काठमाडौं महानगरपालिकाले फुटपाथमा भइरहेको व्यापार–व्यवसाय हटाएपछि उपत्यकाको ट्राफिक जामसमेत घटेको जनाएकोे छ । महानगरका ट्राफिक प्रहरी सल्लाहकार जगतमान श्रेष्ठका अनुसार फुटपाथमा सहज आवागमन हुँदा सवारी आवागमनमा समेत पाँच मिनेट छिटो भएको छ ।
महानगरले गत भदौदेखि फुटपाथ व्यापारमाथि कडाइ गरेको थियो । त्यससँगै सवारीसाधनको ओहोरदोहोरमा पनि सहजता भएको महानगरको दाबी छ । अहिले फुटपाथ खाली भएका छन्, पदयात्रीहरू ढुक्कसँग हिँड्न सक्ने अवस्था छ । सल्लाहकार श्रेष्ठले भने, ‘अहिले महानगरभित्रका सबैजसो फुटपाथबाट व्यापार हटेको छ, यसले फुटपाथलाई सुन्दर त बनाएको छ नै, यसबाहेक सवारी ओहोरदोहोरमा पनि सहज भएको छ । फुटपाथ खाली भएपछि सवारी ओहोरदोहोरमा पाँच मिनेट छिटो भएको छ ।’
उनका अनुसार नगर प्रहरी र विज्ञ ट्राफिक प्रहरीहरूको टोलीले फुटपाथ हटाएपछिको अवस्थाका बारेमा अध्ययन गरेको थियो । दुई महिनाअघि गरिएको अध्ययनका क्रममा फुटपाथ हुँदा जाम र अस्तव्यस्त हुने सडक खुकुलो देखिए । फुटपाथमा खुला हुँदा एउटै ठाउँमा धेरै समय जाम पर्ने समस्या हटेको महानगरको निष्कर्ष छ । अध्ययनका क्रममा फुटपाथ नहट्दाको स्थितिमा भन्दा हटेपछि यातायात ओहोरदोहोरमा पाँच मिनेट छिटो भएको छ ।
फुटपाथ खाली भएपछि तुलनात्मक रूपमा पाँच मिनेट छिटो यात्रु गन्तव्यमा पुग्ने गरेको अध्ययनले देखाएको छ । उक्त अध्ययन उपत्यकाका मुख्य चोकमा हुने जामलाई आधार मानेर गरिएको थियो । कोटेश्वर, नयाँ बानेश्वर, सुन्धारा, रत्नपार्क, गौशाला, चाबहिल, नयाँ बसपार्क, कालिमाटी, टेकु, कलंकी, लैनचौर, बालाजुलगायत क्षेत्रका चोकहरूमा प्रतिनिधिहरू पुगेर अध्ययन गरेका थिए ।