सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरूले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गर्दै सो विषय कसरी समावेश गर्नुहुन्छ भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतसँग प्रश्नसमेत गरे।
उनले भने, ‘केही दिनअगाडि नीति तथा कार्यक्रमबारे संसदमा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नुभएको थियो। म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु– हामीले छलफलमा उठाएका यी विषयलाई तपाईंले बजेटमा कसरी समावेश गर्नुहुन्छ ? यो संसद्लाई स्पष्ट गराइदिनुहुन म अनुरोध गर्न चाहन्छु। वास्तवमा आज अर्थतन्त्रमा जुन खालको समस्या देखिएको छ। त्यो आज उत्पन्न भएको समस्या होइन। यो लामो बेथितिले उत्पन्न गरेको परिणाम हो। भर्खर मात्रै पूर्वअर्थमन्त्रीजीले भन्नुभयो कि विगतको निरन्तरताले अर्थतन्त्रको संरचनागत सुधार सम्भव छैन।’
सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरू मुख्य कारण रहेको औँल्याए।