पूर्वी नवलपरासीमा अत्यधिक गर्मी बढेपछि गर्मी छल्न नदी, खोलामा पौडी खेल्न, नुहाउन जाँदा डुबेर पाँचजनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार कालीगण्डकी नदीमा दुईजना, अरुणखोलामा दुईजना र ज्यामिरे खोलामा एकजना गरी पाँचजनाको निधन भएको हाे। उनका अनुसार पाँचमध्ये दुईजना बालबालिका र तीनजना युवा छन्।
नवलपुरमा अत्यधिक गर्मी बढेपछि अहिले नारायणी नदी, कालीगण्डकी नदीका साथै साना–ठूला खोलामा नुहाउन तथा पौडी खेल्न जानेको अत्यधिक भिड लागेको छ।
मंगलबार साँझ मध्यविन्दु नगरपालिका– १० अरुण खोलाको पुलमुनि पौडी खेल्ने क्रममा डुबेर मध्यविन्दु– १० टाँडीनिवासी विमलसिंह खान्गाका छोरा १३ वर्षीय महेश खान्गाको निधन भएको थियो।
५ बजेतिर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको १० मिनेटभित्र स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएको भए पनि उनलाई अस्पतालले साँझ ६ बजेतिर मृत घोषणा गरेको थियो।
त्यसैगरी, आइतबार नवलपुरकै विनयी त्रिवेणी गाउँपालिका– २ निवासी १३ वर्षीया बालिका जुनु खड्काकाे ज्यामिरे खोलामा डुबेर निधन भएको छ। घरनजिकै घाँस काट्न गएकी जुनु घाँस काटेर सकिएपछि ज्यामिरे खोलामा गर्मी छल्न पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो।
त्यसैगरी, शनिबार मध्यविन्दु नगरपालिका– १४ बतासास्थित अरुणखोलाको मुखे ढुंगा पानीको रहमा पौडी खेल्न गएका एकजना शिक्षकको डुबेर निधन भएको छ। मध्यविन्दु– १० जनता माविका सातजना शिक्षक पौडी खेल्न गएकोमा देवचुली– १५ प्रगतिनगर बस्ने ३० वर्षीय कृष्ण सुवेदीको निधन भएको हो।
यता शुक्रबार गैँडाकोट– ३ केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका चितवनको रत्नगर- २ टाँडीनिवासी २४ वर्षीय सुरज सुवेदी र नवलपुरका गैँडाकोट– २ निवासी २५ वर्षीय रमेश चालिसेको पनि डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक तिवारीले बताए।
गर्मीका कारण विद्यालय बिदा हुँदा बालबालिका पौडी खेल्न जाने क्रम बढेको र अभिभावकले बालबालिकाको ध्यान दिन विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धनश्याम गिरीले आग्रह गरेका छन्।
यसैबीच, जिल्ला प्रहरी कार्यालय नवलपुरले पालिकाहरूलाई सूचना नै पठाएर बालबालिकालाई दिउँसोको समयमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक तिवारीले भने, ‘बिहानको समय विद्यालय खोल्दा दिनभर बालबालिकालाई खेल्न फुर्सन हुने र सो क्रममा नजिकका खोला, नदी नालामा पौडी खेल्न जाने क्रम बढेकोले त्यसलाई नियन्त्रण गर्न आवश्यक देखिएको छ।’