सक स्टेफन स्टुयानफल्डले ध्वनि प्रदूषण पछिल्लो समय मुख्य स्वास्थ्य समस्या निम्त्याउने कारक बनिरहेको बताएका छन् । ‘होहल्लाले रातको समयमा मात्र नभई दिनमा पनि शरीरमा तनाव बढाइरहेको छ । सामान्यतया हल्ला सुन्नेबित्तिकै हाम्रो मस्तिष्कले प्रतिक्रिया जनाउँछ । मस्तिष्कले हल्लामाथि जति धेरै प्रतिक्रिया जनाउँछ, त्यति नै रक्तचाप बढ्छ । जसकारण हृदयाघातलगायत विभिन्न रोगको जोखिम बढ्छ ।’
इम्पेरियल कलेज लन्डनले गरेको अध्ययनले नियमित ध्वनि प्रदूषणबाट उत्पन्न हुने तनावले रक्तचापसँगै शरीरका विभिन्न भाग सुन्निने, निद्रामा गडबडी निम्त्याउनेलगायत समस्यासमेत बढाउने निष्कर्ष निकालेको छ । मुड परिवर्तन हुने र शरीरमा समेत नकारात्मक असर देखिने उक्त अध्ययनले जनाएको छ ।
डब्लुएचओका अनुसार २४ घन्टा अवधिमा ध्वनिको स्तर ७० डेसिबलभन्दा कम हुनुपर्छ । यसभन्दा माथि पुग्दा हाम्रो श्रवण शक्तिमा ह्रास आउन थाल्छ । भवन निर्माण तथा अन्य निर्माण कार्य, सवारीबाट निस्कने ध्वनिसँगै संगीतबाट निस्कने ध्वनिसमेत नियन्त्रणमा राख्न विज्ञहरूले सुझाउँदै आएका छन् । बढ्दो ध्वनि प्रदूषण र यसले निम्त्याइरहेको स्वास्थ्य समस्या निवारणका लागि विभिन्न देशले रातको समयमा ‘क्वाइट आवर’ नीति लिइरहेका छन् । आवासीय क्षेत्रहरूमा मानिसले राम्रोसँग बाँच्न, सुत्न र पढ्न पाउने वातावरण बनाउन यस्तो नीति अघि सारिएको हो ।
सानो गर्नुस् संगीतको आवाज
चर्को आवाजको तुलनामा कम आवाजलाई लामो समयसम्म सुन्न सकिने विभिन्न अध्ययनले जनाएका छन् । ती अध्ययनले हेडफोन वा संगीतको साउन्ड कम गर्न पनि सुझाव दिएका छन् । हेडफोनलगायत उपकरणका कारण विश्वका एक अर्बभन्दा धेरै युवा श्रवण शक्ति ह्रासको जोखिममा रहेको डब्लुएचओको पछिल्लो प्रतिवेदनले औँल्याएको छ ।
एजेन्सीको सहयोगमा