जेष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि सरकारले एक खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को प्रस्तावित बजेटमा यस्तो विनियोजन गरेका हुन् । यो रकम गत वर्षको भन्दा २३ अर्ब बढी हो ।
‘चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिएको छु,’ उनले भने, ‘६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरेको छु ।’
सरकारले छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमालगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि एक खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष ०८०÷८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।