धर्म र राज्यसत्ताको आलोचना

मानिसको धर्मासक्तिको कमजोरीलाई राज्यसत्ताले राम्ररी बुझेर आफ्नो स्थायित्व र वर्चस्वका निम्ति हमेसा चतुर्‍याइँपूर्वक प्रयोग गर्दै आएको छ

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

कार्ल मार्क्सले धर्मलाई अफिम भनेका थिए । सन् १८७३ मा ‘ए कन्ट्रिब्युसन अफ द क्रिटिक अफ फिलोसफी फ्रम हिगल’ नामक कृतिमा उनले लेखे– “धर्म उत्पीडित प्राणीको चित्कार, हृदयहीन संसारको हृदय र आत्माको स्थिति हो । यो जनताको अफिम हो ।” यसको अर्थ मार्क्सले धर्मलाई मानिसको पीडाको निकासको माध्यम पनि भनेका छन् ।

ईश्वरका भक्तहरूले मन्दिर, मस्जिद, गिर्जाघर आदि देवस्थलमा ईश्वरको पुकारा गर्दै, आफ्नो दुःख सुनाउँदै भावविह्वल भएर ‘आखिर श्रीकृष्ण रहेछ एक’जस्ता भजन गाउँदै गरेको दृश्य तपाईंले हेर्नुभयो होला । यो जीवन बाँच्नुको जटिलतामा चौतर्फी बेरिएका मानिसलाई आफ्ना दुःख, असफलता, निराशा र कुण्ठा आदि पीडा कुनै अलौकिक वा आफूभित्रै कल्पित कुनै भावमय अस्तित्वको जिम्मा लगाएर केहीबेर हलंगो हुनु हो । यसले दुःखको भौतिक स्थिति यथावत् रहे पनि मानसिक रूपमा भक्तलाई केहीबेर दुःखको पीडाबाट भुलाउँछ, आनन्दबोध गराउँछ । अफिमले पनि यही गर्छ । अफिमको नशामा मस्त मानिसले पनि केहीबेरलाई संसारको दुःख भुलेर अवर्णनीय आनन्दको अनुभूति गर्छ । 

अफिमको व्यसनले एउटा असामाजिक व्यापारको अवसर सिर्जना गर्छ । तर, धर्मासक्तिले अवास्तविक र अलौकिक तथा केही चतुर मानिसलाई ईश्वरत्व र देवत्वमा परिभाषित गर्ने तथा सामान्यजनमाथि शोषण र शासनको औचित्य सिद्ध गर्ने अवसर दिन्छ । धर्म, भावविह्वलतामा आफूलाई बिर्सनु त हो नै, धर्मका नाममा शासन र शोषणलाई ईश्वरीय नियतिका रूपमा व्याख्या गर्नु झन् बढी निर्मम हृदयहीनता हो ।

यस्तो हृदयहीनता, जसमा मानिस खुसीखुसी आफैँ ठगिइन्छ, उल्टै आफूलाई ठग्नेकै गुणगान गर्छ, उसैको शरणमा पर्छ । के कुनै सचेत मानिसले यस्तो गर्न सक्छ ? भौतिक मञ्चमा बसेर, भौतिक माइकमा बोलेर अलौकिक अर्थात् नदेखिने ‘ईश्वर’लाई सत्य र देखिने भौतिक वस्तुलाई असत्य अर्थात् ‘ब्रह्मसत्य जगन्मिथ्या’को चतुर व्याख्या गर्ने प्रवचक र धर्माचार्यहरूलाई पत्याउनु ‘मात’ वा अचेतको स्थिति त हो ! माक्र्सले यसैकारण धर्मलाई ‘हृदयहीनको हृदय’ भनेका हुन् । 

धर्मको चरित्र र सत्तासँग यसको सम्बन्धको द्वन्द्वात्मकताबारे माक्र्स आधुनिक व्याख्याकार हुन्, होइन भने उनीभन्दा धेरै पहिलेका दार्शनिक र राजनीतिशास्त्रीले पनि यसबारे बुझेका थिए । यिनैमध्येका एक ईसापूर्व चौथो शताब्दीका कौटिल्य हुन् । कौटिल्यको प्रसिद्ध कृति ‘अर्थशास्त्र’मा भनिएअनुसार राजाहरू आफू यस अलौकिक धार्मिक बोधबाट मुक्त हुनुपर्छ, तर जनतामा अलौकिकताप्रति विश्वास कायम राख्न देवस्थल निर्माण, पूजापाठ, धर्माधिकारीको सम्मान तथा धार्मिक प्रवचनमा सहभागिता तथा सहयोग गरिराख्नुपर्छ ।

भाजपा र मोदी वैचारिक रूपमै धार्मिक राजनीतिका पक्षधर भएकाले उनीहरूले राजनीतिमा धर्मको प्रयोग गर्नु नौलो होइन, तर माओवादी अध्यक्ष तथा नेपालका प्रधानमन्त्री प्रचण्ड लोकप्रिय बन्न धार्मिक कार्यमा सक्रिय देखिनु धेरैका निम्ति नौलो हुन सक्छ
 

मार्क्स मानिसलाई धार्मिक मातबाट मुक्त गरेर पूर्ण र विवेकशील प्राज्ञिक मानव समाज निर्माणको उद्देश्यबाट प्रेरित छन्, भने कौटिल्य यस मातलाई प्रयोग गरेर निरंकुश राजतन्त्र यथावत् राख्न चाहन्छन् । यद्यपि, कौटिल्य आफूभन्दा पहिलेका वैदिक र पौराणिक वशिष्ठ, याज्ञवल्क्य, शुक्राचार्य र गौतमको तुलनामा यस अर्थमा भिन्न छन्, कि यी धर्माचार्यहरू राजासमेतलाई धार्मिक मातमा डुबाउन चाहन्छन्, र उनी (कौटिल्य) राजा (राजपुरुष)लाई यस भ्रमबाट मुक्त राख्न चाहन्छन् । होइन भने धर्मप्रिय राजा र दैव दुवैको हितअनुकूल धर्माचरण गर्नु परलोकमा सुखप्राप्तिका निम्ति सामान्य मानिसको दायित्व हो भन्ने भाष्य स्थापनामा दुवै समान छन् ।

धन, धर्म र राज्यसत्ताको सहकार्यमा आफ्नो जन्मकालदेखि नै उपस्थिति रहँदै आएको छ । यस दृष्टिले पनि माक्र्स र कौटिल्य समान बुझाइका देखिन्छन् । दुवैले आर्थिक सम्बन्धलाई सामाजिक विकासको केन्द्रमा हेर्छन् । कौटिल्यले मोक्षका तीन साधन भनेका छन्— धन, धर्म र काम (काम सामान्य अर्थमा मानवीय इच्छा, तर विशिष्ट अर्थमा सत्ताको प्रतीक हो) । तर, यी तीनमध्ये धनलाई उनले प्रमुख मानेका छन् । आफ्नो कृति अर्थशास्त्रमा उनले भनेका छन्— धन छ भने धर्म र काम दुवै प्राप्त हुन्छ । 

मार्क्सले पनि यही भनेका छन्- ‘मानिसको सम्पूर्ण इतिहास वर्गसंघर्षको इतिहास हो ।’ वर्गसंघर्ष अर्थात् उत्पादन र उत्पादनका साधनमाथि स्वामित्वका निम्ति वर्गहरूबीच संघर्षको इतिहास । यी दुई महान् विचारकको चिन्तन प्रवृत्तिको भिन्नता के छ भने एउटाको सत्य निरंकुश शासनको हितमा जनसमुदायबीच अलौकिकताको भ्रम कायम राख्न चाहन्छ भने अर्काको सत्यले शोषित उत्पीडित मानव समुदायलाई अलौकिकताको भ्रमबाट मुक्त गराउन चाहन्छ । तर, दुवैको सत्यको यथार्थ र द्वन्द्व समान हो— उत्पादन अर्थात् धन र यसमाथि स्वामित्वका निम्ति संघर्ष ।

मानिसको धर्मासक्तिको कमजोरीलाई राज्यसत्ताले राम्ररी बुझेर आफ्नो स्थायित्व र वर्चस्वका निम्ति हमेसा चतु¥याइँपूर्वक प्रयोग गर्दै आएको छ । वर्तमान पनि भिन्न छैन । बरु भनौँ अहिलेको राज्यसत्ता विगतको अनुभवबाट तिखारिएर झन् षड्यन्त्रकारी र अमानवीय भएको छ । हामी पूँजीवादी लोकतन्त्र (यथार्थमा अधिनायकत्व) नामक यस्तो विश्वमा छौँ, जसमा जसले जति धर्म र धन जम्मा गर्न सक्यो, त्यसले त्यति नै सत्ता आफ्नो पोल्टामा पार्न सक्छ । र, जसले जति सत्तामा कब्जा गर्छ, उसले उति नै बढी धन कब्जा गर्न सक्छ । राज्यसत्ता (काम), धन र धर्मको त्रिकोणात्मक गठजोड नै वर्तमानको शासकीय सत्य हो । (यसरी नै शोषित र उत्पीडितको सत्य यसको विपरीत हो ।) 

नयाँ संसद्मा आठौँ शताब्दीको चोल राजवंशकालीन राजदण्ड (सेंगोल) स्थापित गरेर, तथा नेपाल, बंगलादेश, पाकिस्तानको भाग समेटिने गरी ईसापूर्व तेस्रो शताब्दीको दक्षिण भारतीय नक्सा राखेर धार्मिक मात चढाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी होउन्; वा उज्जैनको महाकालेश्वर मन्दिरमा रुद्राभिषेक गरिरहेको नेपालका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वा अखण्ड भारतको प्रतिस्पर्धामा ‘ग्रेटर नेपाल’को नक्सा उचाल्ने नेपालका संकीर्ण हिन्दुत्ववादीहरू, सबै जनताको धर्मासक्त कमजोरीको फाइदा उठाएर बढीभन्दा बढी सत्ता आफ्नो पोल्टामा पार्न चाहन्छन् । 

मोदी विचारधारात्मक रूपमै पौराणिक हिन्दुत्व चेतनामा आधारित साम्राज्यका पक्षधर हुन् । भारतमा सत्ताधारी भारतीय जनता पार्टीको वैचारिक माउ सगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को, पूर्वमा म्यान्मार (बर्मा) देखि पश्चिममा अफगानिस्तान, उत्तरमा तिब्बत र दक्षिणमा श्रीलंकासम्मको हिन्दू धार्मिकतामा आधारित अखण्ड भारतको लक्ष्य र संकल्प खुला विषय हो । मोदी आरएसएसको संकल्पका अश्वमेधी रथका मुख्य सारथि छन् । नयाँ संसद् भवनमा राखिएको (उनीहरूले भनेझैँ) हिन्दू राजतन्त्रात्मक सांस्कृतिक अतीत झल्काउने नक्साले आरएसएसको सांस्कृतिक विस्तारवादी लक्ष्यलाई एक पाइला अघि सारेको छ । 

यस नक्साप्रति नेपाल, बंगलादेश र पाकिस्तानमा विरोध देखिए पनि यसबारे भारतको स्पष्टीकरणमा अतीतको साम्राज्यको गौरव तथा वर्तमानमा क्षेत्रीय शक्ति भएको दम्भ झल्किएको छ । उसले यस नक्सालाई अशोककालीन अतीतको गौरव प्रतीक भन्छ, तर उसको भनाइ अन्तर्विरोधी छ । सम्राट् अशोकको शासनकालमा बुद्धधर्म राज्यधर्म थियो भने मोदीका प्रवक्ताले यसलाई संकीर्ण हिन्दुत्वको गौरवशाली अतीतका रूपमा प्रस्तुत गर्न चाहन्छ । यो योजनाबद्ध रूपमा इतिहासको विकृतिकरण गरेर धार्मिक उत्तेजनाको सवारी गरेर बढीभन्दा बढी सत्ता कब्जा गर्ने दाउ हो भन्नेमा दुई मत छैन ।

भाजपा र भारतीय प्रम मोदीले राजनीतिमा धर्मको प्रयोग गर्नु नौलो विषय होइन, किनभने उनी वैचारिक रूपमै धार्मिक राजनीतिका पक्षधर हुन् । माओवादी केन्द्रका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री प्रचण्डले लोकप्रिय बन्न धार्मिक कार्यमा सक्रिय देखिनु धेरैका निम्ति नौलो हुन सक्छ । यसपटक भारत भ्रमणका गएका वेला महाकालेश्वरको मन्दिरमा पूजापाठ गरिरहेका तस्बिर र भिडियोले उनको बढ्ता आलोचना हुनुको मुख्य कारण उनको कम्युनिस्ट तथा अनिश्वरवादी वैचारिक विगत हो । यो लेख तयार गर्दै गर्दा मन्त्रिपरिषद्का सदस्य र कार्यकर्ताको लावालस्करसहित उनको पशुपतिनाथ मन्दिरको भ्रमणको खबर पनि आइरहेको छ । 

तर, यो नौलो कुरा होइन । शान्ति प्रक्रियापछि सत्ताको निकटतासँगै उनमा यो परिवर्तन देखिन थालेको हो । उनी यसभन्दा पहिले पनि हिन्दु, बौद्ध वा मुस्लिम धार्मिक उत्सवमा सामेल हुँदै आएका छन् । चार वर्ष पहिले धनुषामा महावीर झन्डाको मेलामा महावीर झन्डाको खट काँधमा बोकेको तस्बिर र चतराधाममा भैँसी आदि जनावरको पूजा गरिरहेको तस्बिर पनि चर्चामा आएकै हो । यसपटक भने भारतको राजकीय भ्रमणका वेला महाकालेश्वरमा गरेको पूजा कूटनीतिक महŒवका दृष्टिले बढी चर्चामा आउनु स्वाभाविकै हो । 

यसको सफाइमा प्रचण्डले दिएका दुईवटा रोचक तर्क छन् । पहिलो, उनले आफू धर्मनिरपेक्ष भएकाले धार्मिक कार्य गरेर सबै धर्मलाई समानस्तरमा सम्मान गरेको भनेका छन् । दोस्रो, एमालेसँग मिलेर गठबन्धनको प्रधानमन्त्री हुँदा उनी पहिलोपटक दौरासुरुवालमा संसद्मा देखिएको वेला केही सांसदले छेड हान्दै कुरा उठाएपछि जवाफ दिने क्रममा ‘यसो गरिएन भने सत्तामा पुग्न र टिक्नै दिँदैनन्’ भनेर उनले हाँसोको शैलीमा संसद्को रोस्ट्रमबाटै बोलेका हुन् । सत्ताप्रत्ति यस अवसरवादिताको कुनै जवाफ हुन सक्दैन ।

 धर्मनिरपेक्षताको अवधारणा राज्यसत्तालाई धार्मिक वर्चस्वबाट मुक्त गर्नका निम्ति विकसित भएको हो । राज्यसत्ताले सबै प्रकारका धार्मिकताबाट पूर्णतः निरपेक्ष रहेर मानिसको धर्मसम्बन्धी वैयक्तिक आस्थाको सम्मान गर्नुपर्छ भन्ने विचार नै वास्तविक धर्मनिरपेक्षताको विचार हो । प्रचण्डको व्याख्या राज्यको धर्मसापेक्ष व्याख्या हो । 

शासक व्यक्तिगतस्तरमा धार्मिक चरित्रको छ भने ऊ राज्यको प्रतिनिधिका रूपमा तटस्थ रहन सक्दैन, त्यसैले राज्यसत्ता र शासकहरू पूर्ण रूपमा धर्मनिरपेक्ष रहनुपर्छ भन्ने हो । पुँजीवादी राजनीतिक विचार सुरुमा धर्मनिरपेक्ष नै थियो, तर साम्राज्यवादी विस्तारसँगै सत्तामा कायम रहन यसका धारणा परिवर्तित भए । यस्तै, परिवेशमा दक्षिण एसियामा पारम्परिक राज्यसत्तासँगको गठबन्धनमा धर्मनिरपेक्षताको धर्मसापेक्ष व्याख्या जन्मिएका हुन् । 

प्रस्ट छ, प्रचण्डले वर्तमान सत्तामा टिकिरहन त्यही गरिरहेका छन्, जो मोदी वा अन्यले गरिरहेका छन् । कौटिल्य र मार्क्सले भनेजस्तै धर्म धन र सत्ता (काम) को त्रिकोणात्मक सत्य, बुझ्नलाई त सबैले बुझेका छन्, तर मार्क्सनिकट रहनु जोखिमयुक्त छ, र कौटिल्यनिकट हुनु सहज ।

सुझावित समाचार