ब्रोकर लाइसेन्स फास्ट ट्र्याकमा वितरण

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्काललाई रोकिएर ब्रोकर कम्पनीको लाइसेन्स रोकिने संकेत पाएपछि धितोपत्र बोर्डले लाइसेन्स वितरण प्रक्रिया फास्ट ट्र्याकमा अघि बढाएको छ । आशयपत्र दिएको १५ दिन नबित्दै बोर्डले पहिलो चरणमा सातवटा कम्पनीलाई लाइसेन्स दिएको हो । 

आशयपत्र पाएका ४३ कम्पनीमध्ये ४ जेठमा बसेको बोर्ड बैठकबाट सातवटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हो । लाइसेन्स पाउनेमा पहिलो चरणमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकर लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, सेयर प्रो सेक्युरिटिज र प्रोमर्टी बिजार्ड लिमिटेड रहेका छन् । धितोपत्र बोर्डमा आवेदन परेका ४६ कम्पनीमध्ये ४३ वटालाई आशयपत्र दिइएको थियो ।

नियमावलीअनुसार अनुमतिपत्र दिएको कम्पनीले ६ महिनाभित्र पूर्वाधार तयार पारिसक्नुपर्छ । बोर्डले पनि पूर्वाधार निर्माणको सूचना पाएपछि निरीक्षण गरी प्रक्रिया नपुगेको ठहर भएमा थप तीन महिनाको समय दिने नियम छ । तर, बोर्डले आशयपत्र दिएको १५ दिन पनि नपुग्दै हतार–हतार ब्रोकर लाइसेन्स दिएको विषयलाई निकै चासोसाथ हेरिएको ब्रोकर एसोसिएसनका एक पदाधिकारीले बताए । उनले भने, ‘हामीले लाइसेन्स वितरणमा गम्भीर चलखेल भएको हुन सक्ने र छानबिन गर्न माग गरेका थियौँ । सोही कारण पनि सीधै फास्ट ट्र्याकमा अघि बढाइएको छ ।’

नेपाल ब्रोकर एसोसिएसनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोकिएसँगै ब्रोकर लाइसेन्समा पनि चलखेल भएको हुन सक्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । त्यसलाई लिएर धितोपत्र बोर्डले पनि लाइसेन्स प्रक्रिया नियमपूर्वक ढंगले भएको र यसमा कुनै चलखेल नभएको भन्दै आरोपको खण्डन गरेको थियो । 

आशयपत्र पाएका नयाँ ब्रोकर कम्पनीले पनि नयाँ संगठन खोलेर ब्रोकर एसोसिएसनलाई चलखेल भएको विषयलाई प्रमाणित गर्न चुनौती दिएका थिए । लाइसेन्स रोक्न ब्रोकर कम्पनीहरूले राजनीतिक दलहरूसँग लबिङ गरिरहेका थिए । 
यति छिट्टै ब्रोकर लाइसेन्सको पक्रिया अघि बढेकोमा बोर्डकै कर्मचारीहरू पनि शंका व्यक्त गर्छन् । एक अधिकारी भन्छन्, ‘शाखा विस्तार गर्नकै लागि महिनौँ कुर्नुपर्ने अवस्था हुन्थ्यो, तर अहिले त लाइसेन्स नै यति छिटो भइरहेकोमा आश्चर्यमा 
परेका छौँ ।’
 

सुझावित समाचार