‘आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यावहारिक र अनावश्यक’

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

नेपाल कृषिउपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यावहारिक भएको बताएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरू आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको हो। 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषिउपज आलु तथ प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८०/८१ बजेट वक्तव्यको एक बुँदा र सँगै प्रस्तुत भएको आर्थिक ऐन, २०८० ले व्यवसाय तथा उपभोक्तालाई समेत प्रतिकूल असर पर्ने बताए। 

उनले देशमा महँगी बढिरहेको वेलामा आलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनुभएको जिकिर गरे। उनले यो अवस्थामा पूर्ण परिणाममा मुअ कर तिरेको भए पनि सम्पूर्ण वस्तुहरू बजारमा बिक्री गर्न असमर्थ हुने स्पष्ट पारे।

हाल आलु तथा प्याजमा नाै प्रतिशत कृषि सेवाशुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएको पनि बताए। उनले यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको जिकिर गरे। 

यस्तो नीतिले व्यवसाय संकुचित हुने र १३ प्रतिशत भ्याट लगाउँदा आलु तथा प्याज एकतिहाइले महँगिने उनको भनाइ थियो। 

संघले आलु तथा प्याजको कारोबारमा भ्याट आकर्षित गर्नु अनुचित, अव्यावहारिक, अनावश्यक, अन्यायपूर्ण र महँगीलाई मलजल गर्ने भएकाले आर्थिक ऐन, २०८० बमोजिम आलु तथा प्याजमा भ्याट आकर्षित गर्ने उपभोक्ता हितविरोधी काम नगर्न सरकारसँग आग्रह गरेको छ। 
 

सुझावित समाचार