ओली भन्छन्– खाद्यान्न छाडेर कसलाई चाहियो गाँजाखेती ?

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा जनहितभन्दा ‘फेन्सी’ कुराहरू बढी समेटिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले खाद्यान्नमा आत्मनिर्भर बनाउन छाडेर गाँजाखेतीलाई बढावा दिएको भन्दै आपत्ति जनाए। सीमित व्यक्तिहरूका लागि गाँजाखेतीको विषय बजेटमा समेटिएको उल्लेख गर्दै उनले गाँजाखेतीको विषयले आफू अचम्मित परेको बताए।

‘अचम्म लाग्छ । धान फलाउने, आलु फलाउने, कृषि उत्पादन बढाउने– त्यता ध्यान छैन। गहुँ फलाउने, खाद्यान्नमा आत्मनिर्भर बनाउने कुरा छैन। कसले गर्न खोजिराख्या छ यो गाँजाखेती ? कसका लागि गाँजाखेती ? अचम्म लाग्छ गाँजाखेती कसलाई चाहियो, कसले गर्न खोज्या छ ? अहिले मान्छेलाई दृष्टिगोचर भएको छैन, तर कोही छ गाँजाखेती पछाडि,’ उनले भने।

लाइसेन्स दिएर नियन्त्रित रूपमा गाँजाखेती सुरु भएपछि आममानिसले विनालाइसेन्स रोपेको गाँजाको बिरुवा उखेलिने उल्लेख गर्दै अध्यक्ष ओलीले सीमित व्यक्तिको फाइदाका लागि यो विषय समेटिएको आशय व्यक्त गरे।

सुझावित समाचार