कर्णालीका २१ प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती

बिहिबार, ११ जेठ, २०८०
डिजिटल संस्करण

जुम्लाको कनकासुन्दरी गाउँपालिका– ६ की धर्मा सार्कीले १३ वर्षको उमेरै विवाह गरिन्। उमेर नपुग्दै विवाह गर्दा अहिले दुःख पाएको उनी बताउँछिन्। ‘उमेर नपुग्दै विवाह गरियो। प्रजनन्क्षमता वृद्धि नहुँदै बच्चा जन्माउँदा तीनवटा बच्चा महिना नपुग्दै खसे। काठमाडौं गएर उपचार गर्नुपर्याे। वालविवाह गर्दा निकै दुःखकष्ट भोग्नुपरेकाले अहिले पश्चाताप हुन्छ,’ उनले भनिन्। बालविवाहको घाउले घोचिरहेकाले आफ्ना सन्तानको उमेर पुगेपछि मात्रै विवाह गर्ने योजना उनले सुनाइन्।

सोही वडाका नरवीर कामीले ०५५ सालमा १६ वर्षको उमेरमै १३ वर्षीया किशोरीसँग विवाह गरेका थिए। ‘विवाहपछि १४ वर्षको उमेरमा श्रीमती गर्भवती भइन्। प्रजनन क्षमता परिपक्व नभएर गर्भवती हुँदा बच्चा र श्रीमती दुवै गुमाउनुपर्याे,’ उनले भने। बालविवाह गर्दा शिक्षाबाट वञ्चित हुनुपरेकाले अहिले धेरै दुःख भोग्नुपरेको उनको गुनासो छ। बालविवाहका कारण श्रीमती गुमाएपछि उनले दोस्रो विवाह गरे। पहिलो बालविवाहबाट भोगेको समस्याका कारण दोस्रो विवाह २० वर्ष उमेर पुगेकी युवतीसँग गरेको उनले सुनाए। उनले भने, ‘अहिले घरमा छोराछोरी छन्। उनीहरूको उमेर नपुगी विवाह नगर्ने अठोट लिएको छु। छोराछोरीलाई पनि उमेर नपुगी विवाह गर्नुहुँदैन भनेर सम्झाउँदै आएको छु।’

तातोपानी गाउँपालिका– २ की २४ वर्षीया कालिका डाँगीले विवाह गरेको १० वर्ष भयो। साथीको लहलहैमा उनले १४ वर्षको कलिलै उमेरमा भागेर विवाह गरिन्। पढ्ने/लेख्ने उमेरमा तीन बच्चाको पालनपोषण, शिक्षादीक्षा, औषधिमूलो र अभिभावकीय जिम्मेवारी उनको काँधमा छ। घरखर्च चलाउन समस्या भएपछि मेलापात र ज्याला, मजदुरी गर्न विवश भएको उनले दुःखेसो सुनाइन्। अहिले उनी र श्रीमान् अलगै बसिरहेका छन्। ‘सानैमा विवाह गरेर पारिवारिक बन्धनमा परियो, अहिले पीडाले थलिएकी छु। त्यसैमा तीन–तीनवटी छोरी हुर्काउनुपर्ने बाध्यता छ,’ उनले भनिन्।

विवाहपछि कालिकाका पति कृष्ण डाँगीको पढाइमा पनि पूर्णविराम लाग्यो। कृष्ण पाटनमा भेडा चराउने गर्छन्। कालिकालाई तीन छोरी लिएर घर धान्न मुस्किल छ। सानै उमेरमा निर्वाह गर्नुपर्ने जिम्मेवारी र आर्थिक समस्याका कारण पैसाको जोहो गर्नुपर्ने भएकाले उनको पढाइलगायत व्यक्तित्व विकासका कुरा रोकिए।  अहिले कालिकासँग आठ, पाँच र दुई वर्षका छोरी छन्। २४ वर्षमै तीन सन्तानको आमा बनेकी कालिकाको विवाहपछि पढाइ त रोकियो नै, स्वास्थ्यमा समेत असर पुगेको छ।

तातोपानी गाउँपालिका– ५ श्रीनगरकी ७० वर्षीया पुञ्चकला खत्री पनि बालविवाहको चपेडामा परिन्। ‘२००८ सालतिर सात वर्षकै उमेरमा विवाह भएको हो। उसवेलामा विवाह हो कि बालविवाह हो थाहा भएन,’ उनले भनिन्, ‘अहिलेजस्तो पढ्ने, लेख्ने जमाना थिएन। बा–आमाले पढाएनन्। कखरा पनि पढेकी छैन। १२ वर्षको उमेरदेखि खेती–किसानीका काम गरेँ। विवाह गरी आएदेखि मेरो दैनिकी खेतीपातीमै बित्यो।’ ३२ वर्षको उमेरमा श्रीमानको निधन भएपछि उनले एकल महिलाको जीवन बिताइरहेकी छिन्।

सानै उमेरमा विवाह गरेकै कारण तातोपानी– ४ की पार्वती कामीले आठ कक्षामै पढाइ छाड्नुपर्याे। १४ वर्षकै उमेरमा विवाह गरेकी उनले न पढाइलाई निरन्तरता दिन सकिन् न स्वास्थ्य अवस्था ठीक रह्यो।

जिल्लाबाटै एसएलसी पास गर्ने पहिलो दलित महिला चल्ली कामीको समेत विवाहपछि उच्च शिक्षा पढ्ने सपना अधुरै रह्यो। माध्यमिक तह पढ्दै गर्दा विवाह गरेकै कारण बर्सेनि कर्णालीका हजारौँ किशारीको उच्च शिक्षा अध्ययन गर्ने सपना अधुरै रहने गरेको छ। गरिबी र सामाजिक संस्कारका कारण सानैमा विवाह गर्ने र पछि पछुताउने किशोरीको पीडा न  आफन्तले सुन्छन्, न श्रीमानले नै। सुर्खेत वीरेन्द्रनगर– १० की मनीष कठायत भनिन्, ‘मेरो उमेरका मलगायत अधिकांश किशोरीले पढ्दै गर्दा विवाह गरे। पछि घरधन्दा चलाउँदै बालबच्चा स्याहार्नुपरेपछि पढाइ नै रोकियो।’ उनीजस्तै हतारमा विवाह गर्ने अधिकांश किशोरीको पीडा उस्तै छ।

यी जुम्लासहित कर्णालीका प्रतिनिधिमूलक घटना हुन्। अशिक्षा र गरिबीजस्ता विविध कारणले बालविवाह गर्ने र सानै उमेरमा बच्चा जन्माएर प्रजनन स्वास्थ्यमा समस्या देखिनु यहाँ स्वाभाविकजस्तो देखिन थालेको छ। उमेर परिपक्व नहुँदै बच्चा जन्माउँदा महिलाको पाठेघरमा समस्या देखिन थालेको सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए।

कर्णाली प्रदेशमा गर्भवती  किशोरीको संख्या बढ्दै गएको पाइएको छ। नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकअनुसार कर्णालीमा किशोरी गर्भवतीको संख्या १६ प्रतिशतबाट बढेर २१ प्रतिशत पुगेको छ। कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरी गर्भवती हुने गरेको तथ्यांकमा उल्लेख छ। यो संख्या सन् २०१६ मा १६ प्रतिशत थियो।

प्रजनन स्वास्थ्यको दृष्टिले सानै उमेरमा गर्भवती हुनु जोखिम मानिन्छ। तर, कर्णालीमा  भने सानै उमेरमा गर्भवती हुनेको संख्या बढ्दै गएको छ। राष्ट्रिय रूपमा कम उमेरमै गर्भवती हुनेको संख्या १४ प्रतिशत रहेको उक्त सर्वेक्षणले देखाएको छ। सन् २०१६ मा देशभर १७ प्रतिशत किशोरी कम उमेर (१५–१९ वर्ष)मै गर्भवती हुने गरेको सर्वेक्षणको दाबी थियो। यसरी हेर्दा राष्ट्रियस्तरमा कम उमेरमा गर्भवती हुनेको प्रतिशतमा केही सकारात्मक सुधार देखिए पनि कर्णालीको तथ्यांक चिन्ताजनक छ।

नेपालमा उच्च मातृ शिशु मृत्युको कारणसमेत सानै उमेरमा विवाह गरी बच्चा जन्माउनुलाई लिइएको छ। यसको असर कर्णालीजस्तो स्वास्थ्य सेवा र चेतनास्तर कम भएको ठाउँमा झनै धेरै छ। मुलुकी देवानीसंहिताको दफा ७० को (घ)मा विवाहका लागि केटा र केटीको उमेर २० वर्ष पूरा गरेको हुनुपर्ने कानुनी व्यवस्था छ। तर, कानुनविपरीत बालविवाह गर्नु, परिवार नियोजनका अस्थायी साधनको सही प्रयोग नगर्नु, यौन शिक्षाबारे पर्याप्त ज्ञान नहुनुले पनि किशोरी आमाको संख्या बढ्दै गएको छ।

अधिकारकर्मी लक्ष्मीकन्या बुढाले विवाहपछि पनि किशोरीलाई सहजै पढ्न पाउने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन्। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बालविवाह न्यूनीकरण गर्न र हतारमा विवाह गरेर पढाइ रोकेका गरिब तथा विपन्न किशोरीलाई उच्च शिक्षाको पहुँचमा पुर्याउन कार्यक्रम लागू गरेको छ। यद्यपि, अवस्था सुधारोन्मुख छैन।

अशिक्षा, गरिबीका कारण सानै उमेरमा विवाह गरी सन्तान जन्माउँदा महिलामा विभिन्न रोग सिर्जना हुने गरेको चिकित्सक बताउँछन्। कम उमेरमै गर्भवती हुने र योजना नबनाई बच्चा जन्माउँदा किशोर–किशोरीको भविष्य अन्धकारतिर धकेलिने गरेको छ। जनस्वास्थ्य कार्यालय जुम्लाका आमा सुरक्षा कार्यक्रम प्रमुख मोर्चा शाहीका अनुसार कम उमेरमा विवाह गरी बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्छ। कम उमेरमा विवाह गरी बच्चा जन्माउँदा रक्तस्राव हुने, तौल नपुगेको वा समयअघि नै बच्चा जन्मिने र गर्भपतन हुने सम्भावना उच्च रहने उनले बताइन्। ‘सानै उमेरमा बच्चा जन्माउँदा पाठेघर परिपक्व हुँदैन,’ उनले भनिन्, ‘यस्तो अवस्थामा गर्भवती तथा सुत्केरी हुँदा आमा र बच्चा दुवैकोे स्वास्थ्य जोखिम हुन सक्छ।’

सुझावित समाचार