पाकिस्तानद्वारा २०० भारतीय माझी रिहा

शुक्रबार, १९ जेठ, २०८०
डिजिटल संस्करण
पाकिस्तानद्वारा २०० भारतीय माझी रिहा

तस्बिर : इन्डियन एक्सप्रेस

पाकिस्तानले शुक्रबार थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ। आजै तीनजना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन्।

गत महिना पाकिस्तानले एक सय ९८ भारतीय मछुवारालाई रिहा गरेको  थियो। पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारावासमुक्त गरिएको बताउँदै मानवीय विषयलाई पाकिस्तानले  राजनीतिक आवरण नदिने नीति अंगीकार गरेको दाबी गरे।

पाकिस्तान इन्डिया पिपुल्स फोरम फर पिस एन्ड डेमोक्रेसीका पूर्वमहासचिव जतिन देसाईका अनुसार कराँचीको मालिर जेलबाट कैदीहरूलाई रिहा गरिएको हो। गत मे १५  मा लान्डी जेलबाट रिहा भएका एक सय ९८ भारतीय मछुवारा वाघा सीमा पार गरेर गुजरात पुगेका थिए।

पाकिस्तानी सुरक्षा निकायहरूले समुद्रमा पक्राउ गरेका ६ सय ५४ माझीमध्ये ६ सय ३१ जनाले यस वर्षको अप्रिलसम्म जेल सजाय पूरा गरिसकेका र उनीहरूको राष्ट्रियता पनि प्रमाणित भइसकेको छ। यसअघि पाकिस्तानले आफ्नो जेलमा रहेका ६ सय ५४ मध्ये चार सय ९९ लाई रिहा गर्ने निर्णय गरेको थियो।

अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा (आइएमबिएल)लाई लिएर भारत र पाकिस्तानबीच मतभेद छ। पाकिस्तानको सामुद्रिक सुरक्षा निकायले आफ्नो क्षेत्रीय जलक्षेत्रको उल्लंघन गरेको आरोपमा हरेक वर्ष केही सय भारतीय मछुवाराहरूलाई पक्राउ गर्छ। त्यसको बदलामा  भारतीय निकायहरूले पनि प्रत्येक वर्ष पाकिस्तानी माझीलाई आइएमबिएल पार गरेको आरोपमा गिरफ्तार गर्दै आएको छ।

सुझावित समाचार