पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौदी नजिक सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार साँझदेखि आवागमन ठप्प हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौंलगायत विभिन्न गन्तव्यतर्फ जाँदै गरेका यात्रुहरू समस्यामा परेका छन्। लामो दूरीको यात्रा गरिरहेका यात्रुहरूलाई रात बिताउनसमेत कठिन भएको छ। सडक कहिले खुल्छ भन्ने निश्चित नहुँदा उनीहरू अन्योलमा परेका छन्।
भारतबाट काठमाडौं हुँदै पशुपतिनाथको दर्शन गर्न आएका सञ्जय चौधरी पनि गलौदीमा अलपत्र परेका छन्। गन्तव्यमा पुग्न नपाउँदै बाटोमै बास बस्नुपरेको उनले बताए।
‘आउँदाआउँदै गन्तव्यमा नपुगी बाटोमै बास पर्यो। बाटो कहिले खुल्छ, थाहा छैन,’ उनले भने, ‘पशुपति दर्शन गर्न भारतबाट आएको हुँ। नचिनेको ठाउँमा बाटोमै अलपत्र परेँ।’
पोखराबाट आएका दिपेन्द्र परियार पनि परिवारलाई भेट्न घर जाने क्रममा गलौदीमा रोकिएका छन्। साना सवारीसाधन आवतजावत गर्न थालेको भन्ने सुनेपछि अघि बढेका उनी परिवारसँग भेट्न निर्धारित समयमा घर पुग्न सकेनन्।
‘नजिकै होटल पनि रहेनछ। पानीकै भरमा रात बिताउनुपर्ने भयो। देशको मुख्य राजमार्गको हालत यस्तो छ, हामी नागरिकले जहिल्यै सास्ती खेप्नुपर्ने,’ उनले गुनासो गरे।
त्यस्तै, काठमाडौं हुँदै सिन्धुली जान लागेका शिवचरण दनुवार पनि सडक अवरुद्ध भएपछि समस्यामा परेका छन्। यात्राको समय र खर्चको व्यवस्थापन गरेर हिँडे पनि बीच बाटोमै रात बिताउनुपर्ने अवस्था आएको उनले बताए।
‘पुग्नुपर्ने गन्तव्यअनुसार खर्च बोकेर हिँडिएको हुन्छ। समय पनि त्यहीअनुसार व्यवस्थापन गरिएको हुन्छ,’ उनले भने, ‘दिउँसो भए पनि ठिकै थियो। यसरी बाटोमै रात बिताउनुपर्ने गरी अलपत्र परेपछि कहाँ जाने, के गर्ने? साह्रै सास्ती पाइयो।’
वैकल्पिक मार्गसमेत अवरुद्ध
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक मार्गको खोजीमा छन्। तर, गलौदी–घाटबेंसी भित्री सडकसमेत पृथ्वी राजमार्गमा नयाँ ट्र्याक खोल्ने क्रममा भासिएपछि अवरुद्ध बनेको छ। यसले यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन थप प्रभावित भएको छ।
देशको प्रमुख राजमार्गमध्ये एक पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यका र विभिन्न जिल्लाबीचको आवागमन प्रभावित भएको छ। हजारौं यात्रु गन्तव्यमा पुग्न नसकेपछि राजमार्ग खुल्ने प्रतीक्षामा छन्।
ब्याक कटिङको काम ६० प्रतिशत सकियो, आइतबारदेखि सञ्चालनमा ल्याउने लक्ष्य
सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन नयाँ ट्र्याक खोल्ने काम तीव्र पारिएको छ। नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार शनिबारसम्म ब्याक कटिङको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ।
‘शनिबार बिहानैदेखि ६ वटा एक्साभेटर, दुईवटा लोडर र दुईवटा ब्याकलोडर प्रयोग गरेर काम भइरहेको छ,’ अधिकारीले भने, ‘सकेसम्म चाँडो राजमार्ग सञ्चालनमा ल्याउन राति पनि बत्ती बालेर अबेरसम्म काम गर्यौँ।’
उनका अनुसार आइतबार बिहानैदेखि पुनः काम सुरु गरी सकेसम्म बिहानैदेखि राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिनेछ।
भासिएको सडकको छेउतर्फ ब्याक कटिङ गरी नयाँ ट्र्याक बनाएर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको हो। त्यसका लागि १५७ मिटर लम्बाइ, ६ मिटर चौडाइ र १२ मिटर उचाइसम्मको भित्ता काट्नुपर्ने अधिकारीले बताए।
‘अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ। आइतबार पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्य छ,’ उनले भने।
वर्षायाममा पटक–पटक अवरुद्ध हुँदै आएको राजमार्ग
यसअघि भोटेकोसीमा आएको बाढीका कारण भदौ १४ गते पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक भासिएको थियो। त्यसपछि नयाँ ट्र्याक खोलिएर असोजदेखि राजमार्ग सञ्चालनमा आएको थियो। तर, वैकल्पिक मार्गका रूपमा खोलिएको कृष्णभीर क्षेत्रको सडकमा वर्षायाममा पहिरो खस्दा पटक–पटक यातायात अवरुद्ध हुँदै आएको छ।
पृथ्वी राजमार्गअन्तर्गत परेवाभीर, चालिसे र बाङ्गे लगायतका क्षेत्रमा खस्ने पहिरोले पनि यात्रु तथा सवारीसाधनलाई समस्या पार्दै आएको छ।
६५ भन्दा बढी जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा दैनिक १३ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने बताइन्छ। अवरोधका बेला सवारीसाधनको चाप सामान्य अवस्थाको तुलनामा झन्डै तेब्बर पुग्ने गरेको छ।
अत्यावश्यक सेवाका सवारीसाधन, यात्रुवाहक बस तथा मालवाहक ट्रकको उच्च चाप रहने यो राजमार्गको भरपर्दो वैकल्पिक मार्ग नहुँदा वर्षायाममा सडक अवरुद्ध हुँदा यात्रुहरूले हरेक वर्ष सास्ती खेप्नुपरेको छ।