अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल) ९ देखि २१ मंसिरसम्म आयोजना गर्ने तालिका निकालेको छ । एन्फाले आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनएसइएम)लाई नयाँ मिति दिएको हो । पछिल्लोपटक ०७८ चैत २६ देखि १ जेठसम्मको मिति तोकिएको थियो ।
दोस्रो संस्करणमा तीन टोली थप्दै १० क्लबबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ । खेलाडीको अक्सन भइसकेको अवस्थामा एन्फाले प्रतियोगिता रोकेको थियो । तत्कालीन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वले दोस्रो संस्करणको मिति घोषणा गर्दाै सहिद स्मारक ए डिभिजन लिग क्लबका आठ क्लबले विरोध जनाएका थिए ।
लिगको साबिक विजेता मच्छिन्द्र फुटबल, मनाङ मस्र्याङ्दी, न्युरोड टिम, जावलाखेल, सातदोबाटो, थ्री स्टार र फ्रेन्ड्सले खेलाडी रिलिज नगर्ने भनी विरोध गरेका थिए । ‘नयाँ मिति पाएका छौँ । यो खुुसीको कुरा हो । फेरि एकपटक फ्रेन्चाइज फुटबलको रौनक बढ्नेछ,’ एनएसइएमका कार्यकारी निर्देशक सुदीप शर्माले नयाँ पत्रिकासँग भने । उनले यो मिति परिवर्तन नहुने बताए ।
अक्सनको पुनर्विचार
दोस्रो संस्करणको एनएसएलमा साबिक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लब झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगन्ज युनाइटेड छन् । मार्कीसँगै अक्सनबाट आएका ५० माथि खेलाडी विदेश पलायन भइसकेकाले प्रतियोगिताअघि अनुबन्धमा पुनर्विचार गरिने भएको छ ।