सप्तरीको राजगढ गाउँपालिकाले औषधि र स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको पाइएको छ। गाउँपालिकाले गत आर्थिक वर्ष ०७८/७९ मा औषधि तथा स्वास्थ्य उपकरण खरिद गर्दा प्रक्रिया नपुर्याएको महालेखाको प्रतिवेदनले औँल्याएको छ।
सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार २० लाख रुपैयाँसम्मको खरिद–बिक्री गर्दा राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ। तर, राजगढ गाउँपालिकाले ३८ लाख ५८ हजार नाै सय २० रुपैयाँबराबरको औषधि तथा स्वास्थ्य उपकरण खरिद गर्दा उक्त प्रक्रिया नपुर्याएको पाइएको हो।
पालिकाले खरिद गरिएको औषधिमा निःशुल्क वितरण गरिने छाप लगाएकोसमेत नपाइएको महालेखापरीक्षकको प्रतिवेदन २०७९ मा औँल्याइएको छ।
गाउँपालिकाले भने सोझै खरिद गरिएको विषय अस्वीकार गरेको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र यादवले नियमअनुसार नै खरिद गरिएको दाबी गरे।यता, गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले पनि प्रक्रिया पुर्याएरै खरिद गरिएको बताए पनि थप कुरा उल्लेख गरेनन्।