कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। एक समारोहबीच बैंकले उक्त प्रतिष्ठानलाई २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको हो।
प्रतिष्ठानले बुढानीलकण्ठ नगरपालिका– ७ मा निर्माण गरिरहेको बाल अस्पतालका लागि कुमारी बैंकले उक्त सहयोग प्रदान गर्न लागेको हो। कुमारी बैंकले सामाजिक उत्तरदायित्वलाई आफ्नो मान्यताको रूपमा अँगाल्दै आएको र समग्र समाजको हित हुने यस्ता परियोजनाहरूलाई प्रोत्साहन गर्दै आएको बताएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल तथा काठमाडाैं बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच दुई संस्थाका अन्य पदाधिकारीहरूको उपस्थितिमा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।