डेढ सातादेखिको लु पश्चिम तराईसम्म फैलियो, अझै पाँच दिन तापक्रम अधिक रहने आकलन

बिहिबार, २५ जेठ, २०८०
डिजिटल संस्करण
डेढ सातादेखिको लु पश्चिम तराईसम्म फैलियो, अझै पाँच दिन तापक्रम अधिक रहने आकलन

गर्मी बढेसँगै चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : रासस

मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनेपछि बढेको तापक्रमका कारण तराईमा डेढ सातादेखि लु (तातो हावा) चलिरहेको छ । पश्चिम तराईसम्म नै फैलिएको लु अझै पाँच दिनसम्म लम्बिने आकलन गरिएको छ । 

सुरुमा मध्यतराई अर्थात् पर्सादेखि भैरहवा क्षेत्रसम्म लु चलेकामा हाल विस्तार भएर पश्चिम नेपालगन्ज र पूर्वमा मोरङसम्म फैलिएको छ । अहिले तराईमा औसत अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ । तर, बुधबार नवलपुरको दुम्कौली क्षेत्रमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको छ ।

मौसमविद्स जिना शाक्य भन्छिन्– 
तत्काल मनसुन भित्रिने सम्भावना छैन । प्रिमनसुनको अवधि भए पनि अन्त्यतिर रहेकाले र वर्षा नभएकाले गर्मी बढेको हो । पश्चिम नेपालमा केन्द्रित रहेको पश्चिमी वायु पनि निकै कमजोर अवस्थामा छ । तराईका धेरै क्षेत्रमा लु चलेको छ । अझै पाँच दिन तामक्रम अधिक नै रहने अनुमान गरिएको छ । 

यसअघि १८ जेठमा रौतहटको गौरमा सबैभन्दा धेरै ४३.८ डिग्री तापक्रम मापन भएको थियो । मध्य र पूर्वी तराईमा वैशाख पहिलो साता पनि लु चलेको थियो । त्यतिखेर सबैभन्दा धेरै तापक्रम भैरहवामा ४२.२ डिग्री नाघेको थियो । 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार यसअघि पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा तापक्रम धेरै बढ्न पाएको थिएन । तर, हाल पश्चिमी वायु निकै कमजोर बनेकाले तापक्रम पनि बढेको हो । 

तराईका धेरै क्षेत्रमा आगामी पाँच दिनसम्म पनि लु चल्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । तराई क्षेत्रमा तत्काल वर्षाको सम्भावना नरहेको, हावाहुरी पनि खासै नचलेको र बदली पनि नभएकाले अझै पाँच दिन तापक्रम उच्च नै रहने आकलन मौसमविद्ले गरेका छन् । पहाडी क्षेत्रमा साँझ–बिहान हल्का बदली र फाट्टफुट्ट वर्षा भए पनि काठमाडौंसहितका पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम उच्च छ । नेपालमा औसत १३ जुनमा मनसुन भित्रिने भए पनि तत्काल सम्भावना छैन, जसकारण गर्मी लम्बिने देखिन्छ ।

मुख्य २० स्टेसनमध्ये पाँच क्षेत्रमा अधिकतम तापक्रम ४१ डिग्री नाघ्यो
बुधबार मुख्य २० स्टेसनमध्ये पाँच क्षेत्रमा अधिकतम तापक्रम ४१ डिग्री नाघेको छ । सबैभन्दा बढी तापक्रम जनकपुरमा ४२.२ डिग्री मापन भएको छ । त्यस्तै, विराटनगरमा ४१, नेपालगन्जमा ४१.६, सिमरामा ४१.७ र भैरहवामा ४१.८ डिग्री मापन भएको छ । धनगढीमा पनि लगातार तापक्रम उकालो लागेर ३९.९ पुगेको छ । धरानमा समेत ३९.३ डिग्री तापक्रम मापन भएको छ । 

See More On

सुझावित समाचार