काठमाडौं/ महाराजगन्जस्थित मन्त्र थकाली रेस्टुरेन्टको खानामा किरा भेटिएको उजुरी परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार दिउँसो आकस्मिक अनुगमन गरेका छन्।
अनुगमनका क्रममा रेस्टुरेन्टको भान्सा फोहोर र अव्यवस्थित पाइनुका साथै साङ्ला र भुसुना भेटिएपछि सञ्चालकलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णका अनुसार एक उपभोक्ताले खानामा किरा भेटिएको भन्दै फोनमार्फत उजुरी गरेपछि तत्कालै अनुगमन टोली खटाइएको थियो।‘उजुरी पर्नासाथ त्यहाँ अनुगमन गर्न टोली खटायौँ। त्यस क्रममा भान्सा साह्रै फोहोर र अव्यवस्थित भेटियो र ऐनअनुसार जरिवाना गरिएको छ,’ उनले भने।
रेस्टुरेन्टको बाहिरी पूर्वाधार राम्रो देखिए पनि भान्सामा सरसफाइको कमी पाइएको महानिर्देशक कर्णले बताए।
खाद्य विभागले तयार पारेको अनुगमन प्रतिवेदनमा भान्साको सरसफाइ सन्तोषजनक नरहेको, साङ्ला दौडिरहेको र भुसुना यत्रतत्र उडिरहेको अवस्थामा भेटिएको उल्लेख छ। यस्तो अवस्थाले खानामा किरा पर्न सक्ने जोखिम रहेको प्रतिवेदनमा जनाइएको छ।
अनुगमन टोलीले रेस्टुरेन्टलाई सात दिनभित्र भान्साको अवस्था सुधार गरी त्यसबारे लिखित जानकारी गराउन निर्देशन दिएको खाद्य विभागले जनाएको छ।