एनआइसी एसिया बैंकले ल्यायो क्युआर मर्चेन्ट एक्टिभेसन योजना

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो क्युआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधासहितको क्युआर मर्चेन्ट एक्टिभेसन योजना ल्याएको छ । डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पुर्याउने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । 

असार मसान्तसम्म सञ्चालन हुने योजनामा उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुने जनाइएको छ । देशभर दुई लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिति जनाइसकेको दाबी गर्दै बैंकले क्युआर भुक्तानीलाई प्रोत्साहन गर्न विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलोपटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरूमार्फत आकर्षक लाभको व्यवस्था गरेको जनाइएको छ ।

योजनाअनुसार यती एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट दुई हजार रुपैयाँबराबरका १० वटा ह्याम्पर, त्रिकट इन्डस्ट्रिजको तर्फबाट पाँच–पाँच हजार रुपैयाँबराबरको एक सयवटा भौचर, हार्ड रक क्याफेको तर्फबाट १० वटा ननभेज बिबिक्युको भौचर, बिग डिजिटलको तर्फबाट एक–एक थान राइस कुकर, ब्रेकफास्ट मेकर तथा ह्यान्ड ब्लेन्डर र सिजी डिजिटलको तर्फबाट एक–एक थान मिक्सर ग्राइन्डर, इन्डक्सन कुकर तथा ड्राई आइरनको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

साथै, ट्र्याङक्विलिटी स्पाको तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजार रुपैयाँका चारवटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं दुईवटा इयरबड, कुटुम्ब होटेलका तर्फबाट दुई–दुई हजार रुपैयाँका पाँचवटा भौचर, अपटाउन रेस्टुरेन्टको तर्फबाट १५–१५ सयबराबरका पाँचवटा भौचर र स्क्वायर होटेलका तर्फबाट दुई–दुई हजारका तीनवटा भौचर प्रदान गर्ने जनाइएको छ ।

यी उपहार विजेता बैंकले दुई सय मर्चेन्टहरूलाई उनीहरूको कारोबार रकम र कारोबार संख्याका आधारमा छनोट गर्ने जनाएको छ । उपहार प्रदान गर्ने समझदारी गरेका कम्पनीहरूले हस्तान्तरण गर्ने जनाइएको छ । योजनाअनुसार बैंकले राखेको फोनपे क्युआर कोडमार्फत असार मसान्तसम्ममा पहिलो क्युआर भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरूले एकपटक वा पटक–पटक गरी दुई सय रुपैयाँभन्दा माथिको भुक्तानी लिँदा कुल एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्ने उल्लेख छ । 

बैंकले हाल देशभरमा तीन सय ६० शाखा, चार सय ७३ एटिएम, एक सय नौ विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार